एचआइभी सम्मेलन आजदेखि

काठमाडौं, १६ मंसिर । एचआइभी एड्स तथा यौन रोगीको संख्यामा कमी ल्याउन र नयाँ रोगीलाई शून्यमा झार्ने उद्देश्यका साथ पोखरामा शनिबार चारदिने राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ ।

‘एचआइभी सेवामा पहुँच बढाई सहस्राब्दी लक्ष्य प्राप्त गरौँ’ भन्ने नाराका साथ सुरु हुन लागेको उक्त सम्मेलनको उद्घाटन शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गर्न लागेको यो चौथो राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा नेपालसहित विभिन्न देशका दुई हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहने केन्द्रका निर्देशक डा. केके राईले जानकारी दिए । निर्देशक राईका अनुसार सम्मेलनमा सरोकारवाला, नीतिनिर्माता, वैज्ञानिक, अनुसन्धाता, शोधकर्ता र संक्रमित तथा प्रभावित व्यक्तिबीच अन्तरक्रिया गराइनेछ ।
एचआइभी एड्सबारे अनुभव आदानप्रदान गरी वैज्ञानिक ज्ञान प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पाँचवटा प्लेनरी सत्र, ६० वटा वैज्ञानिक सत्र, ७५ वटा पोस्टर प्रदर्शनी, १० वटा क्षमता अभिवृद्धि सत्र र १५ वटा फिल्म समावेश गरिने केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया