बेहाल छन् राजधानीका सार्वजनिक शौचालय

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकाका ७ लाख ६० हजार व्यक्ति सार्वजनिक शौचालय जानुभन्दा खुला ठाउँमा दिसापिसाब गर्न रुचाउँछन् । अधिकांश सार्वजनिक शौचालय अव्यवस्थित भएकाले उनीहरूले खुला ठाउँमै दिसापिसाब गर्न रुचाउने गरेको १२औँ विश्व चर्पीदिवसका अवसरमा सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

एनजिओ फोरमले सन् २०११ मा काठमाडौं उपत्यकाका सार्वजनिक शौचालयको अवस्थाबारे अध्ययन गरेको थियो । जसअनुसार करिब ४० लाख जनसंख्या रहेको उपत्यकाका १९ प्रतिशत अर्थात् ७ लाख ६० हजार व्यक्ति सार्वजनिक शौचालय जानुभन्दा खुला ठाउँमा दिसापिसाब गर्न रुचाउँछन् ।
६८ वटा सार्वजनिक शौचालय रहेकोमा ६१ चालू र त्यसमा पनि
धेरैजसो अस्तव्यस्त भएकाले सर्वसाधारण व्यक्ति दिसापिसाबका लागि खुला ठाउँ नै रोज्ने गरेको पाइएको एनजिओ फोरमका सचिव अनिल स्थापितले बताए ।
‘अध्ययन गर्दा धेरैजसो सार्वजनिक शौचालयमा पानी, साबुन र चुकुल नहुने अनि दुर्गन्ध आउने भएकाले सास्ती खेपेर दिसापिसाब गर्नुभन्दा बाहिरै जान्छु भन्ने धेरै भेटिए,’ सचिव स्थापितले भने, ‘राम्रो व्यवस्थापन नहुँदा मानिसमा सार्वजनिक शौचालयको खासै प्रभाव नपरेको देखियो ।’
स्थापितका अनुसार अस्तव्यस्त र दुर्गन्धित मात्र होइन, अपांग, बालबालिका र महिलामैत्री पनि छैनन् सार्वजनिक शौचालय । ६१ वटा शौचालयमध्ये एउटामा पनि रजस्वला भएको महिलाका लागि उपयुक्त, प्याड फेर्न डस्बिन र सुरक्षित वातावरण नभएको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार प्रयोगमा रहेका ३५ वटामा पानी छैन । काठमाडौं महानगरपालिकाका १४, भक्तपुरका नौ, कीर्तिपुरका दुई, ललितपुरका चार र मध्यपुर ठिमीका सबै ६ वटै शौचालयमा पानी छैन । भक्तपुर नगरपालिकाका १८ मध्ये १७, महानगरपालिकाका सबै २९ वटै, कीर्तिपुर नगरपालिकाका छमध्ये तीन, ललितपुर उपमहानगरपालिकाका सबै छवटा र मध्यपुर ठिमी नगरपालिकाका नौमध्ये छ गरी उपत्यकामा ६१ वटा शौचालय चालू अवस्थामा छन् ।
भक्तपुरका पाँच, काठमाडौंका चार, ललितपुरको एक र मध्यपुर ठिमीका छ गरी १६ वटामा चुकुल नै नभएको पाइएको छ । भक्तपुरका ६७ प्रतिशत, काठमाडौंका २३, कीर्तिपुरका ३३, ललितपुरका ३३ र मध्यपुरका शतप्रतिशत शौचालयमा बिजुलीको सुविधा नभएको अध्ययनले देखाएको छ । आठ प्रतिशत शौचालयमा भेन्टिलेसन छैन । चुकुल, भेन्टिलेसन र बिजुली सबै सुविधा नभएका कारण उपत्यकाका ३७ प्रतिशत शौचालय असुरक्षित रहेको पाइएको छ ।

प्रतिक्रिया