राष्ट्रपतिको कदमको विपक्षीद्वारा स्वागत

काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेस र एमालेले राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठनका लागि शुक्रबार राजनीतिक दलहरूलाई गरेको आह्वानको स्वागत गरेका छन् । कांग्रेस र एमालेले शनिबार छुट्टाछुट्टै बैठक गरी राष्ट्रपतिको कदमको स्वागत गरेका हुन् ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले एक साताभित्र सहमतिमा प्रधानमन्त्रीको नाम चयन गर्न दलहरूलाई आह्वान गर्नु स्वागतयोग्य भएको निष्कर्ष निकालेको हो । ‘राष्ट्रपतिको कदम स्वागतयोग्य छ । राष्ट्रपतिले विद्यमान संकट समाधानका लागि चालेको कदमलाई सबै दलले सकारात्मक रूपमा लिनुपर्छ,’ बैठकपछि पार्टी उपभापति रामचन्द्र पौडेलले भने ।
बैठकले राष्ट्रपतिले दिएको समय–सीमाभित्रै सहमतिमा प्रधानमन्त्री चयन गर्न पहल गर्ने निर्णय पनि गरेको थियो । उपसभापति पौडेलले राष्ट्रपतिले दिएको समयमै दलीय सहमतिमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न पार्टीले छलफल थाल्ने निर्णय गरेको जानकारी दिए । सहमतिको प्रयासस्वरूप शनिबारदेखि नै छलफल थालिने पौडेलको भनाइ थियो ।
राष्ट्रपतिले बजेट अध्यादेश प्रमाणीकरण गर्नुलाई ठीक र अहिले सहमतीय सरकार गठनका लागि गरेको आह्वानलाई असंवैधानिक भनेर एमाओवादीले सत्ता अझै लम्ब्याउन खोजेको आरोप उनले लगाए । एउटै व्यक्तिले बजेट ल्याउँदा ठीक हुने र राष्ट्रलाई संकट समाधानका लागि लिएको अग्रसरतालाई असंवैधानिक भन्न नहुने जिकिर उनले गरे ।
‘दलीय सहमतिविना ल्याएको बजेट स्वीकृत गर्दा एमाओवादीले स्वागत गर्‍यो,’ उनले भने, ‘तर, त्यही एउटै व्यक्ति जसले राष्ट्रलाई संकटबाट बचाउन सहमतिबाट प्रधानमन्त्रीको उम्मेदवार ल्याउन माग गर्दा कसरी असंवैधानिक हुन्छ ?’
त्यस्तै, पार्टी मुख्यालय बल्खुमा बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि गरेको आह्वान मुलुकमा विद्यमान राजनीतिक गतिरोधको निकासका लागि सकारात्मक रहेको निष्कर्ष निकालेको हो । बैठकले सहमतिमा प्रधानमन्त्री चयनका लागि तत्काल अन्य दलसँग छलफल थाल्ने निर्णय गरेको थियो ।
‘सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिको प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरूलाई गर्नुभएको आह्वानलाई मुलुकमा विद्यमान गतिरोधको निकासका लागि सकारात्मक कदमका रूपमा लिँदै स्वागत गर्ने,’ बैठकपछि सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिको आह्वानअनुरूप सहमतिको प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनका लागि अविलम्ब राजनीतिक दलहरूसँग छलफल अघि बढाउने निर्णय भएको छ ।’ अन्तरिम संविधानको संरक्षण र पालनकर्ताका हिसाबले राष्ट्रपतिले गरेको आह्वान राष्ट्रिय राजनीतिमा निकासको द्वार भएको एमालेको विश्लेषण छ ।
कांग्रेसले एकताबद्ध भएर प्रधानमन्त्री उम्मेदवार खडा गरे विगतमा भएको सहमतिकै आधारमा उसको नेतृत्व स्वीकार गर्ने एमालेले जनाएको छ । ‘सहमतिमा जसले नेतृत्व गरे पनि आपत्ति छैन’ एमाले महासचिव ईश्वर पोखरेलले सौर्यसँग भने, ‘कांग्रेसले एकताबद्ध भएर उम्मेदवार दिन सक्यो भने कांग्रेसलाई नेतृत्व दिने विगतकै सहमति भएको छ त्यसैमा रहन्छौँ तर नेतृत्व गरिदिनुपर्‍यो भनेर चिठी लेख्दैनौँ ।’
राष्ट्रपतिले प्रधानमन्त्रीको नाम दिन दलहरूलाई गरेको आह्वानलाई असंवैधानिक भन्ने एमाओवादी नेताहरूको टिप्पणीलाई एमालेले उन्मादपूर्ण अभिव्यक्ति भनेको छ । ‘आºनो इच्छाबमोजिमको घोषणा गरिदिँदा राष्ट्रपति नै अभिभावक हुन् भन्ने र आºना अनुचित उद्देश्यमा ठेस लागेपछि उन्मादी कुरा गर्नुको औचित्य छैन,’ महासचिव पोखरेलले भने, ‘अब दलहरू अविलम्ब संवादमा जुट्नुपर्छ र सहमतिको सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्छ ।’
बैठकले राजनीतिक परिस्थितिका विषयमा निर्णय लिन १२ र १३ मंसिरमा पोलिटब्युरो बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया