‘राष्ट्रपतिको कदम राजाको झल्को’

हेटौंडा, ११ मंसिर । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पछिल्लो कदम पछि राष्ट्राध्यक्षले पूर्व राजाहरुको झल्को दिएको टिप्पणी गरेका छन् ।
हेटौंडामा आज क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्राध्यक्षले संविधानको मर्म विपरीत सहमतीय सरकारको आह्वान गरेको आरोप लगाए ।
‘राष्ट्राध्यक्षको अपील र प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रको मर्म बुझ्दा पूर्व राजा ज्ञानेन्द्रको झल्को आउँछ,’ उनले भने, ‘राष्ट्रपतिको कदम संविधान विपरीत छ ।’
‘व्यक्तिगत आरोप नलगाउ भन्दै विज्ञापनको शैलीमा मंसिर–१४ गते ४ बजेको समयसीमा तोकेर पठाएको पत्रले पूर्व राजाको झल्को आएको छ,’ उनले भने ।
एमाओवादीका नेता समेत रहेका पौडेलले राष्ट्रपतिको असंवैधानिक कदमले गर्दा राजनीतिक दलहरुका बीच मुठभेडकोस्थिति श्रृजना भएको उल्लेख गरे ।
‘पछिल्लो समय राष्ट्रपति आफ्नो बिबेकमा भन्दा पनि अरुको सल्लाह र उस्काहटमा चलेका छन् ।’
उनले राष्ट्रपतिका गलत क्रियाकलाप विरुद्ध पार्टी निर्णय अनुरुप जिल्ला तहका पार्टी कार्यालयमा नाराजुलुस गर्न पत्राचार भईसकेको बताए ।
उनले कांग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा अझै सहमति भईनसकेको बताए ।

प्रतिक्रिया