सिनर्जी फाइनान्सले एकीकृत कारोबार थाल्ने

काठमाडौं, ११ मंसिर । तीनवटा वित्तीय संस्था एकआपसमा मर्ज भएर बनेको सिनर्जी फाइनान्सले आगामी बिहीबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । एल्पिक एभरेस्ट फाइनान्स, बुटवल फाइनान्स र सिएमबी फाइनान्सबीच एक आपसमा मर्ज भएर सिनर्जी फाइनान्स बनेको हो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले तीनवटा फाइनान्स कम्पनीलाई एक आपसमा मर्ज हुन गत कात्तिक २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपालको बैंकिङ इतिहासमा तीनवटा फाइनान्स कम्पनी मर्ज भएर एउटै फाइनान्स कम्पनी भएको यो पहिलो घटना हो । यसअघि ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युसन र लर्ड बुद्ध फाइनान्स मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा एकीकृत कारोबार सुरु गरिसकेको छ ।
मर्जरपछि संस्थाको चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपियाँ पुग्ने र १४ वटा शाखासहित सञ्चालनमा आउने नेपाल वित्त कम्पनी संघका अध्यक्ष एवं सिएमबी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान शाक्यले बताए । संस्थाको हाल ६ वटा एटिएम रहेको छ । फाइनान्सका शाखा ६ जिल्लामा छरिएर रहेका छन् । ०७० सालको असारमसान्तसम्म फाइनान्स कम्पनीको चुक्ता पुँजी २० करोड पुर्‍याउनुपर्ने बाध्यता र नेपाल राष्ट्र बैंकको मर्जर नीतिका कारण मर्जर सफल भएको उनले जानकारी दिए ।
नयाँ एकीकृत फाइनान्स कम्पनीमा सिएमबी फाइनान्सका सेयरधनीले एक सय कित्ता सेयरको ८८ कित्ता, एल्पिक फाइनान्सको एक सय कित्ताको एक सय १० कित्ता र बुटवल फाइन्सयका एक सय कित्ता सेयरधनीले एक सय कित्ता सेयर पाउने कम्पनी स्रोतले बतायो । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सिएमबी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान शाक्य र सञ्चालक समिति अध्यक्षमा एल्पिक एभरस्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामशान्त श्रेष्ठलाई छनोट गरिएको छ ।
नयाँ सिनर्जी फाइनान्सको सञ्चालक समिति नौ सदस्यीय रहेको छ । उक्त सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट बुटवल फाइनान्सका तीनवटा, एल्पिक एभरेस्ट र सिएमबी फाइनान्सका एक/एक, तीन फाइनान्सका सर्वसाधारण सेयरधनीका तर्फबाट १/१ गरी तीन जना र एक व्यावसायिक सञ्चालक गरी कुल नौ सदस्यीय बनाइएको छ । संस्थाको निकट भविष्यमा हुने पहिलो साधारणसभाले नयाँ सञ्चालक समिति सदस्यको चयन गरिने छ ।
नयाँ संस्थामा कुल एक सय ५० कर्मचारी रहेका छन् । संस्थाका सम्पूर्ण कर्मचारी एवं अन्य सरोकारवालाको सहयोग, समझदराी र सदायताका कारण नै मर्ज सफल भएको सिएमबी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । शाखा नजिक रहेको अवस्थामा शाखा स्थानान्तरण गर्ने कम्पनीको नीति रहे पनि कर्मचारी कटौती गर्ने कुनै नीति नरहेको उनले जानकारी दिए । काठमाडौंको जमल र पोखरामा फाइनान्स कम्पनीका शाखा एकै स्थानमा रहेकाले भविष्यमा तिनलाई केही पर सारिने नीति रहेको उनले बताए । संस्थाको उपस्थिति पूर्वमा एकदमै कमजोर रहेकाले सम्भवत इटहरी, दमक, झापा, बिर्तामोडमध्ये एक ठाउँमा शाखा खोल्ने त्यस्तै काठमाडौं उपत्यकाभित्र पनि ललितपुर र भक्तपुरमा नयाँ शाखा खोल्ने योजना रहेको उनले बताए ।
मर्जरपछि संस्थाको कुल निक्षेप दुई अर्ब ५५ करोड, कर्जा प्रवाह दुई अर्ब १५ करोड र सञ्चित कोष पाँच करोड ५० लाख रुपियाँ रहनेछ भने कम्पनीको सेवाग्राहीको संख्या करिब १० हजार नाघ्ने छ ।
मर्जरअघि एल्पिक फाइनान्स कम्पनीको ११ लाख ५४ हजार दुई सय कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत थियो भने सेयर कारोबार बन्द गर्नुअघि कम्पनीको सेयर मूल्य एक सय ५४ रुपियाँ थियो । त्यस्तै बुटवल फाइनानस कम्पनीको २० लाख ८९ हजार नौ सय कित्ता सेयर सूचीकृत भएका छन् भने कम्पनीको कारोबार बन्द हुँदा ८० रुपियाँमा सेयर कारोबार भइरहेको थियो । त्यस्तै सिएमबी फाइनान्सको १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ भने कारोबार बन्द हुँदा कम्पनीको सेयर एक सय दुई रुपियाँमा कारोबार भइरहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार सिएमबी फाइनान्सले २१ लाख ५१ हजार रुपियाँ खुद मुनाफा गरेको छ । संस्थाको खराब कर्जा १० दशमलव ३९ प्रतिशत रहेको छ । बुटवल फाइनान्सको चालु आवको पहिलो त्रैमासिकमा एक करोड ४१ लाख ५० हजार रुपियाँ खुद नोक्सान व्यहोरेका छन् भने खराब कर्जा २ दशमलव १७ प्रतिशत मात्र रहेको छ । एल्पिक एभरेस्टले भने पहिलो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेको छैन ।
पछिल्लो समय वाणिज्य बैंक र विकास बंैंकहरूले तरलतामा बढी भएपछि ब्याज दर घटाएर कर्जा प्रवाह गर्न थालेपछि त्यसको मार प्रत्यक्ष रूपमा फाइनान्स कम्पनीले व्यहोर्न थालेका छन् । विगत वर्षमा संस्थागत सुशासनको अभावका कारण धेरै वित्तीय संस्थालाई राष्ट्र बंैकले कारबाही गर्नु एवं वाणिज्य बैंकको तुलनामा महँगोमा निक्षेप संकलन गर्नुपर्ने हुँदा फाइनान्स कम्पनीले सस्तोमा ऋण प्रवाह गर्न सक्दैनन् ।

प्रतिक्रिया