माओवादीका कारण देश न अगाडि न पछाडि : खनाल

 

भैरहवा, १६  मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले माओवादी गतिविधिका कारण देश न अगाडि न पछाडिको अवस्थामा रहेको बताएका छन् ।
भैरहवामा शुक्रबार एमाले रूपन्देहीको सातौँ जिल्ला अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष खनालले यस्तो धारणा व्यक्त गरका हुन् । वर्तमान अवस्थामा एमाओवादी र कांग्रेसले देशलाई निकास दिन नसक्ने जिकिर गर्दै खनालले एमालेको नेतृत्वले मात्रै राष्ट्रिय निकास दिने दाबी गरे । यद्यपि, उनले एमालेलाई पद, कुर्सी र नेतृत्व आवश्यक नभएको उल्लेख गर्दै सहमतीय सरकार गठनमा लागिपरेको बताए । सहमतीय सरकारमार्फत वैशाखभित्र चुनाव गर्नु नै निकासको उत्तम विकल्प हुने उनको भनाइ थियो ।
एमाले सचिव विष्णु पौडेलले माओवादीको सत्तालिप्साकै कारण शान्तिप्रक्रिया अधुरो रहेको बताए । उनले भने, ‘राज्यका सबै अंगलाई नियन्त्रणमा लैजाने एमाओवादीको अराजक प्रवृत्तिका कारण देश समस्यामा फसेको हो ।’
शनिबार दिनभर चल्ने बन्दसत्रले तीनवर्षे कार्यकालका लागि एमाले रूपन्देहीको नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि वर्तमान उपाध्यक्ष बाबुराम चौधरी, सचिव शिव सुवेदी र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भोजप्रसाद श्रेष्ठ चुनावी दौडमा छन् ।

प्रतिक्रिया