नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं, १० मंसिर । गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा नेपाल टेलिकमको नाफा चालु आवमा दुई करोड रुपियाँभन्दा बढीले घटेको छ । बैंकमा पर्याप्त तरलता भएर निक्षेपको ब्याजदर घटेको प्रभाव टेलिकमको वासलातमा पनि देखिएको छ ।
०६९ असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार सेवाबाट प्राप्त आम्दानी बढेको भए पनि कम्पनीको अन्य आम्दानी भने ओरालो लागेको छ । खासगरी ब्याजबाट हुने आम्दानी घटेको देखिएको छ । अघिल्लो त्रैमासिकमा आयकर पछि तीन अर्ब ६५ करोड ३५ लाख रुपियाँखुद मुनाफा कमाएको टेलिकमले यो त्रैमासिकमा तीन अर्ब ६३ करोड नौ लाख रुपियाँ मात्र आर्जन गरेको छ । यो अवधिमा टेलिकमको अन्य आम्दानी ८९ करोड ३७ लाख ८१ हजारबाट ७६ करोड ९६ लाख रुपियाँमा झरेको देखिएको छ । गत वर्षको तुलनामा नाफा घटे पनि नेपाल टेलिकम सबैभन्दा धेरै आर्जन गर्ने कम्पनीमा भने एक नम्बरमा नै यथाबत् छ ।
पहिलो त्रैमासिकमा टेलिकमले सेवाबाट प्राप्त गर्ने आम्दानी भने झन्डै दुई अर्ब रुपियाँले बढेको छ । अघिल्लो असोजसम्म सात अर्ब ३६ करोड ३२ लाख मात्र कमाएको कम्पनीले यस वर्ष नौ अर्ब सात करोड ६६ लाख रुपियाँ आर्जन गरेको छ । आम्दानी बढेसँगै टेलिकमको सञ्चालन तथा मर्मत एवं प्रशासन खर्च पनि दोब्बरभन्दा धेरैले बढेको देखिएको छ । पहिलो त्रैमासिकमा कुल आम्दानी नौ अर्ब ८४ करोड ६२ लाख  गरेको कम्पनीको कुल खर्च चार अर्ब ९६ करोड आठ लाख रुपियाँ छ । यो खर्च गत वर्षको यही अवधिको तुलनामा एक अर्ब ८० करोड रुपियाँले बढी हो । आम्दानी भने गत वर्षका तुलनामा एक अर्ब ५० करोड रुपियाँले बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासिकमा एक अर्ब ४३ करोड ४२ लाख आयकर तिरेको कम्पनीले यस वर्ष एक अर्ब २५ करोड ४४ लाख रुपियाँ मात्र तिरेको छ ।
नाफा घटे पनि कम्पनीको प्रतिसेयर मूल्य भने तीन सय ८६ रुपियाँ ७५ पैसाबाट बढेर चार सय २९ रुपियाँ ९५ पैसा पुगेको छ । कम्पनीले यो अवधिमा ऋण भुक्तानीमा पनि उपलब्धि हासिल गरेको छ । कुल ऋण २१ अर्ब चार करोड १७ लाखबाट घटेर १० अर्ब ७१ करोड ६२ लाख रुपियाँमा झरेको त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।
टेलिकम सेयर संख्यामा मात्र नभएर नाफामा पनि अब्बल सरकारी कम्पनिको रूपमा रहँदै आएको छ । गत आर्थिक वर्षमा टेलिकमको नाफा ३५.९८ प्रतिशतले बढेर १३ अर्ब ७० करोड रुपियाँ पुगेको थियो । चालु आवमा कम्पनीले ३६ अर्ब रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । यो गत आवका तुलनामा ६.८४ प्रतिशतले बढी हो । कम्पनीले चालु आवका लागि ६२ अर्ब ३६ करोड १६ लाख रुपियाँको बजेट बनाएको छ । यसभमध्ये १५ अर्ब ११ करोड चार लाख रुपियाँ विभिन्न आयोजनामा खर्च गर्ने कार्यक्रम टेलिकमको छ ।
यो वर्ष कम्पनीले १२ अर्ब ५४ करोड रुपियाँ मुनाफा हुने प्रक्षेपण गरेको छ । टेलिकमले गत आवमा सरकारलाई लाभांशबापत ६ अर्ब १७ करोड रुपियाँ, भ्याट, स्वामित्व शुल्क, सेवा शुल्कबापत पाँच अर्ब १७ करोड, आयकरबापत पाँच अर्ब ६६ करोड र रोयल्टीबापत एक अर्ब पाँच करोड गरी १८ अर्ब सात करोड रुपियाँ राजस्व बुझाएको थियो । कम्पनीले चालु आवमा १९ अर्ब ६ करोड रुपियाँ राजस्व बुझाउने लक्ष्य राखेको छ । नेपाल टेलिकम सबैभन्दा बढी नाफा गरेर सरकारलाई कर भुक्तानी गर्ने नम्बर १ कम्पनी हो ।

प्रतिक्रिया