कारागारबाटै हत्याको योजना

 

नेपालगन्ज, ९  मंसिर । दुई विद्यार्थीको हत्यापछि बाँके कारागारमा रहेका सशस्त्र समूहका नाइके मेराज अहमद साईलाई पाल्पा जेलमा सारिएको छ । उनले कारागारभित्रबाटै अपहरण, हत्या र फिरौती असुलीको योजना बनाएको पाइएकाले पाल्पा जेलमा सारिएको हो ।
कारागारभित्र मोबाइल प्रयोग गरेर अपहरण र फिरौती असुली गर्दै आएका हत्याका नाइके साईबाट ठूलो असुरक्षा उत्पन्न हुनसक्ने देखिएपछि उनलाई पाल्पा कारागारमा सारिएको सुरक्षा अधिकारीले बताए । प्रहरीको सक्रियतापछि बाँकेमा अपहरण, हत्या र चन्दा आतंक समाप्त भए पनि साईले कारागारबाटै अपहरणलगायत योजना बनाएर काम गरेको देखिएपछि साईसहित तीनजनालाई पाल्पा पठाउने निर्णय गरिएको बाँकेका सिडिओ ढुण्डीराज पोखरेलले बताए ।
कारागारमा रहेका अपराधीलाई जेलभित्र मोबाइल फोन प्रयोग गर्न दिने कर्मचारी र प्रहरीमाथि अनुसन्धान भइरहेको उनले बताए । भारतीय र नेपाली मोबाइलका सिम प्रयोग गरी साईले जेलभित्रबाटै अपराध योजना सञ्चालन गर्दै आएको कारागार स्रोतले बताएको छ ।
जेलभित्रबाट बनाएको योजनाअनुसार सीमापारि लगेर नेपालगन्ज–१० का २२ वर्षीय मोहम्मद आमिर अन्सारीलाई २६ असारमा अपहरण गरिएको थियो । अपहरणमा साईका दाजु रिजवान सहभागी थिए । बेपत्ता अन्सारीका आफन्तले पत्रकार सम्मेलनमार्फत यो घटना सार्वजनिक गरेका थिए ।
अपहरित अन्सारीको ४ महिनादेखि कुनै अत्तोपत्तो छैन । फिरौतीको नौ लाख रुपियाँ बुझेर पनि उनलाई मुक्त गरिएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विक्रमसिंह थापाले पनि कारागारभित्र मोबाइल प्रयोग भएकोबारे अनुसन्धान भइरहेको बताए ।
उनले कारागारमा बसेर अपराध योजना बनाउने र उनलाई सहयोग गर्ने बराबरका दोषी भएकाले अनुसन्धान गरेर सबैलाई कारबाही गरिने बताए ।
साईको योजनामा स्थानीय वागेश्वरी उच्च माध्यमिक विद्यालयका लीलाधर भट्ट र कपिल द्विवेदीलाई १४ असोज ०६७ मा अपहरण गरेलगत्तै १७ गते १० लाख रुपियाँ फिरौती लिएपछि १८ गते कपिल र लीलाधरको हत्या गरिएको थियो । हत्यालगत्तै पक्राउ परेका साई र उनका सहयोगी बाँके कारागारमा छन् ।
साईलाई पाल्पा पठाइएपछि हत्याका अन्य अभियुक्त रज्जब अली साई, इब्राहिम मनिहार, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडेरिया, बरसादी खाँ प्रहरी हवल्दार साकिर अली बेहना र इन्साफ अली शेखसहित आठजना बाँके कारागारमै थुनामा छन् । यस्तै, रामसुरेश बर्मा, रिजवान साई, जियाउल सिद्दिकी, शत्रुघ्न कुर्मी, मनोज बर्मा र नजिर खाँसहित सात अझै फरार छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको बताए पनि पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया