निकुञ्जभित्रका बन्द होटलका संरचना हटाउन माग

चितवन, ७ मंसिर । चितवन राष्ट्रिय निकुञ्जभित्र म्याद सकिएर नवीकरण हुन नसकी बन्द भएका होलटको भौतिक संरचना निकाल्न पाउनुपर्ने माग सञ्चालकहरूको छ । निकुञ्जका होटलहरूको विषयमा विभिन्न ठाउँबाट होटल हटाउनै पर्छ भन्ने आवाज उठिरहेका बेला सातवटै होटल सञ्चालकले चितवनको भरतपुरमा पत्रकार सम्मेलन  गरी सो कुरा सार्वजनिक गरेका हुन् । उनीहरूले सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म ती होटल खाली नगरिने धारणासमेत राखेका छन् ।
होटल व्यवसायीले हचुवाको भरमा निकुञ्जले लाखाँै रकम खर्च गरी संरक्षणसँगै व्यावसायिक रूपमा अगाडि बढेको होटललाई हटाई पर्यटन व्यवसायलाई धराप बनाउने काम गरेको आरोप लगाएका छन् । होटल टेम्पल टाइगरका सञ्चालक वसन्त मिश्रले आफूहरूले होटलको सामान ननिकालेको जानकारी दिए । उनले भने, ‘हामीलाई  सरकार र सर्वोच्चको निर्णय मान्य हुन्छ ।’ मिश्रले सर्वोच्च र सरकारको निर्णय पर्खिएको पनि बताए । निकुञ्जका होटलको सबै सामान निकाल्न निकुञ्जले दिएको म्याद सकिएको पाँच दिनपछि व्यवसायीले त्यस्तो अनुरोध गरेका हुन् । उनले आफूहरू व्यवसायी मात्र नभई संरक्षण र व्यवसायलाई सँगै लगेका कारण गत वर्ष चोरी–सिकारविरुद्ध शून्य वर्षसमेत मनाउन सफल भएको जिकिर गरे । निकुञ्जका होटलले चोरी–सिकार बढेको भन्ने आरोपको खण्डनसमेत गरे ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले सामान निकाल्न साउनदेखि कात्तिक मसान्तसम्मको समय दिएको बताउँदै होटल सञ्चालकले कुरा बुझ्न ढिलाइ गरेको प्रतिक्रिया दिए । उनले भने, ‘सबैले कानुनको नियम पालना गर्नुपर्ने हँुदा म्याद सकिएको अवस्थामा अर्को आधिकारिक निर्णय नभएसम्म सामान निकाल्न पाइँदैन ।’ होटल हटाएपछि थप जनशक्ति र साधन–स्रोत जुटाएर निकुञ्ज सुरक्षाको योजना तीव्र गतिमा अगाडि बढेको उनले बताए ।
होटल मचान वाइल्ड लाइफका सञ्चालक प्रकाश श्रेष्ठले होटललाई प्राकृतिक रूपमा पहिल्यैकै स्थानमा छाड्न आफूहरू सहमत रहेको बताउँदै त्यसका लागि आफूहरू तयार रहे पनि हचुवाको भरमा पचासाँै वर्षदेखि चल्दै आएको होटल बन्द गर्नुको स्पष्टीकरण आउनुपर्ने बताए । उनले होलट सञ्चालकलाई थोरै समय दिएर सामान निकाल्न लगाएको भन्दै समय पर्याप्त नभएको गुनासो गरे ।
चितवन जंगल लजका सञ्चालक वसन्त मिश्रले सरकारको स्पष्ट नीति नभएकाले आफूहरूजस्ता व्यवसायी मर्कामा परेको बताए । निकुञ्जभित्र टाइगर टप्स रिसोर्ट, मचान वाइल्डलाइफ रिसोर्ट, चितवन जंगल लज, टेम्पल टाइगर रिसोर्ट, गैँडा वाइल्डलाइफ क्याप आइल्यान्ड जंगल रिसोर्टलगायत होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया