नेपालका चार नाकाबाट चीनमा लागुऔषध तस्करी

काठमाडौं, ८ मंसिर । नेपाल र तिब्बत जोडिने नाकाबाट तिब्बती शरणार्थी ओहोरदोहोर गर्नेसम्मका अवैध धन्दा हुँदै आएकामा अब स्तर वृद्धि भएर लागुऔषध नै तस्कर हुन थालेको छ ।
चीनतर्फ तस्कर गर्न लागिएको अवस्थामा लागुऔषध चरेससहित दुई समूहका ६ अभियुक्त पक्राउ गरेपछि यो भेद खुलेको हो । तस्करले यस धन्दाका लागि विशेष गरी नेपाल–तिब्बत जोड्ने चारवटा नाका प्रयोग गर्न थालेका छन् । प्रहरीका अनुसार तस्करले यस धन्दाका लागि सबैभन्दा धेरै प्रयोग गर्ने सिन्धुपाल्चोकको तातोपानी नाका हो । यसपछि उनीहरू रसुवाको केरुङ नाका प्रयोग गर्छन् । तस्करले प्रयोगमा ल्याउने अर्को नाका हो– संखुवासभाको किमाथांका । सुदूरपश्चिमको अछाम हुँदै दार्चुलाबाट तिब्बत जोड्ने तिंकर नाकालाई पनि तस्करहरूले प्रयोगमा ल्याउने गरेको प्रहरी स्रोतको भनाइ छ ।
लागुऔषध कानुन कार्यान्वयन इकाईका एसएसपी नवराज सिलवालले तातोपानी नाकाबाट लागुऔषध तस्कर हुने गरेको त पछिल्लो दुईवटा घटनाले पुष्टि गरिसकेको बताए । एसएसपी सिलवालले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार रसुवा, संखुवासभा र अछामबाट दार्जुला हुँदै पनि लागुऔषध तस्कर भइरहेको छ तर यी नाका प्रयोग हुँदै लागुऔषध तस्कर गर्दै गरेको अवस्थामा कोही पक्राउ परेका छैनन्, यसमा हामी अनुसन्धान गर्दै छौँ ।’ केरुङ, तातोपनी र तिंकर नाका यसअघि रक्तचन्दन तस्करी हुने ‘ट्रान्जिट’का रूपमा चर्चित छन् । यी नाकाबाट अवैध रूपमा काठ, यार्सागुम्बालगायत जडिबुटी पनि तस्करी हुँदै आएको प्रहरी स्रोतको दाबी छ ।
एसएसपी सिलवालका अनुसार अन्तर्राष्ट्रिय बजारमा लागुऔषध तस्करी गरेबापत प्राप्त मूल्य चीन तस्करी गर्दा पाइने भएकाले तस्कर यसतर्फ आकर्षित भएका हुन् । उनले भने, ‘तस्करले लोकल मार्केटमा पाँच हजार रुपियाँमा चरेस प्रशोधन गर्छन्, त्यही लागुऔषध नाकामा पुर्‍याउँदा १५ हजार रुपियाँमा बेच्छन्, यसै कारण पनि उनीहरू चीनतर्फ लागुऔषध तस्करी गर्न उत्साहित भएका देखिन्छन् ।’
इकाइको तथ्यांकअनुसार १७ कात्तिकमा तातोपानी नाका हुँदै तिब्बतको राजधानी ल्हासातर्फ लैजान तयार गरिएको एक हजार ८० किलो चरेससहित तीन अभियुक्त पक्राउ परे । खासाबाट सिगात्से हुँदै ल्हासा लैजाने क्रममा रहेका उनीहरूलाई चाल्नाखेल–९ बाट पक्राउ गरिएको थियो । पक्राउ पर्ने मकवानपुर सरिखेत पलासे–६ का ३० वर्षीय डिलबहादुर मागर, महोत्तरीका २६ वर्षीय उमेश चौधरी र महोत्तरीकै ४२ वर्षीय राजनन्दन साह हुन् । उनीहरू पक्राउ परेको एक हप्ता नबित्दै २३ कात्तिकमा महादेवस्थान–१ किसिपिडीबाट ५० केजी चरेससहित तीनजना पक्राउ परे । पक्राउ पर्नेमा धादिङ महादेवस्थान–६ का ३५ वर्षीय बहादुरसिंह स्याङ्तान, धादिङ दार्खा–२ का ४२ वर्षीय सर्वणबहादुर तामाङ र सोही स्थानका ४३ वर्षीय अमर गुरुङ रहेका छन् । प्रहरीका अनुसार उनीहरूले पनि तातोपानी नाका हुँदै खासाबाट सिगात्से हुँदै ल्हासामा उक्त चरेस तस्करी गर्ने क्रममा थिए ।
दुईवटा लागुऔषधको घटनालाई विश्लेषण गर्दै एसएसपी सिलवाल भन्छन्, ‘चीन लागुऔषध तस्कर हुने नयाँ गन्तव्य स्थलका रूपमा देखा परेको छ, यो व्यापारमा मुलुकका ठूलै व्यक्तिहरूको संलग्नता देखिन्छ, जोसँग हामी नै दैनिकजसो हात मिलाउँदै हिँड्छौँ, प्रमाण नपुगेकाले चाहेर पनि उनीहरूलाई पक्राउ गर्न सकिएको छैन, हेर्दै जाउँm, सधैँ त्यस्तो नहोला ।’

प्रतिक्रिया