नेपाल बैंकको पुन: सेयर सूचिकरण

काठमाडौं, १८ मंसीर । नेपालको सबैभन्दा पुरानो नेपाल बैंक नेपाल स्टक एक्सचेञ्जमा पुन: सूचिकृत गरिएको छ । करिब आठ वर्ष अघि धान्नै नसक्ने गरी खराब कर्जा बढेर बैंक नै टाट पल्टने अवस्था आएपछि बैंकको सुधार गर्ने नाममा ०६० चैत्र १९ गते बैंकको अनुरोधमा सूचिकरण खारेज गरिएको थियो । विश्व बैंकको सहयोगमा आर्थिक सुधार परियोजना अन्तर्गत केही समय सरकारी स्वामित्वका बैंकहरू नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन नै विदेशीलाई सुम्पिएको थियो । करिब दुई वर्ष अगाडि सो परियोजनाको समयावधि सकिए पनि नेपाल बैंकको आर्थिक अवस्था अपेक्षाकृत रूपमा सुधार नभएपछि हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने योजना बमोजिम बैंकलाई पुन: सूचिकरण गरिएको हो ।
बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर स्टकमा पुन: सूचिकृत गरिएको एक्सचेन्जले जनाएको छ । नेपाल बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आइतबार सूचिकरण सम्झौता भएको थियो । बैंकको सेयर कारोबार अर्को आइतबारबाट हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक भन्दा पनि अगाडि स्थापना भएको नेपालको पहिलो नेपाल बैंकको पहिलो पटक असोज २५ गते ओटिसी कारोबार भएको थियो । सूचिकरण खारेज भएका कम्पनीहरूको कारोबार हुने ओटिसीमा हुने गर्दछ । नेपालमा पहिलोपटक भएको ओटिसी कारोबारबाट सरकारले बैंकमा गरेको लगानीमध्ये ७१ हजार ९२८ कित्ता सेयर बैंकका २ हजार ६ सय ६४ कर्मचारीलाई प्रतिकित्ता एक सय  रुपियाँमा बिक्री गरेको थियो । एक दिन मात्र भएको कारोबारमा सबै कर्मचारीले ७१ लाख ९२ हजार ८ सय रुपियाँको सेयर खरिद गरेका थिए । ओटिसी बजार सञ्चालन विनियमावली बमोजिम सेयर सूचिकृत खारेज गरिएका कम्पनीको सेयर स्टकमा पुन: सूचिकृत हुनु अघि धितोपत्रको तरलता कायम गर्न ओटिसी कारोबार गर्नुपर्दछ । नेपालको स्टक बजारमा नेपाल बैंकको ओटिसी कारोबार नै अहिलेसम्मको पहिलो हो । नेपाल बैंकको ओटिसीमा कारोबार भएपछि अहिलेसम्म अर्को कारोबार भएको छैन ।
बैंकले हकप्रद सेयर जारी गर्न सेयर सुचिकरण गरेको हो । बैंकले हकप्रद निकाल्नका लागि सिभिल मर्चेन्ट बैंक र नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ । बैंकको अहिले चुक्ता पुँजी ३८ करोडबाट बढाएर चार अर्ब पुर्‍याउनका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले करिब एक वर्ष अगाडि नै बैंकको पुँजी वृद्धि योजनासम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । पुँजी वृद्धि योजना अनुसार बैंकले ३ अर्ब ६२ करोड रुपियाँ जुटाउनेछ । १ सेयर बराबर साढे ९ का दरले पुँजी वृद्धि सरकारको भागमा पर्ने १ अर्ब ३७ करोड रुपियाँ बैंकलाई बुझाइसकेको छ ।
बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९ दशमलब ९४ प्रतिशत सेयर छ । सरकारको ३६ प्रतिशत, वाणिज्य बैंकको ४ दशमलब ९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ ।  त्यसैगरी हालै मात्र ७१ हजार ९ सय २९ कित्ता सेयर बैंक कर्मचारीलाई समेत बाँडफाँड गरेको छ । यो कूल सेयरको पाँच प्रतिशत हिस्सा हो ।  सर्वसाधारणको तर्फबाट बैंकमा खेतान र गोल्छा  समूहको प्रमुख सेयर स्वामित्व रहेको छ । त्यसैगरी पशुपति शमशेर राणा, निरञ्जनकुमार टिवडेवाल, गजेन्द्र बहादुर श्रेष्ठ, निरज राजभण्डारी, रमेशराज अर्याल, नवीन नरसिंह राणा, इन्दिरा खत्री, केदार नारायण मानन्धर, बालकृष्ण श्रेष्ठको पनि सेयर छ ।  बैंकको  पुँजी वृद्धि अघि ९ अर्ब ७४ करोड रुपियाँ पुँजी कोष आवश्यक छ । पुँजी कोष बढाउन बैंकले निष्क्रिय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने योजना बनाएको छ । ७५ वर्ष पुरानो बैंकले आथिर्क वर्ष ०७१/७२ पछि सेयरधनीलाई लाभांस बाँड्ने योजना बनाएको छ । सुधार कार्यक्रम लागू हुनु पूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपियाँ ऋणात्मक थियो । अहिले यो कोष ४ अर्ब २२ करोडले ऋणात्मक छ ।
नेपाल बैंकले प्रकाशित गरेको आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा २ करोड ७९ लाख खुद मुनाफा गरेको देखाएको छ ।

नेप्सेको राफसाफमा समस्या

नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारलाई कम्प्युटरीकृत गरे पनि राफसाफ प्रक्रियालाई भने कम्प्युटरीकृत गर्न नसक्दा दलाल कम्पनी समस्यामा पर्न थालेका छन् । हालै नेप्सेले सञ्चालनमा ल्याएको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ कम्पनीमा कात्तिक १ गतेदेखि राफसाफको काम गर्न थाले पनि नयाँ मोड अफ अपरेसन अनुसार काम गर्दा सेयर दलाल समस्यामा देखिएको हो । नयाँ मोड अफ अपरेसन अनुसार खरिदकर्ता ब्रोकर र बिक्रीकर्ता ब्रोकर एकैपटक बिक्रीका कागजातहरू एवम् खरिदका भौचरहरू पेस गरी राफसाफ गर्ने व्यवस्था गरेपछि समस्या सिर्जना भएको हो । नेपाल सेयर ब्रोकर एसोसिएसनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अञ्जनराज पौडेलले एकै समयमा आफूले कारोबार गरेका अन्य दलाल कम्पनीका प्रतिनिधिलाई भेटन समस्या हुने हुँदा सेयर कारोबार भए पनि राफसाफको काम भने थन्किएको बताए ।
‘हरेक दिन १५/१६ वटा दलाल कम्पनीसँग कारोबार भइरहेको हुन्छ । कुनै दलालले कारोबार गरेको भोलिपल्ट त कुनैले पर्सिपल्ट कारोबार राफसाफ गर्न आउने गर्छन् । एकै समयमा अन्य दलाल भेटिन गार्‍हो हुने हुँदा राफसाफको काम थुप्रिँदै गएको छ ।’–उनले भने । नेप्सेले पहिल्यै फेल खाइसकेको मोड अफ अपरेसनलाई कार्यान्वयनमा ल्याएर दलालहरूलाई समस्यामा पारेको उनले आरोप लगाए । नेप्सेले दलाल कम्पनीहरूलाई जारी गरेको निर्देशनम टी प्लस थ्री अनुसार कारोबारको राफसाफ नगरेमा चौथो दिन कारोबार गर्न पाउँदैन । नयाँ मोड अफ अपरेसन अनुसार खरिदकर्ता र बिक्रीकर्ता एकै समयमा भेट हुन नसक्दा समस्या सिर्जना भएको छ । आइतबार त प्राय: सम्पूर्ण दलाल कम्पनी नियमानुसार कारोबार गर्न नपाउने भएपछि करिब आधा घण्टा कारोबार नै भएको थिएन । पछि, नेप्सेले हरेक दलालको खातामा मनपरी तरिकाले कारोबार रकमको सीमा चढाइदिएपछि मात्र कारोबार सम्भव भएको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया