– मेरो दायाँ कन्चटमा जुन चोट देखिन्छ, चार वर्षको उमेरमा एउटा दुर्घटनामा लागेको हो । आमा मलाई छक्काएर मामाघर जानुभयो । त्यसबेला म धेरै रोएछु । धेरै आँसुले आँखा राताराता भएर आएछन् । म लडेछु, मेरो कन्चटमा ढुंगाको चुच्चो आएर ठोक्किएछ ।
– मेरो काकाको छोरो हुनुहुन्थ्यो, डिल्ली गजुरेल । मेरो आफ्नो दाइभन्दा पनि नजिकको लाग्ने । मलाई धेरै माया, सपोर्ट गर्नुहुन्थ्यो । उहाँका र मेरा रुचि पनि मिल्थे । म जापान गएको बेलामा उहाँ एउटा दुर्घटनामा परेर बित्नुभएछ । त्यसबेला म धेरै रोएँ । अहिले पनि मलाई त्यसबेला जापान नगएको भए म दाजुसँगै हुन्थेँ र उहाँ दुर्घटनामा पर्नुहुन्नथ्यो जस्तो लाग्छ ।
– म निमाविमा पढ्थेँ सायद । आर्थिक स्थिति राम्रो थिएन । एकदिन आमासँग खाजा खाने पैसा मागेँ । झगडै गर्न थालेँ । केही नलागेपछि आमाले लगाइरहेको बुलाकी निकालेर भन्नुभयो, ‘ल यही बेचेर खा ।’ आमाको बुलाकीविहीन मुहार मलाई निकै उराठ लाग्यो, बीभत्स लाग्यो । त्यो देखेर मेरो आँसु झर्यो, एकदमै रोएँ । भनेँ, ‘आमा, म केही खाँदिनँ, यो बुलाकी तपाईं लगाउनुस् ।’
मेरो विगत पनि आम मानिसको जस्तै संघर्षले भरिएको छ । ती विगत र भोगाइको सम्झनाले अनायास आँसु झारिदिन्छ । यसबाहेक म ध्यान पनि गर्छु, त्यसबेला पनि आँसु झार्छु । ध्यानले दमित भावावेगलाई बाहिर निकाल्ने काम गर्छ । यसप्रकार मेरा आँसु भावना र प्रयत्नबाट निस्कन्छन् । रुवाउने परिस्थिति पनि हुन्छन् । आफू सत्य हुँदाहुँदै पनि जब हार्छु तर आक्रोश व्यक्त गर्न सक्दिनँ र मै सत्य हुँ भनेर अरूलाई बुझाउन सक्दिनँ, त्यसबेलाको परिस्थितिले मलाई रुवाउँछ ।
पेसाले म अरूलाई हँसाउने मानिस । अरूलाई हँसाउन आफू रुन सक्नुपर्ने रहेछ । समाजमा रहेको हाँसोको मनोविज्ञानले मलाई हँसाउन सक्दैन । यहाँ अरूको कमजोरीमा हाँसिन्छ । केराको बोक्रोमा चिप्लेर कोही लडेको देखेर हाँस्न सक्दिनँ म । मलाई हँसाउँछ त शब्दले । शब्दमा हँसाउने तागत हुन्छ । हाम्रा गाउँघरमा त्यस्ता मानिस छन् जो हृदयको कुनाबाट सत्य बोल्छन् । हो, तिनैले हँसाउँछन् मलाई । म हाँसो र आँसुमा एउटा समानता देख्छु । दुवै भावनासँग सम्बन्धित छन् । जिन्दगीको तराजुमा राखेर हेर्ने हो भने हाँसो र आँसु एउटै साइकलका दुई फरक पांग्रा हुन् । अझ हाँसोचाहिँ मोटरसाइकलको पांग्रा हो भने आँसुचाहिँ साइकलको नै †
रोएको बेलामा त आँसु झर्छ नै † मेरा आँसु खहरे हुन् । खहरे, जुन एकपटक हुत्तेर आउँछ अनि जान्छ र फेरि कुनैबेला आउँछ । तर, नदी त सधँै बगिरहन्छ । मेरी आमाका आँसु नदी हुन् । मेरी आमा लाखौँ नेपाली आमाका प्रतिनिधिपात्र हुन् । मेरी आमा तीस वर्षको उमेरमा विधवा हुनुभो । सात छोराछोरी, निम्नवर्गको परिवार । विधवालाई तत्कालीन समाजले गर्ने व्यवहार, गरिबीको चेपभित्र सात लालाबाला हुर्काउँदाको पीडा, जीविकोपार्जनको संघर्षले गर्दा आमा धेरै रुनुभो । यति धेरै रुनुभो, अहिले मेरी आमाका आँखामा आँसु नै छैनन् । त्यसैले मेरी आमाले बगाएको आँसु नदी हो ।
धेरै दर्शक, श्रोता अनि पाठकलाई लाग्दो हो, हँसाउने मानिसले रुनुपर्दैन, आफू हाँसिरहने भएकाले नै अरूलाई हँसाउन सकेको हो † तर त्यसो होइन । मलगायत हास्यव्यंग्य क्षेत्रमा लागेका चार्ली चाप्लिनदेखि नेपालकै अधिकांश कलाकारको विगत बुझ्ने हो भने संघर्षैसंघर्षले भरिएको छ । आँसुले भिजेको छ । मेरो प्रस्तुति सरसर्ती हेर्दा दर्शक/पाठक हाँस्न सक्लान् । तर, म शब्दमा खेल्ने गर्छु । मेरा हँसाउने शब्दहरूको गहिराइमा पुगेर हेर्ने हो भने त्यहाँ पनि आँसु भेट्टाउन सकिन्छ ।
हामी हास्यव्यंग्य क्षेत्रमा काम गर्ने मानिसको सिर्जनाको स्रोत नै आँसु हो । जब हामीलाई समाज, राजनीति र अरू विषयले चित्त दुखाउँछ, रोइहाल्छौँ तर आँसु लुकाएर । ठाडै रुँदै हिँड्यौँ भने त बौलाहा भइहाल्यो नि † त्यही रुवाइलाई समातेर हामी व्यंग्यको सिर्जना गर्छाैं । त्यही व्यंग्यको प्रभावले मानिस हाँस्छन् । अहिलेका सबै कलाकारको रुवाइको केन्द्र समाजको मनोदशा हो । यहाँको वर्गीय विभेद, अव्यवस्थित सामाजिक बनोट र आदर्शमा सीमित सिद्धान्त नै हामी कलाकारको रुवाइको केन्द्र हो ।
मेरो भावुकतालाई समयले निर्धारण गर्छ । कतिपय परिस्थितिमा भावनाको भूमिका गौण र दिमागको भूमिका प्रधान हुन्छ । त्यसकारण म भावुक हुँदाहुँदै पनि दिमागी नियन्त्रणमा रहने गर्छु । कलाकारिता र साहित्यमा लागेकाहरू प्रायजसो हृदयले काम गर्छन् । राजनीतिज्ञहरू दिमागले काम गर्छन्, जहाँ छलकपटको गुञ्जायस हुन्छ । तर, हृदयले त सत्य बोल्छ । मेरो सिर्जनशीलता हृदयमा उत्पादन हुन्छ र दिमागमा फिल्टर हुन्छ । त्यही सिर्जना सञ्चारमाध्यममा आउने गर्छ । मेरा आँसु र सिर्जनाको उत्पादनस्थल एकै रहेछ– हृदय ।
०००
