जलविद्युत् आयोजना निर्माण तीव्र

काठमाडौं, १५  मंसिर । जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउन थालेका छन् । सरकारले जलविद्युत्का क्षेत्रमा बढाएको चासो तथा लगानी मैत्री वातावरणका कारण जलविद्युत् आयोजना निर्माणको तीव्रता बढेको हो ।

सरकारले केही समयअगाडि बढाएको एक सय ९० बुँदे शासकीय सुधार तथा आर्थिक कार्ययोजनामा पनि ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको थियो ।
आर्थिक विकास तथा समृद्धिको कार्ययोजनालाई अगाडि बढाएको सरकारले ऊर्जा संकटका कारण उद्योग, कृषि, सेवा व्यवसाय र व्यापारलगायत सम्पूर्ण आर्थिक क्रियाकलाप खुम्चिरहेको भन्दै ऊर्जाका क्षेत्रमा नयाँ योजना अगाडि बढाएको हो ।
सोही क्रममा सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणले पनि पछिल्ला दिनमा तीव्रता पाएको छ । सो आयोजनाको बाँध तथा सुरुङ निर्माणको कामले तीव्रता पाएको हो । पछिल्ला दिनमा एकाधबाहेक निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको काम तीव्ररूपमा अगाडि बढेको छ ।
सोही क्रममा १० मेगावाटको सिप्रिङ खोला जलविद्युुत् आयोजनाको निर्माण पूरा भएको छ । दोलखाको गौरीशंकर र खारे गाविसको सिमानामा पर्ने १० मेगावाटको सिप्रिङ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन भइसकेको छ ।
केही दिनपहिलेदेखि परीक्षण उत्पादन सुरु भइसकेको सो आयोजनाका प्रमुख प्रह्लाद चौधरीले बताए । यसैगरी, म्याग्दी जिल्लामा पनि तीनवटा जलविद्युत् आयोजना सुरु भएका छन् । मिस्त्रीखोला जलविद्युत् आयोजनाको क्षमता ४२ मेगावाट रहेको छ । सो आयोजनाको निर्माण सँगसँगै माउन्टेन इनर्जी प्रालिले ३८ मेगावाटको नीलगिरि र १० मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाको पनि निर्माण सुरु भएको छ ।
यसैगरी, कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको पनि निर्माण सुरु हुने चरणमा पुगेको छ ।
१ सय ६४ मेगावाटाको कालीगण्डकी गर्जको निर्माण हिमताल हाइड्रोले निर्माण गर्ने भएको छ । लामो समयदेखि विवादमा रहेको ३० मेघावाट क्षमताको रहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि डयाम साइटसम्मको सडक निर्माण कार्य पनि अघि बढेको छ ।
निजी क्षेत्रबाट धादिङ जिल्लाको आँखु खोलामा निर्माण गरिएको ८.५ मेगावाटको आँखुखोला जलविद्युत् आयोजना पनि सम्पन्न हुने क्रममा रहेको छ । केही दिनभित्रै सो आयोजना पनि राष्ट्रिय प्रसारणमा जोडिने बताइएको छ । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको निर्माणको काम अगाडि बढ्नुलाई नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता शेरसिंह भाट स्वाभाविक मान्छन् ।
सरकारले पछिल्ला दिनमा जलविद्युत् आयोजना निर्माण गर्न नसकिरहेका बेला चिलिमे हाइड्रोले भने तीनवटा आयोजनालाई अगाडि बढाएको छ । चिलिमेले तल्लो सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी आयोजनालाई अगाडि बढाएको छ भने मध्यभोटेकोसीलाई पनि केही समयभित्रै अगाडि बढाउने तयारी गरेको छ ।
यसैगरी, चिलिमेले उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि आफूलाई दिन प्राधिकरणसँग माग गर्दै आएको छ । चिलिमेका प्रमुख कुलमान घिसिङले आºनो कम्पनीले प्राधिकरणसँग उत्तरगंगा जलविद्युत् आयोजना निर्माण गर्न दिन अनुरोध गरेको बताए ।
यसैबीच, सरकारले लगानी बोर्डमार्फत अगाडि बढाएको ७ सय मेगावाटको पश्चिम सेती आयोजनाको काम पनि अगाडि बढेको छ । सो आयोजनामा सहयोग गर्ने चिनियाँ लगानीकर्ताले आयोजना स्थलको निरीक्षणपछि प्रारम्भिक प्रतिवेदन तयार गर्न लागेको र केही समयभित्रै प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
ऊर्जा सचिव हरेराम कोइरालाले ऊर्जा मन्त्रालयले केही महत्त्वपूर्ण आयोजनाको अध्ययन गरिरहेको र केही समयभित्रै ती आयोजनालाई अगाडि बढाउने सोचमा रहेको बताए । पछिल्ला दिनमा बढेको निर्माणको प्रक्रियालाई सकारात्मक रूपमा लिँदै ऊर्जा मन्त्रालयले निजी क्षेत्रबाट निर्माण गरिने आयोजनालाई सहजता प्रदान गर्ने नीति लिएको र सँगसँगै सरकारले पनि केही आयोजनालाई अगाडि बढाउने सोच बनाएको कोइरालाले बताए ।

प्रतिक्रिया