म्याद थपेर थकाइ मारे नेताहरूले

काठमाडौं, १६ मंसिर । सहमतिका लागि समय अपुग भएको भन्दै बिहीबार राष्ट्रपतिबाट सात दिन थप गराएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू शुक्रबार हाइसन्चो मानेर बसेका छन् । सहमति जुटाउन क्रियाशील हुनुको साटो नेताहरू कोही पार्टीको आन्तरिक काममा व्यस्त रहे भने कसैले घरमै आराम गरेर दिन बिताए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मातृशोकमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगे । बाँकी समय उनले पार्टीको आन्तरिक काममै खर्चे । शुक्रबार बिहान प्रचण्डले आफ्नै निवासमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि भेटे । प्रचण्डका सहयोगी यो नियमित भेटघाट मात्र भएको बताउँछन् ।
थप समयभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्ने वचन दिएर फर्केका कांग्रेस सभापति सुशील कोइरालाले बिहान मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै निवासमा भेटे र सरकारको नेतृत्वका लागि आफूलाई सघाउन आग्रह गरे । यादवसँगको भेटपछि कोइराला दिनभर निवासमै रहे ।
उनले बेलुकी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणालाई आफ्नै निवासमा भेट गरी सरकार बनाउन आफ्नो दललाई समर्थन गर्न आग्रह गरे । राणाले सरकार बनाउन कांग्रेसलाई आफ्नो समर्थन रहने आश्वासन दिएका थिए । यसैगरी, कोइरालाले भारतीय नेता करण सिंहलाई पनि शुक्रबार राति नै भेटे ।
एमाले अध्यक्ष झलनाथ खनाल शुक्रबार पार्टीको रूपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्न बुटवल पुगे । दिनभर बुटवलमै बिताएर साँझ उनी राजधानी फर्केका थिए ।
एमाले नेता भीम रावलले सहमति जुटाउन एमाओवादी र सरकारले पहल गर्नुपर्ने भए पनि उनीहरू अग्रसर नभएको आरोप लगाए । छलफललाई घनीभूत बनाउनुपर्ने भए पनि एमाओवादी, मधेसी मोर्चा र सरकारकै कारण उदासीनता छाएको उनको भनाइ छ । ‘एकदमै उदासीनता हो,’ रावलले भने, ‘एमाओवादी र मोर्चामा आफ्नो पद जाला कि भन्ने डर र चिन्ता देखिन्छ, त्यसैले छलफल हुन सकेन ।’ सार्थक पहल एमाओवादीबाट हुनुपर्ने भन्दै उनले भने, ‘यस्तै अवस्था रहे पुन: सहमति गर्न स्थिति जटिल छ ।’
अघिल्लोपटक ८ मंसिरमा राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेपछि त्यसको भोलिपल्ट साँझ शान्ति मन्त्रालयमा प्रमुख तीन दल एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा एमाओवादी अध्यक्ष दाहालले राजनीतिक निकासको खाका र प्रधानमन्त्रीको नाम दिन विपक्षी कांग्रेस र एमालेलाई आग्रह गरेका थिए ।
त्यसयता कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने संकेत गरेको छ तर औपचारिक निर्णय लिएको छैन । अर्काे दल एमालेले कांग्रेसलाई समर्थन गर्ने बताएको थियो । तर, कांग्रेस, एमालेलगायतका दलहरूसँग सहमतिको प्रधानमन्त्री मागेका एमाओवादी अध्यक्ष दाहालले त्यसपछि पार्टीका तर्फबाट भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनलाई प्राथमिकता
दिने बताए ।
अन्यथा सत्तारुढ गठबन्धनबाटै नारायणकाजी श्रेष्ठ, विजय गच्छदार र महन्थ ठाकुरको नाममा छलफल चलाउने प्रस्ताव उनले अघि सारेका थिए । दाहालले नेकपा–माओवादीका नेताहरूसँगको भेटपछि उक्त पार्टीका महासचिव रामबहादुर थापालाई पनि समर्थन जनाए ।
कांग्रेस सभापति कोइरालाले आफूलाई प्रधानमन्त्रीमा समर्थन लिन दौड अघि बढाए पनि एमाओवादीका तर्फबाट भेटैपिच्छे धेरैको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरिँदै आएको छ । तीन प्रमुख दल एकै ठाउँमा बसेर सहमतिको गृहकार्य नगरेका उनीहरूले आफ्नो रणनीतिअनुरूप अघि बढ्न दोस्रो तहका नेताहरूलाई खटाउँदै आएका छन् ।

प्रतिक्रिया