सपना लगभग पूरा भएकै थिए । एउटा बाँकी थियो– आफू जन्मेको गाउँ जाने । ताप्लेजुङ । यसपटक ३८ वर्षपछि मैले त्यो सपना पूरा गरेँ । आमाको कोखबाट जन्मेलगत्तै जीवनमै पहिलोचोटि मेरो रुवाइ गुन्जिएको भूमि स्पर्श गरेँ । म भक्कानिएँ, अत्यन्तै भावुक भएँ । आँखैअगाडि थिए– म जन्मेको जस्केलो, बुबा बितेको बलेसी अनि आमा रोएको आँगन । लाग्यो– मेरो बुबा त्यतै कता घुमिरहनुभएको छ, म बच्चै छु र आमाको पछि–पछि पच्छ्यौरीको फेर समात्दै दौडिरहेछु । ध्यानले मानिसको सुषुप्त भावनालाई जागृत गराउने गर्छ । त्यतिखेर पनि मेरो सुषुप्त भावना जागृत भएर आयो र म आनन्दले रोएँ । आँसु चुहियो तप्प–तप्प ।
ताप्लेजुङबाट फर्कंदा मसँग आनन्दभाव होइन, जन्मस्थलको एक मुठी माटो र बुबालाई जलाइएको काबेली खोलाको एक सिसी पानी पनि छ । आफूसँगै राख्नेछु बाँचुन्जेल । के थाहा, त्यही माटो र पानी सुम्सुम्याउँदै कति नोस्टाल्जिक बन्नु छ मैले ? र, रुनु छ आनन्दले π
पीडा र दु:खको आँसुको त म भुक्तभोगी हुँ । हर्षाश्रुको त्यति गहिरो अनुभव छैन । तर, म खुसी त छु । धेरै खुसी र धेरै दु:खी हुँदा सम्हालिन प्रयत्न गर्छु । त्यतिबेला एउटा मन्त्रको प्रयोग गर्छु, ‘यो पनि बितिजानेछ ।’ कहिलेकाहीँ धेरै खुसी लागेको क्षण आफैँलाई भन्छु, ‘भाइ ए खुसी भी बितजाएगा ।’ यो मन्त्र तत्कालका लागि आफूलाई सन्तुलनमा ल्याउन हो । सन्तुलनमा बस्न म दीर्घकालीन उपाय पनि अपनाउँछु । त्यसका लागि कहिलेकाहीँ आर्यघाट पुग्छु । र, जलिरहेको मुर्दा हेर्छु । अनि आफैँलाई थुमथुम्याउँछु– ‘एकदिन त जानु नै छ खुसी र दु:ख यहीँ छाडेर ।’ मेरा लागि हर्षाश्रु र दु:खाश्रु दुवै प्यारा ।
जिन्दगीमा मलाई क–कसले रुवाए, यकिन गरेर भन्न सक्दिनँ । किनकि कोहीसँग पनि आग्रह–पूर्वाग्रह राख्न सक्दिनँ । मलाई ध्यानले त्यही सिकाएको छ । अनि मैले कसलाई रुवाएँ, त्यो पनि म जान्दिनँ । मैले आफन्तहरूलाई ‘यो पनि बितिजानेछ’ भन्ने मन्त्र सिकाएको छु । नेपाली समाजमा त्यस्ता धेरै पात्र छन्, जो देखेर रुन मन लाग्छ । आँसु झार्न मन लाग्छ । म ती पात्र सम्झिन्छु, जो सडकमा छन्, विकट गाउँ अनि हाम्रै टोलमा छन् । केही समयअघि मात्र मैले एउटा माग्ने भेटेको थिएँ, यही सहरको सडकमा जीवन घिसार्दै हिँडिरहेको । उसको जिन्दगीको कथा सुनेर रुन मन लाग्यो । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेको त्यो माग्ने ठिटो दुर्घटनाले चेपिएको करङ लिएर सडकमा उल्लासको गीत गाउँदै हिँडिरहेको थियो । आफ्नो मर्ने दिन नजिक आइरहेको थाहा हुँदाहुँदै पनि ऊ अरूलाई हँसाइरहेको थियो र आफू पनि हाँसिरहेको थियो । त्यस्तो निर्दोष हाँसोले पनि आँसु झारिदिँदो रहेछ । मैले साहित्य, संगीत र फिल्ममा डुबेर पनि आँसु झारेको छु । परिवारसँग बसेर टिभी सिरियल हेर्दा रोएको छु ।
प्रस्तुति : सरोज ढुंगाना
प्रतिक्रिया