कतै मल अभाव त कतै फालाफाल

कैलाली, ७ मंसिर । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय कैलालीमा मल अभाव हुन थालेपछि कृषक अप्ठ्यारोमा पर्न थालेका छन् ।
भारतबाट मल ल्याउन नपाइने, नेपालमा मल समयमा नपाइनुले हिउँदे बाली कसरी लगाउने भन्ने चिन्ताले सताएको बोराडाडी–३ बस्ने कृषक पृथी रानाले बताए । समयमा मल नपाइनाले खेतीयोग्य जमिनमा उब्जनी कम हुन थालेपछि गुजारा कसरी चलाउने भन्ने चिन्ता लागेको उनको भनाइ छ ।
‘मल पाइने आशाले कृषि सामग्री केन्द्रमा धाउँदा धेरै दिन भइसक्यो । मल पनि नपाइने, घरको काम पनि गर्न नपाइने, अब हामीले कसरी जीवन निर्वाह गर्ने ?’ उनले दुखेसो पोखे । कृषकलाई खेती लगाउन सहज बनाइदिन सरकारले राहतमा मल र डिजेल उपलब्ध गराइदिनुपर्ने रानाको भनाइ छ ।
कैलालीमा मात्र गहुँ र तोरी सिजनका लागि पाँच हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र आठ सय मेट्रिक टन पोटास आवश्यक पर्छ । तर, मागअनुसार मल आउँदैन, कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय कैलालीले जानकारी दिएको छ । सोमबार र मंगलबारका दिन एक हजार क्विन्टलको आसपासमा डिएपी सात सय क्विन्टल युरिया कैलालीमा पुगेको भए पनि सो मल अपुग हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय कैलालीका निमित्त प्रमुख भरतबहादुर स्वाँरले बताए । ‘कृषकलाई सहज रूपमा मल उपलब्ध गराउन हामी लागिपरेका छाँै,’ उनले भने, ‘सरकारले मागअनुसार समयमा मल उपलब्ध गराउन पहल गरे कृषक मल पाउनबाट वञ्चित नहुने स्वाँरको भनाइ छ ।’
कैलाली–१३ बस्ने कृषक मुली रानाले जिल्ला प्रशासन कार्यालय जाँदा मलका लागि कुनै सुनुवाइ नहुने, कृषि सामग्री कम्पनीमा आउँदा मल नपाइने गरेका कारण तोरीमा पनि मल हाल्न पाइएन, गहँुमा पनि मल पाइँदैन कि भन्ने चिन्ता लागेको गुनासो पोखे । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय कैलालीमा दिनहुँ कृषकको भिड लाग्ने गरेको छ तर मल पाउनबाट भने वञ्चित भएका छन् ।
बहुमुखी सहकारी संस्था लिमिटेडका व्यवस्थापकले एक हजार कृषकको नेतृत्व गरेको सहकारी र २०–२५ जनाको समूहलाई उही बराबरको मल उपलब्ध गराउनले मल अभाव हुने गरेको आरोप लगाएका छन् ।
यसैगरी, कांग्रेस महासमिति सदस्य छत्रराज जोशीले देशका नेताहरूको लापरबाहीका कारण मल अभाव हुने गरेको आरोप लगाए । पश्चिमका सात जिल्लामा पाँच सय मेट्रिक टन मात्र मल छ । यहाँ १० हजार मेट्रिक टन मल आवश्यक पर्छ, कसरी समयमै कृषक मल पाउँछन् ?’ उनको भनाइ छ । ‘सुदूरपश्चिमलाई जहिले पनि राज्यले उपेक्षित गरेका कारण यो स्थिति पैदा हुन गएको हो,’ जोशीले भने,  ‘मल समयमै पाउन यहाँका कृषकले सडक संघर्ष गर्न आवश्यक छ ।’
मौज्दात राख्दै रासायनिक मल
काभ्रे, ६ मंसिर । वर्षातको समयमा खेती गर्न रासायनिक मलको अभाव झेलेका काभ्रे र आसपासका क्षेत्रमा अहिले भने पर्याप्त मल मौज्दात रहेको छ ।
कृषि सामग्री संस्थान धुलिखेल शाखाले हिउँदमा हुने खेतीलाई चाहिने मात्राको मल पुर्‍याएर वर्षातका लागि पनि जगेडा राख्न सुरु गरेको छ । विशेष गरी आलु उत्पादनका लागि प्रख्यात पाँचखालका लागि मात्रै करिब हजार टन रासायनिक मल संस्थानले कृषकका लागि बिक्री गरिसकेको छ । कृषकले आलु र गहुँका लागि युरिया, डिएपी र पोटास मल प्रयोग गर्दै आएका छन् ।
आइतबार मात्रै संस्थानको कार्यालय धुलिखेलमा ५८ ट्रक युरिया मल अनलोड गरिएको संस्थानका निमित्त प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । यो मौसममा संस्थानले २ हजार ५ सय मेट्रिक टन युरिया र १ हजार ५ सय डिएपी मल माग गरेको थियो । त्यसमध्ये करिब १ हजार ५ सय टन युरिया र ५ टन डिएपी आइसकेको छ । आयात गरिएकोमध्ये ८० प्रतिशत मल पाँचखाल उपत्यकामै खपत हुने ढकालले बताए । गत वर्ष कृषकहरूले खेतमा धान गोडिसक्दा र मकै फुलिसक्दासमेत मल नपाएपछि यो वर्ष यही मौसमदेखि नै भण्डारण गरेर राख्न थालेका छन् । तर, संस्थानले गत वर्षको जस्तो अभाव यो वर्ष हुन नदिने बताएको छ ।
संस्थानले सहकारीमार्फत कृषकलाई १ हजार ४७ मा युरिया र २ हजार १ सय ४७ मा डिएपी मल बिक्री गर्दै आएको छ । कम्पनीको धुलिखेल शाखाबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका कृषकलाई मल बिक्री गरिँदै आएको छ । वर्षातको समयमा चारवटा जिल्लाका ४ सय ५२ सहकारीमार्फत २ लाख बोरा मल माग भए पनि कम्पनीले ५० प्रतिशत मात्रै उपलब्ध गराउन सकेको कम्पनीका निमित्त प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
कम्पनीले प्यान नम्बर प्राप्त गरेका, वार्षिक रूपमा लेखापरीक्षण गराएका, सम्बन्धित निकायबाट सिफारिस प्राप्त गरेका सहकारीमार्फत मात्रै मल बिक्री गर्दै आएको कार्यालय प्रमुख ढकालले बताए ।

प्रतिक्रिया