‘सहकारीमार्फत उद्यमशीलताको विकास’

काठमाडौं, १० मंसिर । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रही सहकारी संस्था उद्यमशीलता विकासतर्फ लाग्नुपर्ने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । सहकारी उत्पादन र बजार व्यवस्थापनतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । सहकारी माध्यमबाट कृषि क्रान्ति सम्भव रहेको र दश वर्षभित्र ८० प्रतिशत जनता सहकारीमा आबद्ध गराउनु पर्ने बताए ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् । गरिब, उत्पीडित जनता आर्थिक उन्नतिका लागि सहकारीतर्फ आकर्षित भएको समेत उनले बताए । ‘सहकारीमा देखिएको विचलनलाई नियन्त्रण गर्नु पर्छ,’ उनले भने, ‘यसतर्फ सरकारले विशेष ध्यान दिएको छ ।’ सहकारीमा गुटबन्दी र राजनीतिकीकरण बढ्दै गएको सुन्न आएको बताउँदै मन्त्री पुनले यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रणबहादुर श्रेष्ठले सहकारी संघ/संस्थाको विकास तथा प्रवद्र्धनका लागि मन्त्रालय लागि परेको बताए । राष्ट्रिय सहकारी नीति तयार गरी मन्त्रिपरिषद्मा पेस गरेको बताउदैँ उनले सहकारी नीति चाँडै आउनेमा विश्वस्त पारे ।
नवगठित सहकारी मन्त्रालयको नाम परिवर्तन गरी सहकारी विकास तथा गरिबी निवारण मन्त्रालय हुनु पर्ने कुरा संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताए । सहकारी वर्ष कमजोर व्यवस्थापनका कारण खासै उपलब्धिपूर्ण हुन नसेको उनले धारणा व्यक्त गरे ।

लालीगुराँसको नाफा ४ करोड ८८ लाख
काठमाडौं : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष ०६८/६९ मा चार करोड ८८ लाख २८ हजार आठ सय ९६ रुपियाँ खुद नाफा  आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७ दशमलव शून्य ६ प्रतिशत बढी हो ।
०६७/६८ को कुल कारोबार एक अर्ब ५८ करोड ७६ लाख दुई हजार आठ सय ८१ रुपियाँ रहेकामा यस आवमा दुई अर्ब १९ करोड ४२ हजार तीन सय ६९ रुपियाँ रहेको संस्थाले जनाएको छ । संस्थाको निक्षेप अघिल्लो आवमा एक अर्ब ३० करोड १९ लाख ५५ हजार सात सय ३१ रुपियाँ रहेकामा आव ०६८/६९ मा ४१ दशमलव ६५ प्रतिशतले भई एक अर्ब ८४ करोड ४२ लाख २७ हजार तीन सय ४६ रुपियाँ रहेको छ । कर्जातर्फ अघिल्लो आवको तुलनामा २३ दशमलव २२ प्रतिशतले वृद्धि भई एक अर्ब ३७ करोड दुई लाख १३ हजार ९४ रुपियाँ रहेको संस्थाले जनाएको छ । नेपाल सरकारलाई दुई करोड ५० लाख ४८ हजार आठ सय ८२ राजश्व यय संस्थाले बुझाएको छ । संस्थाका सेयर सदस्यहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
चालु आवमा देशको प्रतिकूल राजनीतिक र आर्थिक अवस्थाको बाबजुद पनि यस संस्थाले मुनाफा आर्जनलगायत कुल कारोबारमा उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको र सेयर सदस्यलाई उपलब्ध गराउने सेवा तथा सुविधामा समेत क्रमश: वृद्धि गर्दै लगिएको संस्थाका अध्यक्ष हीराकाजी महर्जनले बताए ।
संस्थाको लालीगुराँस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, क्रिमसन इन्टरनेसनल कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि र भैरवकुण्ड हाइड्रो पावर प्रालिमा लगानी रहेको छ । पुल्चोकमा मुख्य कार्यालय रहेको यस सहकारीको काठमाडौंको चावहिल, भक्तपुरको कौशलटार र ललितपुरको चापागाउँमा सदस्यता सुविधा काउन्टर स्थापना गरिसकेको छ ।

प्रतिक्रिया