खोजखबर

लागुऔषध अपराधी बढे

सौर्य अनलाइन २०६९ मंसिर ५ गते ०:०९ मा प्रकाशित

बुटवल : यस क्षेत्रमा पछिल्लो समयमा लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । प्रहरीले दसैँ र तिहारका लागि विशेष सुरक्षा योजना कार्यक्रम लागू गरेर आपराधिक गतिविधिमा नियन्त्रण गर्न सफल भए पनि यस अवधिमा लागुऔषध कारोबारकर्ता र प्रयोगकर्तालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । इलाका प्रहरी कार्यालय बुटवलमा तिहार अवधिभरि विभिन्न अपराधको आरोपमा झन्डै ३० जना पक्राउ परेका छन् । तीमध्ये २३ जना लागुऔषध अपराधमा पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीको दसैँ–तिहारमा विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षेत्रअन्तर्गत गत कात्तिक ४ गतेदेखि तिहारको अवधिभरि विभिन्न क्षेत्रबाट ती अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । रुपन्देहीको देवदह–५ का रवीन सुनारबाट ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै बुटवल–८ का रहिस खान, प्रेम पुन र सुदीप थापा नाइट्रोसन, सल्फामोलगायत लागुऔषधिसहित पक्राउ परेका छन् ।
बुटवल–१३ मजुवाका विष्णुप्रसाद शर्मा, बुटवल–५ चिडियाखोलाका शिशिर दर्लामी र विष्णु भण्डारी पनि लागुऔषधसहित पक्राउ परेको प्रहरीले सार्वनजिक गरेको छ । प्रहरीले बुटवल–८ का नवीन खनाल, यशमणि राना, विकास सुवेदी, किसनप्रसाद चौधरीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । बुटवल–८ चाँदवारीका रमेश चौधरी र युगल भट्टराईलगायत पनि ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय