आधा दर्जन पसलमा आगलागी

कैलाली, १० मंसिर । बझाङ सदरमुकाम चैनपुरमा आगलागीमा परेर ६ पसल जलेका छन् । शनिबार बिहान करिब तीन बजेतिर भएको आगलागीमा परेर पसल र सामान जल्दा तीन करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाने रोडमा रहेको शिवहरि गिरीको एलजी फेन्सी पसलबाट सल्केको आगोले छेउछाउका अन्य पसल पनि खरानी भएका हुन् । आगलागीमा मानवीय क्षति नभए पनि घर र पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको डिएसपी उदय तामाङले बताए । आगो स्थानीय, नेपाली सेना र प्रहरीको प्रयासमा दुई घन्टापछि नियन्त्रणमा आएको थियो ।
गिरीले पसलमा राति धूप बालेर सुतेको अवस्थामा  धूपबाटै आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट गिरीको पसलमा ३८ लाख, नयन मल्लको मल्ल सप्लायर्स पसलमा एक करोड, तेज मल्लको फेन्सी पसलमा नौ लाख, कृष्णबहादुर सिंहको पुस्तक पसलमा पाँच लाख, उमाशंकर जोशीको फेन्सी पसलमा पाँच लाख, केशव रोकायाको होटल र अमरराज जोशीको गरी ४० लाखको सामान जलेर नष्ट भएको छ ।
डिएसपी तामाङले जलेर नष्ट भएको मालसामानका साथै घरसहित तीन करोड रुपियाँभन्दा बढीको क्षति भएको जानकारी दिए । चैनपुरमा बाक्लो बस्ती र अधिकांश काठका घर भएकाले आगलागीको उच्च जोखिम छ । चैनपुरमा आगलागी भएको यो दोस्रोपटक हो । पीडित परिवारले क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया