त्रिविका कर्मचारी पुनर्बहालीको माग

काठमाडौं, १४ मंसिर । जागिरबाट हटाइएका करार र ज्यालादारी कर्मचारीको पुनर्बहाली माग गर्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित भएका छन् । त्रिवि कार्यकारी परिषद्ले विनाकारण करार र ज्यालादारी कर्मचारीलाई जागिरबाट निकालेको आन्दोलित कर्मचारीको भनाइ छ ।
परिषद्ले १३ कात्तिकमा एक हजार दुई सय कर्मचारीलाई मंसिरदेखि लागू हुनेगरी जागिरबाट हटाउने निर्णय गरेको थियो । परिषद्ले त्रिविबाट स्वीकृति नलिई राखिएका देशभरका आंगिक क्याम्पस तथा त्रिविसँग सम्बन्धित प्रतिष्ठानबाट कर्मचारी निकाल्ने निर्णय गरेको हो ।
त्रिवि कर्मचारी संघ, त्रिवि प्रगतिशील कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् । छलफल हुन नसकेपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघका अध्यक्ष कुवेर केसीले बताए । उनीहरूले कर्मचारी पुनर्बहाली मागसहित २२ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । १४ गते केन्द्रीय क्याम्पस कीर्तिपुरमा विरोधसभा गर्ने, १७ गते इन्जिनियरिङ क्याम्पस पुल्चोक, २१ गते शिक्षण अस्पताल महाराजगन्ज र २२ गते केन्द्रीय क्याम्पसमै विरोधसभा गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष केसीले जानकारी गराए ।
ती कर्मचारीलाई परिषद्को स्वीकृतिबिना राखिएको थियो । त्रिविले हेटौंडा वनविज्ञान, मेची बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस र प्रिन्सिपल कार्यालयका कर्मचारीलाई हटाइसकेको छ ।
केसीले त्रिविले आफूखुसी कर्मचारी राखेर निकाल्न नपाउने बताए । ‘कर्मचारी आवश्यक भएर नियुक्त भएका हुन्,’ उनले भने, ‘कुनै पनि सर्तमा कर्मचारीको पुनर्बहाली हुनुपर्छ ।’
परिषद्को निर्णयअनुसार सबैभन्दा बढी शिक्षण अस्पताल महाराजगन्जका पाँच सय ९४ कर्मचारी निकालिने भएका छन् ।

प्रतिक्रिया