दाहाल नजाँदा “रिल्याक्स” भएन

काभ्रे, १० मंसिर । कांग्रेस नेता डा. नारायण खड्काले शनिबार धुलिखेलमा आयोजना गरेको दिवाभोजमा उपराष्ट्रपति, कांग्रेस, एमाले, मधेसी मोर्चाका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी भए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएकोमा सबै नेताले ‘मिस’ गरेका छन् ।
सात वर्षदेखि नेता खड्काले यस्तै भोजको आयोजना गर्दै आएका छन् । भोजमा उपराष्ट्रपति परमानन्द झा, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशनमान सिंह, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृहमन्त्री विजयकुमार गच्छादारलगायत १६ देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
भोजमा सहभागी हुन एमाओवादी अध्यक्ष दाहाललाई पटक–पटक गरेको आग्रह खेर गएको नेता खड्काले जानकारी दिए । ‘भोजमा निमन्त्रणा गर्न प्रचण्डजीलाई पटक–पटक टेलिफोन गरेँ, उहाँका पिएले कहिल्यै उहाँसँग भेट गराउन चाहेनन्,’ उनले भने, ‘सहभागी नेता तथा कूटनीतिज्ञले प्रचण्ड पनि भइदिएकोए झनै ‘रिल्याक्स’ हुने बताएका थिए ।’
राजदूतहरूले प्रमुख नेतालाई शुक्रबार राष्ट्रपतिले दलहरूलाई सहमतिको सरकारका लागि गरेको आह्वान, सहमतिको सरकार गठनमा दलहरूको प्रयास र नयाँ निर्वाचनबारे चासो राखेका नेता खड्काले जानकारी दिए । ‘नेपालमा सहमतीय सरकार र निर्वाचन भए शान्ति स्थापना हुन्थ्यो, नेपालमा हामीले चाहेर पनि धेरै सहयोग गर्न सकेका छैनौँ,’ राजदूतहरूको भनाइ उद्धृत गर्दै खड्काले भने । भोजमा नेपालको विकासका लागि सबै देशका राजदूतले सहयोग गर्ने वचन दिएका थिए । साथै, दलहरूलाई सहमतिमार्फत नयाँ निर्वाचन हुने/नहुने विषयमा समेत जिज्ञासा राखेका थिए । भोजपछि पत्रकारसँग एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दिएको समय–सीमाभित्रै सहमतिको प्रधानमन्त्री उम्मेदवार पठाउने जानकारी दिए । त्यसका लागि सबै दलबीच शनिबारबाटै छलफल सुरु भएको खनालले बताए । कांग्रेस सभापति कोइरालाले सहमतिको अर्काे कुनै बाटो नभएकाले शान्ति, संविधान र स्थायित्वका लागि पनि समय–सीमाभित्र सहमति हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय शक्तिले पनि नेपालमा सहमतिको सरकार र निर्वाचन चाहेको कोइरालाले बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमा आशावादी हुनुपर्ने बताए । ‘राष्ट्रपतिको शुक्रबारको आह्वान सहमतिको सकारात्मक कदम हो,’ गच्छदारले भने । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि सबै किसिमको प्रयास गरिने बताए ।

प्रतिक्रिया