लिगमा सफलताको रहस्य “टिम वर्क” र “गुड म्यानेजमेन्ट”

काठमाडौं, ९  मंसिर । स्थापना भएको चार वर्षमै हिमालयन शेर्पा ‘ए’ डिभिजनमा उक्लियो र आफूले खेलेको पहिलो ए डिभिजन स्तरको प्रतियोगिता जित्यो । करिब तीन वर्षअघि आयोजित सान मिगेल राष्ट्रिय नकआउट प्रतियोगितामा फाइनल पुगेको न्युरोड टिम (एनआरटी) लाई हराएर हिमालयनले ‘ए’ डिभिजन नवप्रवेशीका रूपमा गतिलो यात्रा थालेको थियो । त्यसपछिका प्रतियोगितामा पनि उसले राम्रो हैसियत प्रस्तुत गर्‍यो ।
गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले तेस्रो स्थान हात पार्‍यो । भर्खरै सम्पन्न दुई ठूला प्रतियोगिता एनसेल कप र सफल पोखरा कपमा कम प्रभावी दुई क्लबले फाइनल यात्रा तय गरे । रानीपोखरी कर्नर टिम (आरसिटी) एनसेल कपमा र मछिन्द्र क्लब सफल पोखरा कपमा फाइनल पुगेका थिए । केही समयअघि मात्र आफूसँग भएका प्राय: प्रमुख स्टार खेलाडीलाई गुमाएको मनाङ त्यसपछि यी दुवै प्रतियोगितामा विजेता बन्यो । यता स्टार खेलाडीलाई पुन: एकपटक जमघट गराएको थ्री–स्टार भने एनसेल कपमा समूह चरणबाटै बाहिरियो ।
थ्री–स्टार, फ्रेन्ड्स, नेपाल पुलिस, नेपाल आर्मीलगायत स्थापित क्लबलाई पछि पार्दै आरसिटी र मछिन्द्रले फाइनल यात्रा तय गर्दा यतिबेला नेपाली फुटबलमा टिम स्प्रिट, टिमवर्क र गुड म्यानेजमेन्ट निकै चर्चाको विषय बनेको छ ।
पछिल्लोपटक अवरुद्ध नेपाली फुटबल सुरु हुँदा हिमालयन शेर्पा ‘ए’ डिभिजनमा उक्लिसकेको थियो । हिमालयनमा राष्ट्रिय टिमका कप्तान सागर थापा, मिडफिल्डर जगजित श्रेष्ठ र भेट्रान मिडफिल्डर नवीन न्यौपानेबाहेक अधिकांश खेलाडी नेपाली फुटबलमा कम परिचित थिए यद्यपि उसले निकै राम्रो प्रदर्शन गर्‍यो यसबीचमा ।
जावलाखेलले गत संस्करणको ‘ए’ डिभिजन लिगमा सानदार प्रदर्शन गर्दा उक्त टोलीमा कोही पनि स्टार थिएनन् । सोही टिमका नौ खेलाडी लिएको मछिन्द्रले यतिबेला निकै राम्रो प्रदर्शन गरिरहेको छ । पोखरामा आयोजित सफल कपमा मछिन्द्रले पहिलो खेलमै नेपाल पुलिसलाई निरास बनाएर सानदार सुरुवात गरेको थियो । अझ एनसेल कपमा फाइनल पुगेको आरसिटीमा पनि यस्तै स्थिति थियो ।
यस पृष्ठभूमिमा यतिबेला नेपाली फुटबलका चलेका स्टार खेलाडी ओझेल परेका छन् । गोलकिपर किरण चेम्जोङदेखि स्ट्राइकर सन्तोष साहुखलसम्म ओझेलमा परेका छन् भने विशाल राई, अमर डंगोल, नीराजन मल्ल, दीपक राई, अमिर श्रेष्ठलगायत खेलाडी खेलमा छाइरहेका छन् ।
आखिर किन नाम चलेका खेलाडीले टिममा केही गर्न सकिरहेका छैनन् ? किन केही साना क्लबले ठुल्ठूला नतिजा निकालिरहेका छन् ? यस विषयमा आरसिटी प्रशिक्षक मधु कार्की स्टार र पैसाले फुटबल नखेलिने बताउँछन् । ‘फुटबल त टिम गेम हो, टिममा राम्रो गर्न सक्नुपर्छ,’ मधु प्राय: अवसरमा भन्ने गर्छन् । हुन पनि गत राष्ट्रिय टिमका करिब आधा सदस्यसहित पछिल्ला केही वर्षमा खेले पनि मनाङले उपाधि चुम्न सकेन । स्टारलाई लिने होइन, स्टार बनाउनुपर्ने मत राख्छन् युवा प्रशिक्षक मधु ।
राष्ट्रिय टिमका पहिलो रोजाइका तीन सदस्य सन्तोष साहुखल, सन्दीप राई र विजय गुरुङले छाडेपछि मनाङले लामो समयदेखि राजधानीमा उपाधि जित्ने प्रयास सफल बनाउन सकेको थियो एनसेल कप र सफल पोखरा कपमार्फत । राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले आफ्नो लयलाई कायम राख्दै नीराजन मल्ल, अमिर श्रेष्ठ, सुजल श्रेष्ठलगायतका स्टार बनिनसकेका खेलाडीसँग मिलेर मनाङलाई यहाँसम्म पुर्‍याए ।
यता पुन: एकपटक स्टार खेलाडीलाई एक ठाउँमा राखेको थ्री–स्टारले भने एनसेल कपमा पहिलो चरण पनि पार गर्न सकेन । विजय, सन्दीप, सन्तोष, अञ्जन केसीलगायत खेलाडीविना नै थ्री–स्टारले दुईपटक ब्रिटिस गोर्खा कपको उपाधि जितेको थियो । मध्यपुर युथ एसोसिएसनका अध्यक्ष तथा प्रशिक्षक उपेन्द्रमान सिंह टिम स्प्रिटमा विश्वास गर्छन् । ‘पहिलो कुरा सही म्यानेजमेन्ट र सही किसिमले प्रशिक्षण गर्नुपर्‍यो । यसले खेलाडीलाई ऊर्जाशील बनाउँछ,’ उपेन्द्रमान भन्छन्, ‘खेलाडीले पनि टिमका रूपमा प्रदर्शन गर्नुपर्‍यो । एकाअर्कासँग सहकार्य गर्नुपर्‍यो ।’ हिमालयन शेर्पा राष्ट्रिय नकआउट च्याम्पियन बन्दा सो क्लबका प्रशिक्षक रहेका उपेन्द्रमानले यो विषय उठाएका थिए । पूर्वराष्ट्रिय गोलकिपर कप्तान रहेका उपेन्द्रमानले आफ्नै सक्रियतामा मध्यपुर क्लबलाई यहाँसम्म पुर्‍याएका हुन् । स्मरणीय छ, कमजोर व्यवस्थापनका कारण यसअघि ठूला क्लबमा समस्या आएको पटकपटक सार्वजनिक भइसकेको छ ।
मनाङ–मस्र्याङ्दी क्लबमा केन्द्रित स्टार खेलाडीहरू अहिले केही मात्रामा बाँडिएका छन् । मनाङमा शिव श्रेष्ठ, सुजल श्रेष्ठ, अनिल गुरुङलगायतलाई छाडेर नीराजन खड्का र दीपक भुसाल फ्रेन्ड्सतर्फ आएका छन् । यतिबेला थ्री–स्टारबाहेक कुनै पनि क्लब स्टारले भरिपूर्ण छैन ।
लिग विजेता नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ विदेशी खेलाडीले क्लबको प्रदर्शन फरक बनाएको बताउँछन् । ‘विदेशी खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने हो । त्यसैले अहिले नै लिगको उपाधि कसले जित्न सक्छ भन्न गाह्रो छ,’ उनी भन्छन् । हुन पनि आरसिटी, सरस्वती, एनआरटीलगायतका टोलीले भर्खरै ‘ए’ डिभिजन लिगमा प्राप्त जितमा विदेशी खेलाडीको भूमिका कम छैन । जारी ‘ए’ डिभिजन लिगमा बलियो भनिएका नेपाल पुलिस, नेपाल आर्मी, मनाङ–मस्र्याङ्दीले खेलेको बराबरी र थ्री–स्टारले बेहोरेको हारलाई टिम वर्क र गुड म्यानेजमेन्टसँग जोडेर हेर्न थालिएको छ । यसमा यी क्लबले दुर्भाग्यले यस्तो नतिजा निकालेका होइनन्, उनीहरूसँग खेल्ने टिमले कडा मिहेनत र राम्रो प्रदर्शन गरेको देखिन्छ ।
एनआरटीले जित्यो, आर्मी र फ्रेन्ड्स बराबरीमै
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधि दाबेदारमध्येको अर्को टोली नेपाल आर्मीले आफ्नो पहिलो खेलमा शुक्रबार बराबरी खेलेको छ । मनाङ–मस्र्याङ्दी र नेपाल पुलिसको बराबरी र थ्री–स्टारको हारपछि उपाधि दाबेदार अर्को टोली नेपाल आर्मीले फ्रेन्ड्स क्लबविरुद्ध गोलरहित बराबरी खेले पनि यो नतिजा त्यति आश्चर्यजनक भने रहेन । शुक्रबार भएको अर्को खेलमा बाँसबारीलाई ५–३ ले हराउँदै न्युरोड टिम (एनआरटी)ले गतिलो सुरुआत गर्‍यो ।
राष्ट्रिय टिमका सागर थापा र अन्य सदस्य नीराजन खड्का, जगजित श्रेष्ठ र दीपक भुसाललाई यसै सिजन भित्र्याएपछि फ्रेन्ड्स आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्ने प्रयासमा रहेको छ । खेलभर केही राम्रा आक्रमण गरेको आर्मीविरुद्ध फ्रेन्ड्सका युवा गोलकिपर वीरेन्द्र चन्दको प्रदर्शन निकै सराहनीय रह्यो । यता फ्रेन्ड्सले डिफेन्समा सहित राम्रो प्रदर्शन गर्‍यो । आर्मीका भरत खवास लय बाहिर देखिए भने नवयुग श्रेष्ठलाई केहीपटक गोलकिपर वीरेन्द्रले निराश बनाए । भरतसँगै नवयुग श्रेष्ठ, टंक बस्नेत, राजु तामाङ र जितेन्द्र कार्कीको साथ रहेको पूर्वविजेता आर्मीलाई यसपटक उपाधि दाबेदारका रूपमा हेरिएको छ ।
एनसेल कपमा कमजोर प्रदर्शन गरे पनि पोखरामा भएको सफल कपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको एनआरटीले त्यसलाई निरन्तरता दिँदै सानदार सुरुआत गर्‍यो । एनआरटीको जितमा सेगुन अकिनाडेले हयाट्रिक गरे भने लक्ष्मण रुचालको नाममा एक गोल रह्यो । ८१औँ मिनेटमा बाँसबारीका लागि विशाल तामाङले एक गोल गरे पनि त्यसअघि एनआरटीले खेल ५–२ को स्थितिमा पुर्‍याइसकेको थियो । बाँसबारीका लागि पुकार आलेले दुई गोल गरे पनि एनआरटीले खेलभर दबाब सिर्जना गरेको थियो । (सौस)

प्रतिक्रिया