एमाओवादीले राष्ट्रपतिको समय–सीमा नमान्ने

काठमाडौं, ११ मंसिर । एमाओवादीले राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको समय–सीमालाई मान्यता नदिने भएको छ । राष्ट्रपतिको आह्वानका आधारमा नभई पार्टीको आºनै तयारीमा दलहरूबीच
सहमति जुटाउन पहल गर्ने एमाओवादीले जनाएको छ ।
राष्ट्रपतिको कदमविरुद्ध जनवर्गीय संगठनहरूले आइतबार विभिन्न स्थानमा विरोध प्रदर्शन गरे पनि थप आन्दोलन गरेर स्थितिलाई उत्तेजनात्मक बनाउने पक्षमा नभएको समेत एमाओवादी नेताहरूले बताएका छन् । ‘पार्टी र सरकारले राष्ट्रपतिको कदमलाई अवैधानिक भनिसकेको छ त्यसैले अब धेरै उत्तेजना सिर्जना गर्ने पक्षमा छैनौँ,’ एमाओवादी नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सौर्यसँग भने, ‘दलहरूबीच सहमतिका लागि हामी आºनै तरिकाले पहल जारी राख्छौँ ।’ राष्ट्रपतिले थप कदम नचाल्ने विश्वास दिलाएकाले थप विरोध र आन्दोलनको आवश्यकता नभएको तर असंवैधानिक कदम भएकाले राष्ट्रपतिको आह्वानलाई मान्यता दिने पक्षमा पनि एमाओवादी र सरकार नभएको पौडेलको भनाइ थियो ।
‘राष्ट्रपतिसँग कुराकानी भएको छ, उहाँले थप कदम नचाल्ने विश्वास दिलाउनुभएकाले त्यसबारे केही सोचेका छैनौँ,’ नेता पौडेलले भने, ‘राष्ट्रपति थप अघि बढे त सबै प्रक्रिया अवरुद्ध हुन्छ ।’ एमाओवादीले ‘पर्ख र हेर’को रणनीतिसमेत तय गरेको छ ।
राष्ट्रपतिले थप कदम नचाले आºनै सक्रियतामा दलहरूबीच सहमति निर्माणका लागि प्रयत्न गर्ने तर राष्ट्रपति अघि बढ्ने संकेत पाए त्यहीअनुसार आन्दोलनको तयारी गर्ने एमाओवादी स्रोतले बतायो । एमाओवादीले राष्ट्रपतिको सम्भावित योजनाबारे आन्तरिक छलफल गरिरहेको समेत बुझिएको छ । सुरुमा राष्ट्रपतिको विज्ञप्ति आउनेबित्तिकै केही नेताले त्यसलाई सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएपछि एमाओवादीले औपचारिक रूपमै राष्ट्रपतिको कदमको विरोध गर्‍यो । आइतबार विभिन्न जनवर्गीय संगठनले विरोध प्रदर्शनसमेत गरेका थिए ।
केही समयअघि एमाओवादीका केही नेताले ‘राष्ट्रपतिको ‘कु’ गर्ने योजना’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै भारत र सेनाको साथ नपाएपछि राष्ट्रपति तत्कालका लागि ‘ब्याक’ भएको पनि एमाओवादीकै नेताहरूले बताउने गरेका थिए । अहिले पनि एमाओवादीले आन्तरिक रूपमा राष्ट्रपतिको योजनाबारे विश्लेषण गरिरहेको बुझिएको छ । तर, अहिलेसम्म राष्ट्रपतिले ‘अप्रिय’ निर्णय गर्ने योजना नबनाएको उनीहरूको विश्लेषण छ ।
‘केही क्रिया भएपछि मात्रै प्रतिक्रिया जनाउने कुरा हुन्छ,’ एक माओवादीले नेताले भने, ‘अहिले नै त्यस्तो (राष्ट्रपतिको थप कदम) सूचना पाएका छैनाँै, हामी छलफलमै छौँ ।’

प्रतिक्रिया