अस्ताए सादगी नेता

काठमाडौं, १७ मंसिर । कांग्रेसले सिद्धान्तनिष्ठ, इमानदार र व्यवहारवादीमध्येका एक नेता शनिबार गुमाएको छ । शनिबार बिहानै ‘मर्निङ वाक’बाट कोठामा फर्केका कांग्रेस नेता भीमबहादुर तामाङको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पताल लैजाने  क्रममा निधन भएको छ । तामाङको निधनबाट कांग्रेसले मात्र होइन, मुलुकले नै एक सादगी नेता गुमाएको छ ।
आफ्नो आदर्श प्राप्तिका लागि प्रारम्भिक राजनीतिक जीवनमा बन्दुक बोकेका तामाङ समकालीन राजनीतिमा एक आदर्शवादी नेताका रूपमा चिनिन्थे । सशस्त्र संघर्षमा समेत होमिएका उनी व्यवहारमै ‘गान्धीवादी आदर्श नेता’का रूपमा पनि स्थापित भए ।
बिपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादलाई आºनो आदर्श सिद्धान्त बनाएका नेता तामाङको व्यवहार सिद्धान्तजस्तै जीवनको अन्तिम घडीसम्म पारदर्शी थियो । पार्टीको नेतृत्व तहमा लामो समय बसेर र मन्त्री बनेर फर्कंदा पनि निजी सम्पत्ति र भोगको लालसा नदेखाएका तामाङ बाचुन्जेल डेरामै बसे । उनको सादा जीवन, सरल स्वभाव र पारदर्शी जीवनशैली उदाहरणका रूपमा लिइन्छ । उनको जीवनयापनमा प्रजातान्त्रिक समाजवादी चिन्तनको छाप प्रस्ट देखिन्थ्यो । मन्त्री बने पनि उनले राजधानीमा भाडाको घरमा जीवन बिताए । पछिल्लो समय उनी कांग्रेसका पूर्वसभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको घरमा भाडामा बस्दै आएका थिए । लोभलालचमा नफसेका नेता तामाङको निधनबाट कांग्रेसले मात्रै नभई समग्र मुलुकले योग्य र सक्षम नेता गुमाएको टिप्पणी गर्न थालिएको छ । उनका एक छोरा र छोरी छन् ।
पछिल्लोपटक संघीयतालाई जातीय राज्यका रूपमा मात्र बुझ्ने र जातीय आधारमा प्रदेश निर्माण गर्ने कुराको विपक्षमा उनी उभिँदै आएका थिए । समाजमा जातीय विग्रह ल्याउन नदिन जीवनको अन्तिम घडीसम्म पनि क्रियाशील नेता गुमाउँदा कांग्रेस र शुभेच्छुकले ठूलो रिक्तता महसुस गरेका छन् । आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्न आवश्यक सुझाव र गृहकार्यका लागि उनैको नेतृत्वमा समिति गठन गरेर जिम्मेवारी दिइएको थियो । उनले अधिकार र स्रोत–साधनलाई गरिब जनतासम्म विस्तार गर्नुपर्ने तर जातीय आधारमा प्रदेश बाँडफाँड गर्न नहुने भन्दै सुझाव पार्टीलाई बुझाएका थिए । लोकतान्त्रिक समाजवादको छहारीमा सबै जातजातिको कल्याण हुने उनको मान्यता थियो । जातीय सद्भाव र बलियो राष्ट्रिय एकताका पक्षमा खरो रूपमा उत्रिएका उनी सधैँ सबैका लागि प्रेरणाका स्रोत बनिरहे । उनले आफ्नो सम्पूर्ण जीवन प्रजातान्त्रिक समाजवाद प्राप्तिका लागि अर्पिए ।
दोलखाको झुले गाविसमा १९९२ सालमा जन्मिएका उनी २०१४ मा कांग्रेसमा आबद्ध भएका थिए । २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिई लोकतन्त्र खोसेपछि सुवर्णशमशेरले चलाएको सशस्त्र क्रान्ति र २०२८ मा बिपीको आह्वानमा भएको अर्को क्रान्तिमा उनी बन्दुक बोकेर होमिएका थिए । त्यस क्रममा उनी बिपीको अंगरक्षक पनि बनेका थिए । उनको राजनीतिक इमानदारीलाई मन पराएर बिपीले आफूनिटक राखेका थिए । क्रान्तिकारी छवि बोकेका तामाङ कांग्रेसभित्र अध्ययनशील र संघर्षशील नेताका रूपमा स्थापित थिए ।
बिपीसँगै लामो समय भारत निर्वासमा रहेका उनी ०३६ सालको जनमतसंग्रहका क्रममा नेपाल फर्केका थिए । जानकारका अनुसार बिपी उनलाई राजनीतिक दस्ताबेजहरू अंग्रेजी भाषामा अनुवाद गर्ने जिम्मेवारी दिने गर्थे ।
तामाङले यसअघि भएको कांग्रेस महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी पनि दिएका थिए । महाधिवेशनमा उनले आºनो उम्मेदवारी जितका लागि भन्दा पनि समाजवादी व्यवहार र आचरणको मुद्दा पार्टीमा स्थापित गराउन भएको प्रतिक्रिया दिएका थिए ।
५५ वर्ष कांग्रेसमा
