अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं : नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा दोस्रो ठमेल टुरिजम कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगिता सोमबार सुरु भयो । पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । प्रतियोगितामा नेपालका एक सय ७० तथा भारतका एक सय गरी जम्मा दुई सय ७० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । एकमा नेपाली र अर्कोमा भारतीय खेलाडी मात्र रहने गरी दुई छुट्टै समूह बनाइएको छ । पहिलो चरणमा नेपाली खेलाडीले आफ्नै राष्ट्रका खेलाडीसँग मात्र प्रतिस्पर्धा गर्नेछन् भने भारतीय खेलाडीले भारतका खेलाडीसँग मात्र भिड्नेछन् । नेपाली खेलाडी रहेको समूहबाट दुई तथा भारतीय खेलाडी रहेको समूहबाट पनि दुई खेलाडी सेमिफाइनलमा पुग्ने प्रावधान छ । सेमिफाइनलमा नेपालीले भारतीय खेलाडीको सामना गर्नेछन् ।
पुरुषको एकल कातामा पनौती डोजोका श्याम स्याङ्तेन र बालाजु डोजोका सुमन पुलामी, २० केजीमा ठमेल डोजोका सागर न्यौपाने र भक्तपुर डोजोका अरिश शर्मा, २५ केजीमा एम्स इन्टरनेसनलका दिवस नगरकोटी र मनकामना डोजोका विक्रम तामाङ तथा ३० केजीमा क्यामेलियाका राजीव तामाङ र ज्ञानमन्दिरका मनीषसिंह ठकुरी सेमिफाइनलमा पुगे ।
त्यसैगरी, पुरुषकै ३५ केजीमा बालाजुका मनीष थापा र एम्सका राजेश श्रेष्ठ, ४० केजीमा एम्सका अनुप बुढाथोकी र बालाजुका राजीव पुडासैनी तथा ४५ केजीमा एम्सका सोनाम लामा र मनोज लामाले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिताको राखेप सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे । सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । प्रतियोगितामा कुमुते र किक बक्सिङमा गरी कुल ३४ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता बुधबारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया