कारागारका ८० बिरामी

हेटौंडा, १७ मंसिर । क्षमताभन्दा बढी थुनुवा र कैदी रहेको भीमफेदी कारागारका कैदीबन्दीमा विभिन्न रोगका बिरामी फेला परेका छन् ।
महिलाका लागि बनाइएको कारागारमा रहेका कैदी र थुनुवाका लागि उचित बसोवास तथा सरसफाइको व्यवस्था हुन नसक्दा बिरामी परेका हुन् । दुई सय महिला बन्दीका लागि बनाइएको कारागारमा चार सय पुरुष बन्दी र पुरानो २५ जनाको क्षमता रहेका जिल्ला कारागारमा सय कैदीबन्दी छन् । कारागारमा रहेकामध्ये ५० लाई हाइड्रोसिल र ३० लाई पायल्स भएको छ भने आँखा र छालाका बिरामी पनि रहेका कारागार प्रमुख चिरञ्जीवी थापाले जानकारी दिए ।
केही कारागारभित्र रहेकामा र केही बाहिरबाट आएका बिरामीका कारण कारागारमा समस्या भएको छ । कारागारमा क्षयरोगी र एचआइभी पीडितसमेत रहेका छन् । कारागारमा हाइड्रोसिल र पायल्सका बिरामीका लागि शिविर सञ्चालन गर्नुपर्ने भएको छ ।
सरकारले दिएको सामान्य सेवाले पर्याप्त उपचार हुन नसकेको थापाले बताए । कारागारमा भएका बिरामीलाई दैनिक रूपमा उपचारको व्यवस्था गर्नुपर्ने मूलनाइके लुमडी कार्कीले बताए ।
उनले कारागार प्रशासनसँग समन्वय गरेर उपचारको प्रबन्ध भइरहे पनि उचित रूपमा उपचार हुन नसकेको बताए । कारागार पायक पर्ने ठाउँमा नभएका कारण टाढा लैजानुपर्ने भएकाले बिरामीको उपचार अवस्था दयनीय रहेको भन्दै कारागार व्यवस्थापन विभाग र अन्य सरोकारवालाले ध्यान दिनुपर्ने बताए । कारागारमा दुई सय ६ थुनुवा र दुई सय ९५ कैदी छन् ।

प्रतिक्रिया