राष्ट्रपतिको आह्वान असफल

काठमाडौं, १४ मंसिर । राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि दिएको समय–सीमा सकिने दिन आज प्रमुख दलका नेताहरू रित्तोहात शीतलनिवास छिर्दै छन् । यसबीचमा औपचारिक वार्तासमेत नगरेका दलहरूले सहमति हुन नसक्नुमा एक–अर्कालाई आरोप–प्रत्यारोप गरेका छन् ।
राष्ट्रपतिले बिहीबार ४ बजेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको उपयुक्त प्रस्ताव सिफारिस गर्न आग्रह गरेका थिए । तर, राष्ट्रपतिको कदम संवैधानिक कि असंवैधानिक भन्नेमा अल्झिएका दलहरूले सहमतितर्फ एक पाइला पनि अघि बढाएनन् । यसबीचमा प्रमुख तीन दल एमाओवादी, कांग्रेस र एमालेको बैठक जम्मा एक दिन मात्रै बस्यो ।
एमाले नेता भीम रावल राष्ट्रपतिको आह्वानलाई नमान्दा कुरा अड्किएको दाबी गर्छन् । ‘राष्ट्रपतिको आग्रह संवैधानिक/असंवैधानिक भन्ने बहस एमाओवादीले गरेको हो,’ नेता रावलले सौर्यसँग भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिको आह्वानविपरीत बोल्ने र एमाओवादीले सहमतिका लागि रुचि नलिएपछि सहमति भएन ।’
रावल संविधानमा भएका व्यवस्था र राजनीतिक सहमतिका आधारमा अघि बढ्नुको विकल्प नभएको बताउँछन् । तीन दलको छलफल पनि विपक्षी दलकै पहलमा भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीको पार्टी नै इच्छुक छैन त के गर्ने ?’
प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिको आह्वान संविधानसम्मत नभएको भन्दै लिखित पत्र नै राष्ट्रपति कार्यालयलाई पठाएको थियो । साथै, यसअघि गत जेठ १४ गते संविधानसभा विघटन भएपछि सरकार कामचलाउ भएको राष्ट्रपतिको पत्रको पनि सरकारले विरोध गर्दै आएको छ ।
यसबीचमा सहमतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा समेत दलहरू अल्मलिएका छन् । कांग्रेसबाट प्रधानमन्त्री बन्नका लागि कस्सिएका सभापति सुशील कोइरालाले एमालेलगायत प्रतिपक्षी दलहरूको साथ पाए पनि उनकै पार्टीले औपचारिक निर्णय गरेको छैन । वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमै नयाँ सरकारको अडान सार्वजनिक गरेको एमाओवादीले सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।
कोइरालाले आºनै नाममा सहमति जुटाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले उपाध्यक्ष वामदेव गौतम, मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई समेत भेटिसकेका छन् । कोइरालाले मंगलबारै आºनै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत भेटी आफू अघि बढ्ने संकेत दिएका थिए । तर, देउवाले कोइरालालाई समर्थन गर्न पार्टी सञ्चालनका विधि, बहुमत अल्पमतको अन्त्य र पार्टीको विभाग गठनमा देखिएको विवादमा उचित तरिकाले सम्बोधन गर्नुपर्ने सर्त तेस्र्याएका छन् । देउवा, यी सर्त पूरा गरेको खण्डमा विरोध नगर्ने मनस्थितिमा  पुगेका छन् । तर, १७ पटकसम्म आºनो पक्षमा बहुमत पुर्‍याउन नसकेका उपसभापति रामचन्द्र पौडेल भने आफूलाई प्रधानमन्त्री दिनुपर्ने पक्षमा छन् । यद्यपि, उनी सभापति अघि बढे बाहिर खुलेरै लाग्ने पक्षमा भने छैनन् ।
यता, सत्तारूढ दल एमाओवादीमै पनि राष्ट्रपतिको कदम सकारात्मक कि नकारात्मक भन्नेमै विवाद रहेकाले सरकार गठनलाई केन्द्रबिन्दुमा राखेर वार्ता र छलफल अगाडि बढ्न सकेन । तर, बाहिर विरोध गर्नेजस्तो देखिए पनि एमाओवादी यो सहमतिको उम्मेदवार खोज्ने प्रक्रियामा भने सामेल भइरहेको छ । उसले यही सरकारलाई सहमतीय स्वरूप दिनुपर्ने माग गरे पनि पछिल्ला दिनमा विकल्पका लागि तयार भएको जनाएको छ ।

प्रचण्डले राष्ट्रपतिलाई भने: प्रधानमन्त्री अब सुशील
एमाओवादी अध्यक्ष दाहालले मंगलबार राष्ट्रपतिसँगको भेटमा नयाँ प्रधानमन्त्री कांग्रेस सभापति कोइराला हुन सक्ने बताएको स्रोतको दाबी छ । दाहालले कोइरालालाई अगाडि सारी प्रारम्भिक खाका बिहीबारसम्म ल्याउने जानकारी दिएको स्रोतले बतायो । ‘मन्त्रिपरिषद्मा बाँडफाँडको सहमति गर्न केही समय
लाग्छ । त्यसका लागि समय थप गर्नुपर्ने हुन सक्छ,’ दाहाललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो । एमाओवादी अध्यक्ष दाहालले तीन दलको बैठकमा प्रधानमन्त्रीको नाम, चुनावको मिति र संवैधानिक निकासको खाका ल्याउन माग गरेका थिए । सरकारमा सहमति जुटाउन एमाओवादी कांग्रेस र एमालेका तर्फबाट कृष्णबहादुर महरा, कृष्णप्रसाद सिटौला र भीम रावल भित्री रूपमा सक्रिय छन् ।

प्रतिक्रिया