सरकार बनाउन दलहरु असफल

काठमाडौं, १४ मंसिर । राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकार बनाउँन दिएको समयसीमा भित्रै प्रमुख दलहरुले प्रधानमन्त्री चयन गर्न असफल भएका छन् ।
सरकारको नेतृत्वमा एमाओवादी र कांग्रेसले आ–आफ्नै दाबी गरे पछि सहमति हुन नसकेको हो । राष्ट्रपतिले आज चार बजे सम्म सहमतीय सरकार बनाउँन समयसीमा तोकिदिएका थिए । यद्यपि दलहरुले सो समय भित्र प्रधानमन्त्री वा सरकारको दाबी प्रस्तुत गरेनन् ।
कांग्रेसले सहमतीय सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ । एमाओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै निरन्तरता दिनुपर्ने वा सत्तारुढ दलहरुकै तर्फबाट सरकराको नेतृत्व गर्नुपर्ने प्रस्ताव गरेको छ ।
जेठ–१४ गते प्रधानमन्त्री भट्टराईले संविधानसभा विघटन गरेर एकलौटी रुपमा नयाँ निर्वाचन घोषणा गरे पछि दलहरुका बीच तनाव उत्पन्न भएको हो ।
कांग्रेसले एमाओवादी र एमालेले दुई/दुई पटक सरकारको नेतृत्व लिएको भन्दै अब आफ्नो पालो रहेको जनाउँदै आएको छ ।

यसैबीच, लोककल्याणकारी जनता पार्टी अध्यक्ष किशोरी महतोले प्रधानमन्त्रीमा उमेदवारी दर्ता गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा दलबल सहित पुगेका महतोले १८ दलको समर्थन रहेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीमा उमेदवारी दिएको जनाए । उनलाई राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापाले समर्थन गरेका छन् ।

प्रतिक्रिया