बढ्यो लोडसेडिङ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बुधबारदेखि लागू हुने गरी लोडसेडिङ बढाएको छ । साताको ४६ घन्टा लोडसेडिङ हुँदै आएकामा बढाएर ५६ घन्टा पुर्‍याइएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले जानकारी दिए । उनका अनुसार हिउँदसँगै विद्युत्को उत्पादन घट्दै गएपछि लोडसेडिङ बढाइएको हो । अब प्रत्येकदिन आठ घन्टा लोडसेडिङ हुनेछ ।
अहिले करिब एक हजार मेगावाटको हाराहारीमा माग रहेकामा ३७० मेगावाट उत्पादित जलविद्युत्मार्फत हुँदै आएको छ भने भारतबाट ८० मेगावाट विद्युत् आयात हुने गरेको छ । टनकपुरबाट नेपाल आयात हुँदै आएको लाइन मर्मतका लागि बन्द गरिएपछि अहिले ३० मेगावाट विद्युत् केही दिनदेखि बन्द छ । ऊर्जामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० घन्टामा लोडसेडिङ झार्नका लागि निर्देशन दिए पनि आगामी हिउँदमा १९ घन्टा लोडसेडिङ प्रक्षेपणा गरिएकामा कुलेखानी जलाशययुक्त आयोजना भरिएको कारणले १७ घन्टासम्म हुने अनुमान गरिएको छ । भारतबाट दुई मेगावाट विद्युत् ल्याउनका लागि भारतीय सरकार प्रमुखसँग प्रम भट्टराईले आग्रह गरे पनि अहिलेसम्म त्यसका लागि ठोस पहल भएको छैन । (सौस)

 

प्रतिक्रिया