२३ स्थानमा एकीकृत सेवा केन्द्र स्थापना

काठमाडौं, ८ मंसिर । सरकारले विभिन्न २३ जिल्लामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले सर्वसाधारणलाई सरकारी सेवा सहजरुपमा प्रदान गर्न केन्द्र स्थापना गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री न्यौपानेले जानकारी दिए ।
निर्णय अनुसार रौतहटको चन्द्रनिगाहपुर, इलामको मंगलबारे, संखुवासभाको चैनपुर, दैलेखको दुल्लु स्याङजाको वालिङ, बाँकेको नरैनापुर, अछामको विनायक, काभ्रेको घर्तिछाप, सुर्खेतको बबियाचौर, भोजपुरको दिङगला, झापाको दमक, कपिलबस्तुको चन्दौटामा सेवा केन्द्र स्थापना हुने छन् ।
त्यसै गरेर दाङको लमही, रुकुमको रुकुमकोट, कञ्चनपुरको त्रिभुवनवस्ती, खोटाङको खोटाङबजार, उदयपुरको कटारी, सिराहाको लहान, सर्लाहीको हरिवन, नवलपरासीको कावासोती, सल्यानको थारमारे, रोल्पाको घर्तीगाउँमा पनि केन्द्र स्थापना हुने छ ।
केन्द्र स्थापना हुनेमा कैलालीको टीकापुर, मोरङको उर्लाबारी, पाल्पाको रामपुर महोत्तरीको वर्दिवास, ललिपुरको गोटीखेल, बाग्लुङको वुर्तिबाङ, गोरखाको सिरदिवास रहेका छन् । यस अघि सरकारले ललितपुर, गोरखा, बाग्लुङ र महोत्तरीमा केन्द्र स्थापना गरिसकेको थियो ।
केन्द्रस्थापना भए पछि स्थानीयले प्रशासनिक काम सहज रुपमा सोही ठाउँबाट लिन पाउने छन् ।
सर्लाहीको हजरिया र महोत्तरीको बर्दिवासस्थित जग्गा एवं वस्ती व्यस्थित गर्न पनि समिति गठन भएको छ । समितिको जिम्मेवारी स्थानीय प्रशासनलाई दिईएको छ ।
सरकारले वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयको नाम परिवर्तन गरेको छ । निर्णय अनुसार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय राखिएको मन्त्री न्यौपानेले बताए ।
सरकारले राष्ट्रिय विज्ञान दिवस असोज एक गते मनाउने निर्णय गरेको छ ।
वैठकले काभ्रेमा सडक निर्माणका क्रममा परेका २ सय ७२ वटा रुख हटाउन बन मन्त्रालयलाई अनुमति दिएको छ । रासायनिक मलको आपूर्तीका लागि सरकारले ४ करोड ५९ लाख अनुदान दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया