पाँच डिआइजीको बढुवा

 

काठमाडौं, १५  मंसिर । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू दिनकरशमशेर जबरा, गंगाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मीलाई एआइजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा दुई महिनादेखि पाँच एआइजी पद रिक्त थियो ।
सरकारले बढुवा भएका एआइजीको जिम्मेवारीसमेत तोकेको छ । जसअनुसार जबरालाई अपराध अनुसन्धान विभाग, पाण्डेलाई मानव स्रोत, सिंहलाई प्रशासन, रेग्मीलाई कार्य विभाग र शाहलाई आइजिपी सचिवालयको जिम्मेवारी तोकिएको छ । वरिष्ठताका आधारमा प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार नै सरकारले बढुवाको निर्णय गरेको सहरी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले जानकारी दिए ।
सरकारले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकद्वय राजेन्द्रकुमार खत्री र पुष्करप्रसाद चापागाईंलाई अनुसन्धान निर्देशकमा बढुवा गरी क्रमश: पश्चिमाञ्चल र पूर्वाञ्चल कार्यालयमा खटाएको छ ।
यसैगरी, बैठकले केन्द्रीय बालकल्याण समितिको कार्यकारी निर्देशकमा अधिवक्ता मनोजकुमार कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । कँडेल बालबालिकाका निम्ति गैरसरकारी संस्था महासंघका महासचिव हुन् । त्यसैगरी, जनक शिक्षा सामग्री केन्द्रको निर्देशकमा अनिलकुमार झा, नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा मदन खरेललाई नियुक्त गरिएको छ ।
अब लागुऔषध नियन्त्रण ब्युरो
बैठकले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइको नाम परिवर्तन गरी लागुऔषध नियन्त्रण ब्युरो बनाउने निर्णय पनि गरेको छ । त्यस्तै, ललितपुरको एक नाच प्रदर्शन कार्यक्रमका लागि २ लाख रुपैयाँ सहयोग गर्ने तथा सशस्त्र प्रहरी महानिरीक्षकको नेतृत्वको टोली सुरक्षासम्बन्धी विविध विषयमा वार्ता गर्न भारत पठाउने निर्णय पनि बैठकले गरेको मन्त्री ढकालले जानकारी दिए ।

प्रतिक्रिया