नबिल बैंकको ‘ई–सेक्योर’ सेवा सुरु

काठमाडौं : नबिल बैंकले इन्टरनेटबाट अनलाइन किनमेल सुविधा दिने ‘ई–सेक्योर’ सुरु गरेको छ । नबिल बैंकबाट मास्टरकार्ड र भिसा कार्ड लिएका ग्राहकले अब इन्टरनेटमा उपलब्ध बस्तु तथा सेवा घरै बसीबसी चाहेका बेला खरिद गर्न सक्नेछन् ।
‘नेपालमा पहिलोपटक कार्ड सेवा सुरु गरेको नबिल इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई विश्वभर खरिद अवसर प्रदान गर्ने पनि पहिलो बैंक बनेको छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले भने ।
बैंकका डलर खाता भएका ग्राहकले आफ्नो कार्डमार्फत डलरमै र नेपालीमा खाता भएका ग्राहकले भारु र नेरुमा पैसा भुक्तानी गर्न मिल्ने वेबसाइटमार्फत वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यो कारोबारको प्रत्यक्ष नियमन थ्रिडी प्रणालीमा आधारित भएर ‘एक्सेस कन्ट्रोल सर्भर’मार्फत भिसा र मास्टरकार्डले गर्ने भएकाले कुनै जोखिम नरहेको बैंकले बताएको छ ।
यो सेवा लिन कार्डधनीले बैंकको वेबसाइटमा गएर रजिस्टर गर्नु पर्नेछ । रजिस्टरको ५० र वार्षिक शुल्क १०० रुपियाँ लाग्ने यो सेवामार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्यको शून्य दशमलव ५ प्रतिशत वा ५० रुपियाँमध्ये जुन धेरै हुन्छ त्यति कमिसनसमेत लाग्नेछ बैंकले जनाएको छ । बजारसम्म पुगिरहने समय र यातायात खर्च बचत हुने तथा अनलाइन खरिद गर्नेलाई बिक्रेताले समेत विभिन्न छुट दिने भएकाले ग्राहकलाई फाइदा हुने बैंकले जनाएको छ । (सौस)

प्रतिक्रिया