कमाएको पैसा रक्सीमा सकिएपछि साथीको हत्या

नेपालगन्ज, १३ मंसिर । कमाएको पैसा मादकपदार्थ सेवन गरेर सिध्याएपछि रोल्पाका एक युवकले साथीलाई लुटपाट गर्ने क्रममा हत्या गरेका छन् ।
पाङ–९ का २१ वर्षीय चन्द्र विकले सुर्खेत सहारे–६ का राजु विकको नेपालगन्जस्थित एक होटलमा हत्या गरेर ३० हजार रुपियाँ लुटेका हुन् । साथीको हत्या गरी दुई सातादेखि फरार चन्द्रलाई जिल्ला प्रहरी कार्यालय बाँकेले दाङको लालमटियाबाट मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तले पैसाका लागि साथीको हत्या गरेको स्वीकार गरेका छन् ।
एक वर्षदेखि भारतको हिमाञ्चल प्रदेशमा सँगै काम गर्दै आएका दुवै जना तिहार मनाउन २२ कात्तिकमा नेपालगन्ज आएका थिए । उनीहरू सँगै चारजना नेपालगन्जको बसपार्कस्थित पुस्कर बस्नेतले सञ्चालन गरेको रुकुमेली चाक्लाघाट होटलको कोठा नम्बर ५ मा बसेका थिए । भोलिपल्ट दाहिने आँखामाथि काटिएको, मुखमा पहेँलो रंगको कपडा कोचिएको र जुत्ताको सेतो लेसले घाँटी कसेर हत्या गरेको अवस्थामा राजुको शव फेला परेको थियो । घटना भएको धेरै दिनसम्म शवको पहिचान हुनसकेको थिएन ।
प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त चन्द्रले भारतबाट घर फर्किंदा छ हजार रुपियाँ लिएर आएका थिए । पैसा नेपालगन्ज होटलमा बसेर मादकपदार्थ र मासु खाएर सिध्याएका थिए । ‘राजुसँग पैसा भएको कुरा चन्द्रलाई पहिल्यै थाहा रहेछ, पैसाका लागि उसले हत्या योजना बनाएको पाइयो,’ घटनाका मुख्य अनुसन्धान अधिकृत शिवबहादुर सिंहले भने ।
हत्या भएका दिन दुवै मिलेर रक्सी पिएका थिए । त्यसको केहीबेरपछि कोठाबाट बाहिरिएका चन्द्रले पहेँलो रंगको टाबेलमा ढुंगा लुकाएर ल्याएका थिए । ‘त्यही ढुंगाले हानेर बेहोस बनाएपछि पहेँलो रंगको कपडाले मुख बेरेको र जुत्ताको लेस फुकाई लेसले घाँटी कसेको पाइयो,’ सिंहले भने ।
प्रहरीका अनुसार चन्द्रले राजुको हत्या गरेपछि उनको साथमा रहेको ३० हजार र दुईवटा सिम लिएर गएका थिए । चन्द्र पक्राउ पर्दा प्रहरीले उनको साथबाट राजुले प्रयोग गर्ने ९८१२८०८३१३ र ९७४७०९८१४३ नम्बरको सिम बरामद गरेको थियो ।
होटलको रजिस्ट्ररमा मृतकलगायत सँगै रहेका अन्य व्यक्तिको नाम इन्ट्री नभएको र मृतकलगायत अन्य व्यक्तिको सनाखत नहुँदा अनुसन्धान गर्न प्रहरीलाई निकै कठिन भएको थियो । अनुसन्धान अधिकृत सिंहका अनुसार हत्याको घटना अनुसन्धान गर्न बाँके प्रहरीको एक टोली दाङ, कपिलवस्तु, नवलपरासी, प्युठान र रोल्पासम्म पुगेको थियो । प्रहरीले मृतकसँग कोको आएका थिए भन्ने कुराको पहिलो अनुसन्धान गरेको थियो । त्यस क्रममा २५ कात्तिकमा मृतकका भाइ दलबहादुर विकले शवको सनाखत गरेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको थियो ।
‘शवको सनाखत भएपछि मृतकसँगै नेपालमा फर्किएका अन्य व्यक्तिको फोटो संकलन गर्ने कार्य भयो,’ इन्स्पेक्टर सिंहले भने, ‘अनुसन्धान टोली शंकास्पद व्यक्तिको खोजीका लागि दाङदेखि प्युठानसम्म पुग्यो ।’ अनुसन्धान टोली प्युठान जिल्लाको देवीस्थान भन्ने ठाउँमा पुगेपछि एक महिलाले चन्द्रको फोटो पहिचान गरेकी थिइन् ।
अनुसन्धानका क्रममा चन्द्र रोल्पामा नभएको र उनी दाङ भालुवाङस्थित दाजुको घरमा बस्दै आएको खुलेको थियो । मंगलबार प्रहरीले दाङको लालमटियास्थित राप्ती किनारबाट ट्रयाक्टरमा बालुवा ओसार्ने काम गर्दै गरेको अवस्थामा चन्द्रलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चन्द्र र राजुसँगै बस्ने वृद्ध र वृद्धा घटना पहिल्यै आफ्नो घर सल्यानतिर गइसकेका थिए । अभियुक्तले सञ्चारकर्मीसँग भने, ‘आफूले कमाएको पैसा रक्सी खाएर सिध्याएँ । साथीलाई मारेर भए पनि घरमा पैसा लैजान यस्तो काम गरेँ ।’

प्रतिक्रिया