तीन महिनामै १ खर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं, १३ मंसिर । आयातमा भएको उच्च वृद्धि एवं अमेरिकी डलरको विनिमयमा भएको उच्च वृद्धिले गर्दा चालु वर्षको पहिलो तीन महिनाको व्यापार घाटा बढेर १ खर्ब १५ अर्ब ७५ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो वर्षका तुलनामा ४० दशमलव ८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष व्यापार घाटा ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीका अनुसार अमेरिकी डलर बलियो भएर आयातमा उच्च वृद्धि भएका कारण नेपालको व्यापार घाटामा उच्च वृद्धि भएको हो । अघिल्लो वर्ष नेपालको व्यापार घाटा वृद्धि दर ७ दशमलव ६ प्रतिशत मात्र थियो । नेपालले तीन महिनामा २० अर्ब ७३ करोड रुपियाँको सामान निर्यात गरेको छ भने १ खर्ब ३६ अर्ब ४८ करोड रुपियाँको सामान आयात गरेको छ । कुल आयातमध्ये पेट्रोलियम पदार्थ मात्रै २३ अर्ब ७० करोड २७ लाख रुपियाँको तीन महिनामा आयात भएको छ । त्यस्तै सवारीसाधन र त्यसका पाटपुर्जा ६ अर्ब ७० करोड ९४ लाख रुपियाँ र सुन सात अर्ब ६ करोड ६६ लाख रुपियाँको आयात भएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको १२ दशमलव ९ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ६ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिको शून्य दशमलव ६ प्रतिशतले बढेका तुलनामा समीक्षा अवधिमा ३१ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको शून्य दशमलव ५ प्रतिशत ह्रासविपरीत समीक्षा अवधिमा ११ दशमलव २ प्रतिशले वृद्धि भई अमेरिकी डलर नौ करोड ६७ लाख पुगेको छ । भारततर्फ मुख्यतया: जिआई पाइप, जुटको बोरा, पोलिस्टर धागो, लत्ताकपडा र जुसको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ३६ दशमलव १ प्रतिशतले बढेको छ । भारत तथा अन्य मुलुक दुवैतर्फको आयात उल्लेख्य दरले बढोका कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षका तुलनामा समीक्षा अवधिमा उच्च रहन गएको
हो । मासिक रूपमा हेर्दा असोज महिनामा कुल वस्तु आयात भदौ महिनाको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३६ प्रतिशतको उच्च दरले बढेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २१ दशमलव ९ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३६ दशमलव ३ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको २१ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १५ दशमलव ५ प्रतिशले वृद्धि भई अमेरिकी डलर ५६ करोड ६८ लाख पुगेको छ । भारतबाट मुख्यतया: पेट्रोलियम पदार्थ, एमएस बिलेट, रासायनिक मल, सिमेन्ट र धान/चामल लगायत आयात बढेको कारण त्यसतर्फ आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी पाइप तथा पाइप फिटिङ, दूरसञ्चारका उपकरण, सुन, तयारी पोसाक र खाने तेललगायत आयात बढेका कारण त्यसतर्फको आयात बढेको हो । आयातको वृद्धिदर उच्च रहेको कारण निर्यात–आयात अनुपात समीक्षा अवधिमा १५ दशमलव २ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १८ प्रतिशत थियो ।
गत आर्थिक वर्षभरि उच्च शोधनान्तर बचतको अवस्थामा रहेको नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षको सुरुसँगै बचतमा क्रमिक र्‍हास आएको छ । उच्च आयातमा वृद्धिसँगै भएको व्यापार घाटाको विस्तारले शोधनान्तर बचत पनि विस्तारै पातलिँदै गएको छ । तीन महिनाको राष्ट्र बंैंकको तथ्यांकअनुसार शोधनान्तर बचत ३५ करोड रुपियाँमा सीमित रहन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वचत ३३ अर्ब ६६ करोड रहेको थियो । खासगरी वस्तु तथा सेवा आयातमा भएको उच्च वृद्धिका कारण तीन महिनामा चालु खाता दुई अर्ब ९४ करोडले घाटामा देखिएको छ । अमेरिकी डलरमा समीक्षाअवधिमा शोधनान्तर बचत २१ लाख डलर र चालु खाता घाटा तीन करोड ४३ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ४४ करोड ७१ लाख डलर र चालु खाता बचत १७ करोड ८८ लाख डलर रहेको थियो । गत आवमा नाफामा देखिन थालेको खुद सेवा आयात चालु आवको पहिला तीन महिनामा भने दुई अर्ब ४७ करोडले घाटामा गएको छ । त्यस्तै, खुद ट्रान्सफर आय भने साढे २५ प्रतिशतले वृद्धि हासिल गरी एक खर्ब १० अर्ब ४२ करोड रुपियाँ पुगेको छ भने नेपाल भित्रिने विप्रेषण अघिल्लो वर्षका तुलनामा २८ दशमलव ८ प्रतिशतले बढेर ९७ अर्ब ७२ करोड रुपियाँ पुगेको छ ।
उच्च आयातमा भएको वृद्धिसँगै नेपालको विदेशी विनिमय सञ्चितिमा पनि र्‍हास आएको छ । ०६९ असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ०६९ असार मसान्तको ४३९ अर्ब ४६ करोडको तुलनामा २ दशमलव २ प्रतिशतले ह्रास भई ४२९ अर्ब ९५ करोड पुगेको छ । ०६८ असोज मसान्तमा यस्तो सञ्चिति ०६८ असार मसान्तका तुलनामा १९ दशमलव ४ प्रतिशतले बढेर तीन सय २४ अर्ब ९७ करोड रुपियाँ रहेको थियो । विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ९ दशमलव सात महिनाको वस्तु आयात र ८ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
चालु आवको पहिलो तीन महिनामा मूल्य वृद्धि साढे १० प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा ८ दशमलव ९ प्रतिशतमा रहेको मूल्य वृद्धि चालु आवमा गैरखाद्य तथा सेवा समूहमा भएको वृद्धिसँगै उच्च दरले बढेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि दर ९ दशमलव १ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको वृद्धि दर ११ दशमलव ८ प्रतिशत पुगेको छ । खाद्य वस्तुमध्ये पनि घिउ तथा तेल उपसमूहको मूल्य वृद्धि सबैभन्दा बढी २२ प्रतिशतले भएको थियो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी पहाडमा ११ दशमलव १ प्रतिशत, तराईमा १० दशमलव ८ प्रतिशत र काठमाडौं उपत्यकामा ९ दशमलव ७ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रमा यस्तो मूल्य सूचकांकको वृद्धिदर क्रमश: १० प्रतिशत, ९ दशमलव ३ प्रतिशत र ७ दशमलव ५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया