तेस्रो दलको दाबी गर्दै माओवादी शीतलनिवासमा

काठमाडौं, १६  मंसिर । नेकपा–माओवादीले प्रमुख दलका शीर्ष नेतासँगको छलफलमा सहभागी नगराइएको भन्दै राष्ट्रपति डा. रामवरण यादवसमक्ष असन्तुष्टि जनाएको छ । आफूलाई तेस्रो दलको मान्यता दिन माग गर्दै उसले चार दलबीच मात्र छलफल गरेर निकालिएको निकास मान्य नहुने चेतावनीसमेत दिएको छ ।

पार्टी उपाध्यक्ष सिपी गजुरेल र प्रवक्ता पम्फा भुसालले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगी राष्ट्रपति डा. यादवलाई चार दलको निर्णय आफूहरूलाई मान्य नहुने बताएका हुन् । विघटित संविधानसभाका ९१ सदस्य आफ्नो साथ रहेकाले आफूहरूले तेस्रो दलको मान्यता पाउनुपर्ने उनीहरूको दाबी थियो । चार दलका नाममा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच मात्र छलफल चलाउने गरेका प्रति असन्तुष्टि जनाउँदै गजुरेल र भुसालले उनीहरूबाट मात्र आउने निकास आफूहरूलाई मान्य नहुने स्पष्ट पारेका थिए ।
‘विघटित संविधानसभामा रहेका हाम्रा ९१ सभासद्को नामको सूची हामीले राष्ट्रपतिलाई बुझायौँ,’ राष्ट्रपतिसँगको भेटपछि उपाध्यक्ष गजुरेलले भने, ‘नेकपा
(एमाले) बाट उपाध्यक्ष अशोक राईलगायत जनजाति सभासद् अलग्गिएर नयाँ पार्टी खोलेपछि पूर्वसभासद् संख्याका हैसियतले हाम्रो पार्टी तेस्रो ठूलो दल भएको हामीले राष्ट्रपतिलाई स्मरण गरायौँ ।’
भेटमा राष्ट्रपति डा. यादवले माओवादी पार्टी औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता नभएकाले केही समस्या परेको बताएको जानकारी गजुरेलले गराए । उनले भने, ‘जवाफमा हामीले पार्टी दर्ता नगराए पनि एकीकृत नेकपा (माओवादी) बाट अलग्गिएर नयाँ पार्टी गठन गरेको जानकारी निर्वाचन आयोगलाई गराइसकेका छौँ भन्यौँ ।’
बिहीबार प्रमुख दलको आग्रहमा भन्दै राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि सात दिनको समय थप्ने प्रक्रियामा आफूहरूलाई सहभागी नगराएकामा पनि राष्ट्रपतिको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । राजनीतिक गत्यावरोध अन्त्यका लागि गोलमेचसभा वा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको र त्यसका लागि सहयोग गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया