विद्यार्थी छैनन् विद्यार्थी नेता

काठमाडौं, ९ मंसिर । उनीहरू विद्यार्थी नेता कहलिएका छन् तर खासमा विद्यार्थीचाहिँ होइनन् । तीनवटा ठूला विद्यार्थी संगठनका प्रमुख नेताहरूको कुनै क्याम्पसमा भर्ना नरहेको पाइएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेल र नेविसंघका अध्यक्ष रञ्जित कर्ण अहिले कुनै पनि क्याम्पसमा भर्ना भएका छैनन् । अखिलका अध्यक्ष ढुंगेलले सामाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । उनले कानुनमा स्नातक पनि गरेका छन् । ०६७ मा अखिलको अध्यक्ष भएका ढुंगेल अहिले कुनै क्याम्पसमा भर्ना भएका छैनन् ।
पिएचडीको तयारीमा रहेकाले क्याम्पस भर्ना नभएको उनी बताउँछन् । स्ववियु चुनावताका पाटन संयुक्त क्याम्पसमा उनी अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्न भर्ना भएका थिए । अहिले त्यही विषयको ब्याकपेपर दिइरहेको ढुंगेलले बताए ।
अखिल क्रान्तिकारीका अध्यक्ष शर्मा स्ववियु चुनावताका ०६५ सालमा केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर गर्न भर्ना भएका उनी त्यहाँको स्ववियु सभापति भए । त्यसपछि उनले अन्य कुनै क्याम्पस भर्ना गरेका छैनन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ०६५ सालमा अर्गान प्लानिङमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनी कुनै क्याम्पसको विद्यार्थी छैनन् । पाटन क्याम्पस ललितपुरमा समाजशास्त्रमा भर्ना भएको उनले दाबी गरे पनि क्याम्पसमा भर्ना भएको कुनै रेकर्ड छैन । कांग्रेसले नेविसंघ विघटन गरेर उनलाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।
क्याम्पस भर्ना नहुनेमा अखिल क्रान्तिकारीका उपाध्यक्षद्वय जागृत रायमाझी र निशा साह, महासचिव बिन्दमान विष्ट, सचिवद्वय तेजकुमारी पौडेल र रमेश मल्लसमेत रहेका छन् । रायमाझीले ०५९ सालमा बिबिएस सकाए पनि त्यसपछि कुनै क्याम्पस भर्ना भएका छैनन् । राजनीतिले गर्दा पढ्न नपाइने भएकाले भर्ना नभएको उनी बताउँछन् । अर्की उपाध्यक्ष साहले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । तर, उनको थेसिस भने बाँकी छ । ‘मैथलीमा स्नातकोत्तर गर्ने तयारीमा छु,’ उनले भनिन् । महासचिव विष्टले महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरे पनि अहिले उनी कुनै क्याम्पसको विद्यार्थी छैनन् । सचिव पौडेलले पनि कुनै क्याम्पस भर्ना गरेकी छैनन् ।
क्याम्पस भर्ना नहुनेमा अखिलका विद्यार्थी नेता पनि उत्तिकै छन् । अखिलकी उपाध्यक्ष नवीना लामा, नवराज पौडेल, महासचिव किशोरविक्रम मल्ल र सचिव रचना खड्काको कुनै क्याम्पसमा भर्ना छैन ।
उपाध्यक्ष लामा ०६२ सालमा बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएदेखि अहिलेसम्म कुनैमा भर्ना भएकी छैनन् । उनी त्यसबेला क्याम्पसको सभापतिसमेत चुनिएकी थिइन् । अर्का उपाध्यक्ष भीम राईले अर्थशास्त्रमा स्नातकोत्तर गरेर कानुनमा पनि स्नातकको ब्याकपेपर दिइरहेका छन् । केन्द्रीय क्याम्पसमा राजनीतिशास्त्रमा भर्ना गरे पनि परीक्षा भने दिएका छैनन् । ‘कार्यक्रममा हिँडिरहनुपर्छ, परीक्षा दिन नपाइने भएकाले भर्नामा मात्रै सीमित छु,’ उनी भन्छन् ।
अर्का उपाध्यक्ष नवराज पौडेलले नेपाली र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपालीमा एमफिलसमेत गरिसकेका छन् । पिएचडीको तयारीमा रहेका पौडेल अब क्याम्पसको रेगुलर विद्यार्थी हुनुपर्ने आवश्यकता ठान्दैनन् । ‘मेरो क्याम्पस लेभलको पढाइ सकिएकाले भर्ना नगरेको हुँ,’ उनी भन्छन् । अखिलको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार मानिएको छ पौडेललाई ।
