संघीय समाजवादीले ‘पार्टी निर्माण अभियान’ चलाउने

काठमाडौं : नवगठित दल संघीय समाजवादी पार्टीले तीनमहिने पार्टी निर्माण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी घोषणाको भोलिपल्ट शुक्रबार राजधानीमा बसेको पार्टीको केन्द्रीय तदर्थ समितिको प्रथम पूर्णबैठकले अभियान सञ्चालनका लागि विस्तृत कार्ययोजना तयार पार्ने निर्णय गरेको हो ।
पार्टी महासचिव राजेन्द्र श्रेष्ठले फागुनभित्र सम्पन्न हुने गरी अभियान सञ्चालन गरिने सौर्यलाई बताए । केही दिनभित्रै अभियानको विस्तृत कार्ययोजना तयार पारिने महासचिव श्रेष्ठले जानकारी दिए । बैठकले ३४ सदस्यीय स्थायी समितिसमेत गठन गरेको छ । पार्टीको नीति, सिद्धान्त र विचारसँग सहमत हुने अन्य राजनीतिक दल, शक्ति र व्यक्तिलाई पार्टीमा आबद्ध हुन आह्वानसम्बन्धी विशेष प्रस्ताव पारित गरी बैठकले त्यसका लागि वार्ता टोली गठन गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ ।
पहिलो बैठकमा पार्टी केन्द्रीय समितिका ज्येष्ठ सदस्य उपाध्यक्ष प्रेमकृष्ण पाठकले अध्यक्ष अशोककुमार राईलाई र अध्यक्ष राईले सबै पदाधिकारी तथा सदस्यलाई शपथ खुवाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी घोषणा कार्यक्रमको समीक्षा गर्दै ऐतिहासिक रूपमा सफल भएको विज्ञप्तिमा जनाइएको छ । (सौस)

प्रतिक्रिया