कांग्रेसले नेता तामाङले ५५ वर्ष लामो अवधि पार्टीमा बिताएको उल्लेख गर्दै उनको निधनले मर्माहत बनाएको जनाएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले राष्ट्रियता, लोकतन्त्र, सामाजिक–सांस्कृतिक समता, सद्भाव र पहिचान तथा समाजवादका निम्ति समर्पित तामाङको निधनबाट मुलुकले मूर्धन्य नेता गुमाएको उल्लेख गरेको छ ।
२००७ सालको जनक्रान्तिले सिंगो मुलुकलाई सबै जाति–जनजाति र पछाडि परेका जनताको अधिकार र पहिचानसहित लोकतन्त्र एवं सामाजिक समतातर्फ डोर्‍याएको सत्य र प्रेरणालाई आत्मसात् गर्दै तामाङले २०१४ सालको भद्र अवज्ञा आन्दोलनबाट संगठित र सक्रिय राजनीतिक जीवन प्रारम्भ गरेका हुन् । तामाङको जीवन लोकतान्त्रिक समाजवादप्रति गहिरो राजनीतिक निष्ठा र व्यवहारको जीवन थियो । सबै आडम्बरबाट मुक्त उनको जीवन, सिद्धान्त र व्यवहारको एकीकृत अभिव्यक्ति थियो ।
बिपी, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निकटमात्र होइन, उनीहरूको विचारबाट प्रेरित तामाङ २००७ सालका पुस्ताका नेताहरूको संघर्षपूर्ण जीवनको एउटा प्रभावशाली र जीवन्त कडी थिए ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल र लामो निर्वासन जीवन भोगेका उनले राजनीतिलाई सधँै जनताको सेवा गर्ने अवसरका रूपमा लिए । राजनीतिलाई पेसा बनाएर कमाउने संस्कार विकास भएका बेला उनको जीवन राजनीतिलाई सेवाका रूपमा ग्रहण गर्ने उदाहरण बनेको थियो ।
कांग्रेसले तीन दिन शोक मनाउने
यसैबीच, कांग्रेसले नेता तामाङको निधनमा तीन दिन शोक मनाउने भएको छ । शोकमा उसले १७ मंसिरदेखि तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
उसले शोकका कार्यक्रमबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगन गर्न पनि निर्देशन दिएको छ । तामाङको निधनको १३आँै दिन २८ मंसिरमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तिम घडीसम्म भाडाकै घरमा
कांग्रेसका पूर्वसभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको निवासमा बस्दै आएका नेता तामाङ कहिल्यै धनसम्पत्ति जोड्न लागिपरेनन् । राजनीतिमा लागेर घरबार त्यागेका तामाङले निजी सम्पत्ति जोड्ने सोख देखाएनन् । गृहजिल्ला दोलखामा अझै उनी ‘मास्टर भीमबहादुर’का नामले चिनिन्छन् । उनले केही समय शिक्षण पेसासमेत अँगालेका थिए ।
०४८ सालको आमचुनावमा पराजित भए पनि तामाङ ०५१ को मध्यावधि चुनावमा दोलखाबाट विजयी भएका थिए । उनले कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सरकारले तामाङलाई सम्झने
सरकारले कांग्रेस नेता तामाङको निधनबाट स्तब्ध भएको जनाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले तामाङलाई आदर्शवादी र त्यागी नेताको संज्ञा दिँदै उनको निधनबाट सरकार दु:खी भएको बताएका छन् ।
उनले नेता तामाङलाई सम्मान दिने सोच बनाइएको जानकारी दिए । ‘नेता तामाङजस्तो त्यागी र आदर्शवादी नेताको स्मरण सरकारले गर्नै पर्छ,’ उनले भने, ‘मन्त्रिपरिपरिषद् बैठक बसेर उहाँका बारेमा केही न केही निर्णय गर्छौं ।’
शनिबार भएकाले सरकारले तामाङबारे औपचारिक निर्णय नगरेको उनको भनाइ थियो ।
आइतबार अन्त्येष्टि गरिने
नेता तामाङको आइतबार बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा उनलाई विभिन्न राजनीतिक दल र शुभेच्छुकले अन्तिम श्रद्धाञ्जली दिएका थिए । कांग्रेस सभापति सुशील कोइराला, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष झलनाथ खनाललगायतले उनलाई श्रद्धाञ्जली दिएका थिए ।
कोइरालाद्वारा दु:ख व्यक्त
कांग्रेस सभापति कोइरालाले शनिबार शोक वक्तव्य जारी गरी तामाङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् । ‘एक सशक्त र साहसी व्यक्तित्व भीमबहादुर तामाङको दु:खद् निधनबाट म स्तब्ध र शोक विह्वल भएको छु,’ कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया