२४ दिनपछि खुल्यो चरक अस्पताल

पोखरा : सेवासुविधा वृद्धिको मागसहित कर्मचारी आन्दोलनमा उत्रिएपछि तीन साताभन्दा बढी समय ठप्प रहेको पोखराको चरक अस्पतालका सम्पूर्ण सेवा सुचारु भएको छ ।
अस्पताल व्यवस्थापन पक्षसँग शनिबार राति भएको वार्ता सहमतिमा टुंगिएपछि आन्दोलनरत कर्मचारी आइतबारदेखि काममा फर्किएका छन् । व्यवस्थापनले १४ मंसिरभित्र कर्मचारीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू काममा फर्किएका हुन् । ‘१४ गते मिलाउँछौँ भनेकाले हामी वातावरण सहज बनाउन काममा फर्किएका छौँ,’ एकीकृत माओवादीनिकट अखिल नेपाल स्वास्थ्य श्रमिक संघ चरक अस्पतालका अध्यक्ष बाबुराम जिसीले भने ।
यसअघि अस्पताल व्यवस्थापनले सञ्चित नोक्सानी २१ करोड रुपियाँ रहेको जनाउँदै सेवासुविधा बढाउन नसक्ने बताएको थियो । दुई वर्षअघि शिक्षण अस्पताल सञ्चालनमा आएपछि अस्पताल घाटामा गएको अस्पतालका वित्त नियन्त्रक दीपेन्द्र पोखरेलले जानकारी दिएका थिए । कर्मचारीको ५० प्रतिशत तलब वृद्धि, रात्रिकालीन भत्तालगायत २३ सूत्रीय माग राखेर १७ कात्तिकदेखि कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेक अन्य सेवा ठप्प भएका थिए । जसबाट दैनिक तीन सयभन्दा बढी बिरामी प्रभावित भएका थिए । (सौस)

प्रतिक्रिया