महासचिव मल्ल भने डाक्टरको सल्लाहमा क्याम्पस भर्ना नभएका हुन् । स्नातकसम्मको अध्ययन सकाएका उनले आँखाको समस्याका कारण डाक्टरले नपढ्ने सल्लाह दिएकाले क्याम्पस भर्ना नगरेका हुन् । त्यस्तै, सचिव रचना खड्काले एमएड र एलएलबी पास गरिसकेपछि अहिले कुनैमा भर्ना गरेकी छैनन् । उनी भन्छिन्, ‘विद्यार्थी भएपछि कुनै क्याम्पसमा त भर्ना हुनुपर्ने हो, भएको छैन, अब भर्ना गर्ने तयारीमा छु ।’
विद्यार्थी नेताहरू कि आºनो संगठनको अधिवेशन कि स्ववियु चुनाव आएपछि मात्र भर्ना गर्ने गर्छन् । नियमित क्याम्पस सकिएका विद्यार्थी नेताहरू राजनीति गर्नैका लागि अर्को विषयमा भर्ना गर्ने गर्छन् । अखिलकै सुदीप साह गणित र अर्थशास्त्रबाट स्नातकोत्तर पास गरेर बिएलको ब्याकपेपर दिइरहेका छन् । उनी यसै वर्ष आरआर क्याम्पस जनकपुरमा मैथली विषयमा पहिलो वर्षमा भर्ना भएका छन् । उनी काठमाडौं बस्छन्, तर जनकपुरमा भर्ना गरेको हुनाले क्याम्पस जाँदैनन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भूपेन्द्रजंग शाहीले नेपाल कमर्स क्याम्पसबाट बिबिएस गरेपछि अहिले कुनै क्याम्पसका विद्यार्थी छैनन् । तर, उनी संघका जल्दाबल्दा विद्यार्थी नेताका रूपमा चिनिन्छन् । यस्तै, केन्द्रीय सदस्य ऋषिकेश शाह अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन् । उनी क्याम्पस भने कमै जान्छन् । केन्द्रीय सदस्य प्रतिमा गौतमले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि अहिले एलएलबी प्रथम वर्षमा भर्ना गरेकी छन् । संघकी पूर्वमहामन्त्री समेत रहेकी गौतमले संघको अधिवेशन नजिक आइरहेका बेला धेरै वर्षपछि विद्यार्थी हुनका लागि प्रथम वर्षमा भर्ना गरेकी हुन् । संघका केन्द्रीय सदस्य लक्ष्मण पोखरेल समाजशास्त्रबाट स्नातकोत्तर पूरा गरेर अहिले कानुनमा स्नातक गरिरहेका छन् । उनी विरलै कलेज जाने गर्छन् ।
स्थानीय चुनाव नभएका कारण त्यसमा भाग लिन नपाउँदा पुराना विद्यार्थी नेता अहिले पनि पटक–पटक क्याम्पस भर्ना हुने गरेका छन् । उनीहरूले पढ्नलाई होइन, खाली आफूलाई विद्यार्थी नेताका रूपमा चिनाउनका लागि मात्र भर्ना गरेको देखिन्छ ।
यस्तै, नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । उनको न्यु भिजन बहुमुखी क्याम्पस डिल्लीबजारमा संगठनकै साथीले भर्ना गरिदिएका हुन् । तर, उनले अहिलेसम्म क्याम्पसमा पाइला टेकेका छैनन् । ‘साथीले भर्ना गरिदिएका हुन्,’ उनले भने, ‘तर कहिल्यै क्याम्पसमा खुट्टा टेकेको छैन ।’ महासचिव कमल शाहीले क्याम्पस भर्ना गरेका छैनन् ।
यस्तै, मधेसी विद्यार्थी फोरमका अध्यक्ष र उपाध्यक्ष दुवै क्याम्पसका विद्यार्थी होइनन् । तर, उनीहरू हालै निर्वाचित भएका छन् । अध्यक्ष अशोक यादव ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जबाट स्नातकोत्तरमा समाजशास्त्र विषयको ब्याकपेपर दिइरहेका छन् भने उपाध्यक्ष रमेश यादल बिई गरिसकेपछि कुनै क्याम्पसमा भर्ना भएका छैनन् । अखिल पाँचौँका अध्यक्ष महेन्द्र शाह पनि कुनै क्याम्पसमा छैनन् । अखिल छैठौंका महासचिव अनिलकिशोर घिमिरे राजनीतिक शास्त्रको दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन् । यस्तै, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव दुवै क्याम्पसमा भर्ना भएका छैनन् । अध्यक्ष प्रेम बलायर ०६३ यता कुनै क्याम्पसमा भर्ना भएका छैनन् । उनले अब त्रिविमा भर्ना गर्ने तयारीमा रहेको बताए । प्रवीण ठोकर तामाङ पनि कुनै क्याम्पसका विद्यार्थी होइनन् ।

प्रतिक्रिया