सर्वसाधारणको ५० लाख ठगी

विराटनगर, १७ मंसिर ।  किस्ताबन्दीमा फर्निचर उपलब्ध गराउने बहानामा ठगी भएको छ । विराटनगर–१९ का जगदीश साहले फर्निचर उद्योग सञ्चालनका नाममा विराटनगरका पाँच सयभन्दा बढी सर्वसाधारणसँग रकम ठगी गरेका हुन् ।
विराटनगर–१६ मा साहले सञ्चालन गरेको म्याक्स स्टिल फर्निचर उद्योगका नाममा उनले लगभग ५० लाख रुपियाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । साहले ठगी गरेको रहस्य सार्वजनिक भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । स्थानीय बासिन्दाले दिएको जाहेरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर मनोजित कुँवरले जानकारी दिए ।
दैनिक २० रुपियाँका दरले किस्ता जम्मा गरेर डेढ वर्षको ब्याजमा गोदरेज स्टिलको दराजलगायत फर्निचर दिने र जम्मा गरिएको पैसा फिर्ता गर्ने अश्वासन दिएर उनले ठगी गरेका हुन् । साहले डेढ वर्षमा गोदरेज दराज दिने भने पनि २२ महिना बित्दासमेत दिन आलटाल गरेपछि प्रहरीमा गएको निक्षेपकर्ता अजयकुमार सिंहले बताए । प्रत्येक निक्षेपकर्ताले डेढ वर्षमा ७ हजार दुई सय रुपियाँ जम्मा गरेको उद्योगद्वारा दिइएको पास बुकमा उल्लेख छ । शुक्रबार साहलाई कारबाहीको माग गर्दै निक्षेपकर्ताहरूले सिडिओ कार्यालय मोरङमा घेराउसमेत गरेका थिए ।
इन्स्पेक्टर कँुवरका अनुसार साहले डेढ वर्षदेखि लगातार स्थानीयसँग रकम असुल्दै आएका थिए । साहले पाँच सयभन्दा बढी सर्वसाधारणसँग रकम असुलेर फरार हुन लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहलाई थप अनुसन्धानका लागि प्रहरीले ठगी मुद्दामा शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । साहले विराटनगर–२, ७, १६, १८, २०, २१ र २२ नम्बर वडाका बासिन्दासँग रकम असुलेर ठगी गरेका हुन् ।

प्रतिक्रिया