बोली फेर्ने नेताबाट केही हुँदैनः अध्यक्ष खनाल

काठमाडौं, १७ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले पद नछाडेसम्म दलहरुका बीच कुनै सहमति बन्न नसक्ने बताएका छन् ।
काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले सहमतिको बाधक प्रधानमन्त्री भट्टराई रहेको बताए । ‘मुलुक मुडभेडमा गए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्छ,’ उनले भने, ‘बाबुराम भट्टराई प्रधानमन्त्रीबाट नहटेसम्म सहमति सम्भव छैन ।’
अध्यक्ष खनालले बाहिर हल्ला गरिए जस्तो प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतिको सरकार नबन्ने बताए । भट्टराईले पद त्याग गरे दलहरुले सहमतीय प्रधानमन्त्रीको नाम दिने उनले बताए ।
एमाओवादीले सहमति र सम्वादका लागि ध्यान नदिएको अध्यक्ष खनालको आरोप थियो । उनले भने, ‘कुनै देशका नेता आउँदैमा नेपालका नेताहरुले बोली फेर्छन भने ती नेताहरुबाट अब केही हुन सक्दैन ।’

प्रतिक्रिया