बलात्कारीलाई सफाइ दिइयो

सुर्खेत, १० मंसिर । बलात्कारमा परेकी एक बालिकाको परिवारले आफूहरूले न्याय नपाएको बताएको छ । कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिकाका परिवारले आरोपीलाई सफाइ दिइएको भन्दै न्याय नपाएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा पीडित बालिकाकी आमा डिल्ली सार्कीले छोरीलाई बलात्कार गर्ने मैनतडा–२ ठूलोजात्रीका राजेश र दीपक विकलाई ०६९ भदौमा सफाइ दिएको भन्दै अदालतले अन्याय गरेको गुनासो गरिन् । आरोपीलाई पनि सफाइ दिइएको र क्षतिपूर्ति पनि केही नदिएको उनको गुनासो छ । ‘मुद्दा हेर्ने सरकारी वकिलले ७० दिनभित्र पुनरावेदन गर्छौं भन्थे,’ उनले भनिन्, ‘अब एक/दुई दिन मात्रै बाँकी छ, अहिलेसम्म केही गरेकै छैन ।’
उनले अझैसम्म छोरी ठीक नभएको बताइन् । क्षेत्रीय अस्पतालमा ४० हजार रुपियाँ खर्च गरेर उपचार गरेको भए पनि छोरी बेलाबेलामा चिच्याउने, राति तर्सने गरेको सार्कीले बताइन् । बालिका चैत ०६८ मा बलात्कृत भएकी थिइन् । घटनामा राजेश र दीपकलाई गाउँकी विष्णु विकले सहयोग गरेको पीडितकी आमाले बताइन् । पहिले विष्णु विकले नै दोषीहरूलाई चिनाएको भए पनि पछि बयान दिने बेला होइनन् भनेको पीडितका आफन्त रघुवीर मिजारले बताए ।
विष्णु विकलाई रकम दिएर होइन भन्न लगाएको पीडितको आरोप छ । आफूहरूलाई पनि दोषीका पक्षका आफन्तले पैसा दिएर गाउँमै मिल्न भनेकाले घुस खुवाएरै दोषीलाई सफाइ दिएको हुनसक्ने आफन्तले शंका गरेका छन् ।
दु:खमाथि झन् दु:ख
छोरी बलात्कृत भएको पीडा खेपिरहेकी डिल्ली सार्कीमाथि अर्को बज्रपात थपिएको छ । पति वीरबहादुर सार्कीका दुवै मिर्गौला फेल भएपछि उनी थप समस्यामा परेकी हुन् । रकम अभावले पतिको उपचार हुन सकेको छैन । पत्रकार सम्मेलनमा सार्कीले भनिन्, ‘२ वर्षदेखि दुवै मिर्गौला फेल भएको पाइए पनि उपचार गर्न सकिएको छैन ।’ स्वास्थ्य मन्त्रालयको सहयोगमा उपचार गरिए पनि रकम अभाव भएपछि मिर्गौला प्रत्यारोपण गर्न सकिएको छैन । उपचारका लागि करिब नौ लाख रुपियाँ ऋण लागेको छ । सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ३५६३३ मा रकम जम्मा गर्न सकिने पनि बताइन् ।

प्रतिक्रिया