औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्था कडाइ

विराटनगर, ८ मंसिर । औद्योगिक क्षेत्र असुरक्षित बन्दै गएको उद्योगी व्यवसायीको गुनासो बढेपछि प्रहरीले औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिबाट आफूहरू असुरक्षित रहेको उद्योगी व्यवसायीहरूको गुनासोपछि जिल्ला प्रहरी कार्यालय मोरङले उद्योग, कल–कारखाना तथा औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो । व्यवसायीले निरन्तर आफूहरू असुरक्षित रहेको गुनासो गर्न थालेकाले सुरक्षा व्यवस्था सुदृढ बनाइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र असुरक्षित रहेको गुनासो गर्न थालेकाले विगतभन्दा सुरक्षा व्यवस्था सुदृढ बनाइएको चतुर्वेदीले बताए । उनका अनुसार औद्योगिक प्रतिष्ठानमा प्रहरीको भिन्दा–भिन्दै टोली र सादा पोसाकमा परिचालन गरिएको छ । औद्योगिक करिडोर क्षेत्र मानिने मोरङको रंगेली, किसिनुबारी, बाँसबारी, नेमुवा, कटहरी, हाटखोला, नयाँ बजारलगायतका स्थानको सुरक्षा अवस्थामा सुधार गरिएको उनले बताए ।
विभिन्न समूह र संगठनका नाममा आउने धम्कीका कारण उद्योगी र व्यवसायी पलायन हुनु पर्ने अवस्था सिर्जना भएको उनीहरूको दाबी थियो । उद्योगी व्यवसायीको समस्यालाई ध्यानमा राख्दै समस्या समाधानका लागि प्रहरीले औद्योगिक प्रतिष्ठानको सुरक्षा व्यवस्था मजबुत पारेको मोरङका प्रहरी प्रमुख एसपी निरजबहादुर शाहीले बताए । उद्योगी, व्यवसायी, सुरक्षाकर्मी र सबै पक्षलाई औद्योगिक सुरक्षाका लागि सचेत रहन आग्रह गरिसकिएको पनि प्रहरीको भनाइ छ ।
एसपी शाहीका अनुसार उद्योग र कलकारखानाको सुरक्षा अवस्था मजबुत बनाउनका लागि चौबीसै घन्टा गाडीद्वारा मोबाइल तथा पैदल गस्तीको व्यवस्था मिलाइएको छ । औद्योगिक क्षेत्रको मूल्यांकन र पहिचान गरी आठ स्थानमा सिआरभी प्वाइन्टको व्यवस्था मिलाइएको एसपी शाहीले बताए । ‘सिआरभी सहितले चौबीसै घन्टा सुरक्षा प्रदान गर्न सुरु गरेको छ ।’  आवश्यक परेका बखत जुनसुकै बेलामा पनि औद्योगिक सुरक्षामा परिचालन गर्नेगरी प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको प्रहरी टोली जिल्ला प्रहरी कार्यालय मोरङमा तयारी अवस्थामा राखिएको शाहीले बताए । सुरक्षा समितिको निर्णयअनुसार प्रहरीले नेपाल आयल निगमको सुरक्षा व्यवस्थामा समेत सुधार गर्दै त्यसका लागि सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा १६ जना प्रहरी टोली परिचालन गरेको छ ।
उद्योग कलकारखानमा कुनै पनि समयमा हुनसक्ने आपतकालीन अवस्थालाई मध्यनजर राखी स्थानीय स्तरमा रहेको वारुण यन्त्र, एम्बुलेन्स, स्वास्थ्यकर्मीलगायत सुरक्षा निकायलाई तयारी अवस्थामा राखेर समन्वयकारी भूमिका निर्वाह गर्दै औद्योगिक सुरक्षाका लागि प्रतिबद्ध रहन सबैमा आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बताए । उद्योगी व्यवसायीले असुरक्षित महसुस गरेको पटक–पटक जानकारी गराएकाले  सुरक्षा व्यवस्थामा कडाइ गरिएको उनले बताए ।
उद्योगी व्यवसायीले प्रशासनको सो कदमलाई सकारात्मक भनेका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष भीम घिमिरेले प्रशासनले औद्योगिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा व्यवस्थामा कडाइ गर्नु सकारात्मक भए पनि यतिले मात्रै पर्याप्त सुरक्षाको अनुभूती गर्न नसकिने बताए । ‘कोही नहुनुभन्दा कानो मामा भए पनि जाती भन्ने उखानझँै ३० जना भए पनि प्रहरी परिचालन गरिनु सकारात्मक काम हो,’  घिमिरेले भने । यसअघि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममा उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्थामा स्थानीय प्रशासनले ध्यान नदिँदा समस्या देखिएको गुनासो व्यवसायीको थियो । उनीहरूले असुरक्षित महुसस गरेकै कारण उद्योगी व्यवसायी पलायन हुने अवस्था सिर्जना हुँदासमेत स्थानीय प्रशासन गम्भीर नभएको भन्दै आक्रोससमेत व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया