खोजखबर

भाइ भन्दाभन्दै लभ पर्‍यो

सौर्य अनलाइन २०६९ मंसिर १२ गते ३:०७ मा प्रकाशित

नेपाली खेलकुदमा त्यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो जीवनसाथी पनि खेलक्षेत्रभित्रबाटै छानेका छन् । कास्कीकी कराते खेलाडी तारा गुरुङले पनि धनकुटाका कराते खेलाडी कुशल श्रेष्ठसँग आफ्नो जोडी बाँधिएला भन्ने सायदै सोचेकी हुँदी हुन् कुनै बेला । कराते प्रतियोगिताकै क्रममा एकअर्कालाई भेटेपछि दोस्ती, आकर्षण, प्रेम हुँदै अहिले सुखद दाम्पत्यसम्म पुगेको छ, यो कराते जोडी । ९ वर्षअघि बिहेबन्धनमा बाँधिएको यो जोडीकी एक छोरी छिन् अहिले । दुवै जना पूरै समय खेलक्षेत्रमै समर्पित गरिरहेछन् । दुवै जना एकै क्षेत्रमा रहेका कारण परिवारिक माहोलै खेलकुदमय लाग्ने गरेको तारा बताउँछिन् । उनी सम्झँदै छिन्, कुशलसँगको प्रेम अनि विवाहसम्मको यात्रा :

सधैँझैँ त्यस दिन पनि हामी रंगशालाबाट ट्रेनिङ सकेर घरतिर जाँदै थियौँ । रात परिसकेको थियो । उहाँलाई के लागेछ कुन्नि † मलाई सोध्नुभयो, ‘तिमीलाई म कस्तो लाग्छु ?’ सामान्यतया उडाएर बोल्ने बानी मेरो, भनिदिएँ– दाजुभाइ अनि साथीजस्तो † उहाँ त रिसले मुर्मुरिन थाल्नुभयो । म पनि के भन्नुहुँदो रहेछ भनेर कुरिरहेँ । पाँच मिनेटसम्म केही नबोली हिँडिरह्यौँ । पछि फेरि मैले सोधेँ– मचाहिँ तपाईंलाई कस्ती लाग्छु नि ? उहाँले त सिधै पो भन्नुभयो– गर्लफ्रेन्डजस्तो । म फेरि नि उहाँको कुरालाई हाँसोमा उडाएजस्तो गर्न थालेँ । भन्नुभयो– सिरियस बन्न सिक । केही समयपछि मैले पनि सिरियस्ली भनिदिएँ– म पनि तपाईंलाई मन पराउँछु ।
०००
०५६ सालतिर हो, उहाँलाई मैले पहिलोचोटि देखेको । क्राउन प्रिन्स कप खेल्न काठमाडौँ आएकी थिएँ । १७/१८ वर्षकी थिएँ । प्रतियोगिताका लागि विभिन्न क्षेत्रबाट खेलाडी आएका थिए । उहाँ कोसीको प्रतिनिधिका रूपमा हुनुहुन्थ्यो भने म गण्डकीको । हामीलाई राखिएको होटल पनि नजिकै थियो । उहाँ लजालु, कम बोल्ने स्वभावको हुनुहुन्थ्यो, त्यसैले त्यो बेला धेरै बोलचाल
हुन पाएन ।
पछि, उहाँ लाहुरे बन्न पोखरा आउनुभएछ । कराते खेलाडी नै भएकाले हाम्रो प्रशिक्षण भइरहेको ठाउँमा पनि आउनुभयो । गुरुले त उहाँलाई चिनिहाल्नुभयो । त्यहाँचाहिँ हामीबीच अझ राम्रोसँग परिचय भयो । उहाँसँग लाहुरे बन्न आएका अरू साथी पनि थिए । हामीले केही दिन उहाँहरूलाई पोखरा घुमायौँ । अब हामी साथीचाहिँ बनिसकेका थियौँ ।
एसएलसीपछि थप अध्ययनका लागि म ०५९ सालतिर काठमाडौं आएँ । काठमाडौंमा मेरो अंकल हुुनुहुन्थ्यो । उहाँ डिएसपी हुनुहुन्थ्यो । सन्तान नभएकाले हामीलाई नै सन्तान मान्नुहुन्थ्यो । खेलकुदको रस बसिसकेकाले यहाँ पनि नियमित दशरथ रंगशाला धाउन थालेँ । फेरि काठमाडौंमा साथीसंगी पनि त थिएनन् नि †
उहाँ पनि काठमाडांै आउनुभएको रहेछ । नेसनल टिममा बसेर नियमित प्रशिक्षण गरिरहनुभएको थियो । म पनि बिहान ट्ेरनिङमा पुग्थेँ । बिहान अकबर सरले प्रशिक्षण गराउनुहुन्थ्यो ।
म आँटी र निडर स्वभावकी थिएँ । रमाइलो पनि गर्नुपर्ने । बिहान ट्रयाकमा दौडँदा उहाँलाई म ‘भाइ’ भनेर जिस्क्याउँथेँ । प्राय: बोल्दा भाइ–बहिनी भन्ने मेरो बानी थियो । वास्तवमा त्यति बेलै मलाई उहाँ मायालु र इमानदार लाग्थ्यो । हुँदाहुँदा पछि त बिहानको प्रशिक्षणमा उहाँ सिकिरहेको ठाउँमै गएर जिस्क्याउन थालेँ । मसँग बोल्न केटाहरू झुम्मिन्थे तर ती सबैभन्दा उहाँ अलग हुनुहुन्थ्यो । त्यसैले उहाँलाई जिस्क्याउन मन लाग्थ्यो । सोझो मान्छेलाई जिस्क्याउन मजा पनि आउँदो रहेछ ।
उहाँ भने मलाई देख्नेबित्तिकै रातो न रातो अनुहार पारेर भाग्नुहुन्थ्यो । त्यसपछि झन् जिस्क्याउन मन लाग्थ्यो । पछि एक साथीले भने– ‘कुशल उमेरमा तिमीभन्दा जेठो हो, के भाइ भनेर जिस्क्याएको नि †’ उनले कति धेरै बोलेको, ट्रेनिङतिर ध्यान देऊ भनेर थर्काए । म पनि यस्ता कुरालाई उडाइदिइहाल्थेँ– ‘म गेममा राम्रो खेल्छु, मान्छे पनि राम्री छु नि †’ जे भए नि ती साथीको बोलीको प्रभाव मलाई पर्‍यो । उहाँलाई भाइ भन्नचाहिँ अप्ठ्यारो लाग्यो ।
बेलुकीको ट्रेनिङचाहिँ उहाँले नै गराउनुहुन्थ्यो । एक दिन भन्नुभयो– ‘बिहान मात्र होइन, बेलुकी पनि ट्रेनिङमा आऊ, बेलुका झन् राम्रो हुन्छ ।’ त्यसपछि म बेलुकी पनि जान थालेँ । पब्लिक गाडीमा चढ्ने मेरो बानी थिएन, जहिल्यै झगडा हुन्थ्यो । ट्याक्सीमा जान पनि किडन्याप गरेर कतै पुर्‍याउने हो कि भनेर डर लाग्ने । त्यसैले बेलुकी उहाँले नै मलाई धापासीसम्म पुर्‍याउन थाल्नुभयो । प्राय: राति ९ बजेसम्म सँगै हुन्थ्यौँ । सबैलाई सहयोग गर्ने नेचरको हुनुहुन्छ उहाँ । यही यात्रा एक डेढ महिनासम्म यसरी नै चलिरहयो । यही दौरान हामीलाई एकअर्काको अभाव महसुस हुन थालेछ । साथीहरू सुनाउँथे– तिमी घर गएको बेला त कुशल झोक्राएर पो बस्छ त † मलाई पनि उहाँलाई देखिरहन मन लाग्थ्यो । पोखरा पुग्यो, एक रात कटाउनै मुस्किल । कतिचोटि त बिहान गएर बेलुकी फर्किएकी पनि छु ।
हुँदाहुँदा पछि त हामी हिँडेरै धापासीसम्म जान थाल्यौँ । गाडीको बाटो निकै छोटो लाग्थ्यो, निमेषमै पुगेजस्तो । खासमा म नै हिँडेर जान कर गर्थेँ । बेलुका घर पुग्दा त ९–१० नै बज्थ्यो । खेलाडीहरू विभिन्न कारणले बदनाम हुन पुगेका घटना पनि सुनिन्थे । म ढिला आएकोमा अंकललाई चिन्ता हुँदो रहेछ । एक दिन भन्नुभयो, ‘छोरी किन ढिला आएकी ? छोरी मान्छे त चाँडै घर फर्कनुपर्छ ।’ मलाई त साह्रै रिस पो उठेछ भन्या † किनकि मेरो मनले कुशललाई पराई मान्छेजस्तो मान्दैमान्दैनथ्यो । अंकलको कुरा सुनेर ट्रेनिङमा पनि धेरै दिनसम्म झोक्राएर बसेँ । तर, कसैलाई केही भनिनँ । सबै जना सोध्थे– तिमी किन यति निरास ? उहाँ पनि यही प्रश्न गरिरहनुहुन्थ्यो । तर, म भन्नेवालै थिइनँ । किनकि यो कुरा सुनाए उहाँले मलाई चाँडै घर पुर्‍याइदिनुहुन्थ्यो, जुन म चाहन्नथेँ ।
०००
जे भए पनि आखिर हामी मायाको बन्धनमा बाँधिइसकेका थियौँ । त्यस दिन एकअर्कालाई माया गर्ने कुरा बताइसकेपछि दश बजेतिर हामी छुट्टियौँ, बिहान चाँडै भेट्ने निधोसहित । बिहान बसुन्धरामा भेट भएर हिँड्दै पशुपति मृगस्थली पुग्यौँ । यो नै हाम्रो पहिलो डेटिङ रहयो । घरमा पनि उहाँको फोन आउला भनेर सेटकै छेउमा बस्थेँ । अंकलले थाहा पाएर गाली गर्नुहोला भन्ने डर लाग्थ्यो ।
त्यसपछि भने हाम्रो भेट दिउँसो पनि हुन थाल्यो । म चाँडै ट्ेरनिङ हुन्छ भनेर घरमा ढाँट्थेँ अनि १२ एक बजे नै रंगशाला पुग्थेँ । मेरो पारा देखेर एक दिन अंकलले राति नराम्रोसँग गाली गर्नुभयो । साह्रै नरमाइलो लाग्यो तर केही भनिनँ ।
फेब्रुअरी १३ को राति एउटा पार्टी थियो । उहाँ र म सँगै थियौँ । पार्टी मनाउँदा–मनाउँदै बिहानको तीन–चार बजिहाल्यो । अंकल त्यस्तो कडा हुनुहुन्थ्यो, त्यति बेला घर जाने त कुरै भएन । जेसुकै होस् भनेर उहाँकै रुममा गएर बसेँ । तीन–चार दिनसम्म पनि घर गइनँ डरले, उहाँकै रुममा बसेँ । अस्मिता भन्ने साथीले अंकललाई फोन गरेर कुरा मिलाइदिइछ– अंकल, अब तारा पनि मैसँग बस्छे है † एक दिन अंकल कामले चितवन जानुभएछ । म सुटुक्क घर पुगेर आफ्नो सामान ल्याएँ अनि ढुक्कले उहाँसँगै बस्न थालेँ ।
छोरासँग एउटी केटी पनि बस्छे रे भन्ने उहाँको ममीले थाहा पाउनुभएछ । त्यसपछि हान्निएर धनकुटाबाट यहाँ आइहाल्नुभयो नि † हामीले उहाँलाई सबै कुरा बुझायौँ । उहाँले मलाई मन पराउनुभयो । मलाई थाहा थियो– अन्तरजातीय भएकाले मेरो परिवारले स्विकार्न गाह्रै छ । त्यसैले उहाँको ममीले हामी दुवैलाई धनकुटा नै लिएर जानुभयो । एक हप्तापछि गाउँलेहरूका बीच त्यहीँ हाम्रो बिहे भयो । हामी फेरि काठमाडौं आयौँ, पतिपत्नी बनेर ।
त्यसअघि मैले चुल्होको काम कहिल्यै गरेकी थिइनँ । अब त नगरी सुख पनि कहाँ थियो र ? एकदिन खोइ के कामले हो, उहाँ बाहिर जानुभएको थियो । मैले स्टोभ बाल्ने प्रयास गरेँ तर टाउकै लगेर जोडिछु । आँखीभौँ डढिहाल्यो । उहाँले बिस्तारै थुप्रै कुरा सिकाउँदै लैजानुभएको थियो । एक दिन तरकारीमा नुन र बेसार बराबरी हालिछु । खाँदा त मुखमै हाल्न नसकिने तर पनि उहाँले मिठो मानेर खानुभयो ।
बिहे गरेको कुरा माइतीमा बताएकै थिइनँ । अंकललाई त एक वर्षपछिसम्म पनि म साथीसँगै बस्छु भन्ने थियो । तर, पछि त कसोकसो गरी सबैले थाहा पाइहाले तर पनि बुबाआमाबाहेक परिवारका अरू सदस्यसँग उहाँको भेट पहिल्यै गराइसकेकी थिएँ । त्यसैले पनि पछि सोचेभन्दा सजिलो भयो । अहिले त सबैले स्विकारिसक्नुभयो ।
बिहेपछि पनि उहाँको पछि महिला खेलाडीहरू झुम्मिन्थे । उहाँलाई तान्न आइपुग्थे । मलाई खुब रिस उठ्थ्यो । ती केटीहरू अहिले त मेरो छेउ नै पर्दैनन् । बिहेपछि उहाँका बारेमा थुप्रै नचाहिँदा कुरा पनि सुनाए मलाई । कतिले उहाँको त पहिल्यै बिहे भइसकेको छ भनेर पनि तर्साए । मेरा बारेमा पनि उहाँलाई भड्काउन खोज्दा रहेछन्– यस्ती हाउडेसँग नि के बिहे गरेको भनेर । हाम्रो सम्बन्धलाई लिएर नकारात्मक कुरा गर्ने र भाँड्न खोज्ने थुप्रै हुन्थे । तर, हामी अरूको कुराका पछाडि कहिल्यै लागेनौँ, एकअर्कालाई विश्वास गर्‍यौँ । यो सम्बन्ध हाम्रा लागि लकी पो साबित भयो खासमा । उहाँले साफमा स्वर्ण पदक जित्नुभयो । अरू अवसर पनि हात लाग्दै गए ।
विवाहको एक वर्षपछि छोरी जन्मिई । दुवै जना मिलेर हुर्कायौँ । विशेष अवस्थाबाहेक चौबीसै घन्टा साथ हुन्छौँ हामी अहिले पनि । पतिपत्नीबीच यसो कहिलेकाहीँ सामान्य डिसकस पनि चल्छ । गल्ती आफैँले गरे पनि म झगडा गरेपछि बोल्दिनँ । उहाँ नै फकाउनुहुन्छ । मैले गल्ती गरे पनि उहाँ त्यसलाई सहीजस्तो बनाइदिनुहुन्छ । उहाँको त्यस्तो व्यवहार देखेपछि मलाई आफ्नो गल्तीमा लाज लाग्न थाल्छ ।
प्रस्तुति : लोकेन्द्र प्रसाईं

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय