१६ वर्षीय रूपेशलाई खुला बुद्धिचाल उपाधि

काठमाडौं, ८ मंसिर । यु–१९ राष्ट्रिय च्याम्पियन रूपेश जैसवालले पहिलोपटक खुला बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । बिहीबार सम्पन्न नेपाल बैंक लिमिटेड खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा ७.५ अंक बटुल्दै १६ वर्षीय रूपेश च्याम्पियन बने । गोल्डेनगेट कलेजका रूपेशले आठौँ चरणमा पूर्वनेपाल च्याम्पियन सुरवीर लामा तथा नवौँ चरणमा भेट्रान राष्ट्रिय च्याम्पियन रवीन्द्र शाक्यलाई हराए । समान ७.५ अंक जोडेका बद्रीलाल नेपाली दोस्रो भए । रूपेशले २५ तथा बद्रीले १५ हजार रुपियाँ पुरस्कार पाए । बद्रीले आठाँै चरणमा मनीष हमाल ताथ नवाँै चरणमा शीर्ष वरीयताका केशव श्रेष्ठलाई पराजित गरे ।
रूपेश सम्भवत: नेपाली बुद्धिचालमा सबैभन्दा कम उमेरमा खुलातर्फ उपाधि जित्ने खेलाडी बनेका छन् । गत महिना एभरेस्ट चेस क्लबका विवेक लामाले खुला उपाधि जिते पनि उनी रूपेशभन्दा केही महिना जेठा हुन् । एकपछि अर्को फड्को मार्ने क्रममा रूपेशले १० वर्षको हँुदा एकै प्रतियोगितामा शीर्ष वरीयताका केशव श्रेष्ठसँग बराबरी तथा पूर्वराष्ट्रिय उपविजेता कृष्ण थापालाई हराउँदै सनसनी फैलाएका थिए । १२ वर्षको हँुदा यु–१५ राष्ट्रिय च्याम्पियन बनेका रूपेश १५ वर्षको हँुदा यु–१९ च्याम्पियन बनेका थिए । त्यसपछि राष्ट्रिय च्याम्पियनसिपमा चौथो स्थानमा रहेका उनले इस्तानबुल चेस ओलम्पियाडमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । त्यसै ओलम्पियाडमा पनि उत्कृष्ट प्रदर्शन गरेका रूपेशले एक आइएमसँग बराबरी गरेका थिए । चार वर्षयता रूपेशले प्रत्येक वर्ष एक सयको हाराहारीमा रेटिङ बढाउँदै आएका छन् ।
बिहीबार सम्पन्न प्रतियोगितामा गोल्डेनगेटकै मदनकृष्ण कायस्थ ७ अंकसहित तेस्रो भए । उनले नवीन तण्डुकारलाई प्रोग्रेसिभ अंकको आधारमा पछि पारे । मदनले दस हजार रुपियाँ पाए ।
नेपाल बैंक लिमिटेडको ७६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ६ दशमलव पाँच अंकका साथ गोल्डेनगेट कलेजका सुरवीर लामा पाँचौँ भए । त्यसैगरी समान ६ अंक प्राप्त गरे पनि प्रोग्रेसिभको आधारमा मकवानपुरका कृष्ण थापा छैटौँ, केशव श्रेष्ठ सातौँ, सुनसरीका पूर्णराज खड्का आठौँ, श्यामसुन्दर श्रेष्ठ नवौँ र एभरेस्ट चेस क्लबका विवेक लामा दसौँ रहे । उनीहरूले तीन/तीन हजार रुपियाँ पुरस्कार पाए । नेपाल बैंक केन्द्रीय प्रशिक्षण केन्द्र, कोपुन्डोलमा सञ्चालित प्रतियोगितामा अनरेटेडतर्फ काभ्रेका कृष्णप्रसाद श्रेष्ठ पहिलो र गोल्डेनगेटका याइसास खम्बू दोस्रो भए । त्यसैगरी भेट्रानमा ललितपुरका रवीन्द्र शाक्य र यु–१५ मा अन्नपूर्ण उमाविका जेनीश थापा उत्कृष्ट भए भने रेटिङ समूहमा १६५० मुनि दोलखाका उमेश केसी र १८५० मुनि सुनसरीका मणिराज डाँगी उत्कृष्ट रहे । उनीहरूले एक हजार पाँच सय रुपियाँ पाए । प्रतियोगितामा १९ जिल्लाका ६२ जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया