कोइराला कस्सिए, तर…देउवाका तीन सर्त

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री बन्न आफ्नो लबिङ तीव्र पारेका छन् । यद्यपि, आफ्नै पार्टीका नेता शेरबहादुर देउवालाई मनाउनु कोइरालाको पहिलो चुनौती हुनेछ ।
देउवाले कोइरालालाई प्रधानमन्त्रीका लागि मार्गप्रशस्त गर्नुपूर्व तीन सर्त अघि सारेका छन् । आफूनिकट झन्डै दुई दर्जन केन्द्रीय नेताहरूसँग बूढानिलकण्ठस्थित निवासमा मंगलबार भएको बैठकमा नेता देउवाले सभापति कोइरालाले आफ्ना प्रस्ताव पूरा गरे प्रधानमन्त्रीमा बाधक नबन्ने जनाए ।
स्रोतका अनुसार उनले उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन नहुने घुमाउरो आसय व्यक्त गरेका थिए । सभापतिबाहेक अरू नेताले प्रधानमन्त्री बन्न खोजे देउवाले पनि दाबेदारी प्रस्तुत गर्ने स्रोतको भनाइ छ ।
देउवाले पार्टी सञ्चालन कार्यविधि, पार्टीमा बहुमत र अल्पमतको अभ्यास अन्त्य गर्नुपर्ने तथा भ्रातृसंगठन र संसदीय बोर्डका साथै क्षमताअनुसारको जिम्मेवारी दिनुपर्ने तीन प्रस्ताव अघि सारेका हुन् । केन्द्रीय सदस्य डा. प्रकाशशरण महतका अनुसार पार्टी सञ्चालनसम्बन्धी तीन प्रस्ताव अघि सारे पनि कार्यबाहक सभापतिमा देउवाले दाबी गरेका छैनन् । उनले क्षमताअनुसारको जिम्मेवारीमा भने दाबी गर्ने डा. महतको भनाइ छ ।
‘देउवाजीले सहमतीय सरकारको प्रधानमन्त्रीमा सभापति कोइरालाको बाधक बन्दिनँ भन्नुभएको छ,’ देउवानिकट मानिने केन्द्रीय सदस्य डा. महतले भने, ‘प्रधानमन्त्रीमा सभापतिजीलाई हाम्रो पनि समर्थन छ ।’
सहमति, सहकार्य र प्रजातान्त्रिक पद्धतिबाट पार्टी सञ्चालन गर्नुपर्ने उल्लेख गरेका देउवाले संसदीय बोर्ड र भ्रातृसंगठनहरूको विवादलाई पहिला मिलाउनुपर्ने अडान राखेका छन् । बैठकमा देउवाले भने, ‘पार्टी सञ्चालनको विधि र प्रक्रियालाई सहमतिमा लैजाने हो भने मेरो समर्थन छ ।’
सोमबार बूढानीलकण्ठमै भएको भेटमा सभापति कोइरालाले प्रधानमन्त्रीमा सहयोग गरे पार्टी सञ्चालनमा मिलाएर जाने आश्वासन दिएका थिए । ‘एमाओवादीले कांग्रेसलाई सहमतीय सरकारको प्रधानमन्त्रीमा सहयोग गर्छु भनेँ,’ नेता देउवालाई उद्वृत गर्दै डा. महतले भने, ‘सभापतिजीले सहयोग गर्न भनेपछि मैले पनि गर्छु भनेँ ।’
स्रोतका अनुसार देउवाले सभापति कोइरालालाई प्रधानमन्त्रीमा सहयोग गरेबापत पार्टीमा आफ्नो बर्चस्व बढाउन चाहेका छन् । ‘देउवाजीले पार्टी कब्जाको नीति लिनुभएको छ,’ स्रोतले दाबी गर्‍यो । अर्कोतिर एमाओवादीले कांग्रेसलाई कुनै हालतमा प्रधानमन्त्री नछाड्ने बुझेर देउवाले प्रधानमन्त्रीमा दाबी छाडेर पार्टी ताकेको हुन सक्ने स्रोतको भनाइ छ । ‘यसपटक पनि कांग्रेसले सरकारको नेतृत्व पाउने झिनो आशा मात्रै रहेकाले देउवाले छाडिदिएका हुन्,’ एक केन्द्रीय सदस्यले जानकारी दिए ।
देउवा समूहले प्रधानमन्त्रीमा कोइरालालाई सहयोग गरेको देखाएर पार्टीमा आफ्नो बर्चस्व बनाउने दाउमा लागेको स्वयं संस्थापन पक्षकै आरोप छ । बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँडलगायत झन्डै दुई दर्जन नेताहरूकोसहभागिता रहेको थियो ।

मलाई सहयोग गर्नुस् : कोइराला
उता, सभापति कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्डसँग सहमतीय सरकारमा सहयोग गर्न आग्रह गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा कोइरालाले कांग्रेसलाई सहमतिको सरकारमा सहयोग गर्न भनेका हुन् । जवाफमा अध्यक्ष दाहालले पहिला नयाँ संविधानका बाँकी विषयलाई टुंग्याएपछि मात्रै कांग्रेसलाई नेतृत्व दिन सकिने जवाफ दिए ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेसलाई सरकार बनाउन सहयोग गर्न एमाओवादीसँग आग्रह गरेको बताए । ‘सरकार बनाउन कांग्रेसका तर्फबाट प्रस्ताव गरेको छु,’ उनले भने । सभापति कोइरालाले वैशाख २१ गतेको पाँचबँुदे सहमतिअनुसार पनि कांग्रेसलाई निर्वाचनका लागि सहमतीय सरकारको नेतृत्व दिनुपर्ने दाबी प्रस्तुत गरेका थिए ।
जवाफमा अध्यक्ष दाहालले पाँचबुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पहिला संविधानका विषयमा टुंगो लगाउन भनेका छन् । उनले कांग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने आश्वासन दिए । यद्यपि, कोइरालाले दाहालसँगको भेटमा आफू अझै पनि आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
यसअघि, सभापति कोइरालाले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसँग पनि भेटेर कांग्रेसलाई सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा गच्छदारले कांग्रेस नेतृत्वका लागि आफू सकारात्मक रहेको भन्दै तत्काल सार्वजनिक रूपमा केही भन्न नसक्ने बताए । उनले कांग्रेसलाई सहमतीय सरकारको तयारी गर्नसमेत सुझाव दिए ।

राष्ट्रपतिले समयसीमा थप्ने
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार बनाउन दिएको समयसीमा बिहीबार बेलुका चार बजे समाप्त हुँदै छ । तर, सो समयसीमाभित्र दलहरूबीच सहमति नबन्ने निश्चितप्राय: छ ।
बिहीबार पनि दलहरूले सहमतीय सरकारको दाबी प्रस्तुत गर्न नसके राष्ट्रपति कार्यालयले समयसीमा बढाउने स्रोतले बतायो । दलहरूका बीच सहमतिको कुनै लक्षण देखिएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मंगलबार राष्ट्रपतिलाई भेटेर समयसीमा थप्न आग्रह गरेका छन् ।

प्रतिक्रिया