काठमाडौं प्रतिबद्धतापत्र जारी

काठमाडौं : आप्रवासी कामदारको नैसर्गिक अधिकार संरक्षण र सम्वद्र्धनमा जोड दिँदै काठमाडौं प्रतिबद्धतापत्र जारी भएको छ । सोमबारदेखि सुरु भएको आप्रवासी कामदारहरूको हक–अधिकारसम्बन्धी दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार काठमाडौं प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।
प्रतिबद्धतापत्रमा भनिएको छ– ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८, सबै आप्रवासी कामदार र तिनका परिवारको अधिकार संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९९० आदिलाई आधार मानेर आप्रवासी कामदारको चौतर्फी हितको पक्षमा जोड दिइनुपर्छ ।’
एसिया प्रशान्त क्षेत्रका आप्रवासी कामदारको अधिकार संरक्षण र सम्वद्र्धनका लागि मानव अधिकारसम्बन्धी राष्ट्रिय संस्थाहरूबीच सहकार्य विषयक सम्मलेनमा संयुक्त राष्ट्रसंघ, विभिन्न देशका सरकार एवं मानव अधिकारसम्बन्धी राष्ट्रिय संगठनले अपनाएका नीति, कार्यक्रम र योजनाबारे छलफल भएको थियो । सम्मेलनले बंगलादेशको कपडा कारखानामा हालै भएको आगलागीबाट मजदुरहरूको मृत्यु भएको घटनाबारे शोक प्रस्तावसमेत पारित गरेको छ । शोक प्रस्तावमा घाइतेहरूको उचित औषधोपचार र मृत्यु भएका व्यक्तिहरूको परिवारजनलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि बंगलादेश सरकारसँग आग्रह गरेको छ ।(सौस)

प्रतिक्रिया