“भारतलाई सचिन आवश्यक”

नयाँदिल्ली, १४ मंसिर । सचिन तेन्दुलकरलाई खराब लयका बीचमा पनि भारतीय टोलीमा समावेश गरिएको विषयमा पूर्व कप्तान राहुल द्रविडले भारतीय टिममा सचिन तेन्दुलकरको उपस्थिति  इतिहासमै सबैभन्दा बढी रहेको बताएका छन् ।
इंग्ल्यान्डविरुद्ध जारी चार टेस्ट म्याचको शृंखलाअन्तर्गत दोस्रो खेलमा खराब प्रदर्शन गर्दै भारतले पराजय बेहोरेपछि सचिन तेन्दुलकरलगायत सबै ब्याट्सम्यानको आलोचना भएको छ । यसमा पनि लामो समयदेखि सन्न्यास लिन अप्रत्यक्ष दबाब झेलिरहेका सचिनलाई भने यो प्रदशर््ान र नतिजाले अप्ठेरोमा पार्ने अनुमान गरिएको थियो । द्रविडले शृंखलाका आगामी खेलमा राम्रो प्रदर्शन गर्न सचिनलाई सुझाव दिएका छन् । तेन्दुलकरले पछिल्ला १० टेस्ट म्याचयता अर्धशतकीय इनिङसमेत खेल्न सकेका छैनन् । उनले इंग्ल्यान्डविरुद्ध खेलको पछिल्ला तीन इनिङमा जम्मा २९ रन मात्र जोडेका छन् । उनी यी तीनवटै इनिङमा स्पिनरबाट आउट भएका थिए । द्रविडले सचिनले न्युजिल्यान्डविरुद्ध खेलिएको शृंखलामा भन्दा राम्रो प्रदर्शन गरिरहेको भन्दै आगामी दुई टेस्टमा उनले राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् ।
‘न्युजिल्यान्डविरुद्ध भन्दा उनी स्थिर देखिएका छन् । भलै यसपटक उनी तीनपटक असफल भइसकेका छन् । तर, उनले अगाडि राम्रो गर्नसक्ने सम्भावना देख्छु म,’ उनको भनाइ थियो । उनले शृंखला कठिन स्थितिमा रहेकाले अन्य खेलाडीका लागि भए पनि सचिन टोलीमा हुनुपर्ने विचार राखे । ‘भारतलाई सचिन अहिले निकै आवश्यक खेलाडी हुन् । किनभने शृंखला १–१ को स्थितिमा पुगेको छ । यस्तो स्थितिमा टोलीमा सिनियर खेलाडी हुनु निकै आवश्यक छ । अहिले सचिनभन्दा सिनियर र उत्कृष्ट को छ भारतीय टोलीमा ?’ उनले भने ।

प्रतिक्रिया