मूल्य निर्धारणका लागि कार्यविधि बन्दै

काठमाडौं, ४ मंसिर । नेपाल आयल निगमले एलपी ग्यासमा भएको नोक्सानी कम गर्न तथा नयाँ मूल्य निर्धारणका लागि रणनीतिक योजना तयार गरेको छ । ग्यासमा प्रतिसिलिन्डर पाँच सय आठ रुपियाँभन्दा बढी नोक्सानी भएपछि परल मूल्यलाई नै बिक्री मूल्य तोक्ने तथा घरायसी प्रयोजन र विद्यार्थीका लागि मन्त्रिपरिषद्बाट छुटको व्यवस्था गर्ने गरी निगमले आवश्यक कार्यविधि बनाउने काम थालेको हो ।

निगमका अनुसार सो कार्यविधि निर्माणपछि अहिलेको परल मूल्यअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर करिब दुई हजार रुपियाँ पर्नेछ । अहिले ग्यासको परल मूल्य एक हजार नौ सय ७८ रुपियाँ ९३ पैसा छ । तर, घरायसी प्रयोजन तथा विद्यार्थीका लागि मन्त्रिपरिषद्बाट निश्चित सहुलियतको व्यवस्था हुने भएकाले उनीहरूले भने त्यो मूल्य तिर्न नपर्ने निगमले जनाएको छ । यद्यपि व्यावसायिक प्रयोजनका लागि भने तोकिएको मूल्यमा छुटको व्यवस्था नरहने निगम अधिकारीको भनाइ छ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले ग्यासमा भइरहेको घाटा कम गर्ने कुनै उपाय नभएकाले परल मूल्यलाई नै बिक्री मूल्य निर्धारण गरी सरकारले छुटको व्यवस्था गर्न लागेको जनाएका छन् । उनले अहिले परल मूल्यभन्दा कममा ग्यास बिक्री गर्नुपरेकाले निगमले प्रतिसिलिन्डर करिब पाँच सय ७ रुपियाँ घाटा व्यहोर्न बाध्य भएको बताए ।
‘परल मूल्यभन्दा कममा ग्यास बिक्री भइरहेकाले निगमको घाटा बढ्दै गएको हो,’ प्रवक्ता ढुंगेलले भने, ‘यो घाटा कम गर्न अहिलेको परल मूल्यलाई नै बिक्री मूल्य तोक्ने र घरायसी प्रयोजन तथा विद्यार्थीका लागि आवश्यक छुट दिने व्यवस्थासहितको कार्यविधि बनाउन थालिएको छ ।’ यो व्यवस्थापछि भने ग्यासमा भइरहेको घाटा र निगमको समग्र मासिक नोक्सानीसमेत कमी आउने उनले बताए । निगमले अहिले काठमाडांैमा एलपी ग्यासको खुद्रा बिक्री मूल्य एक हजार चार सय ७० रुपियाँ तोकेको छ ।
नयाँ व्यवस्थापछि ग्यासमा भइरहेको घाटा पूर्ति हुनेमा निगम ढुक्क रहेको जनाइएको छ । कार्यविधिको निर्माणको काम द्रुत गतिमा भइरहेको र केही दिनमै नतिजा आउने निगले जनाएको छ । भारतीय आयल निगम (आइओसी) ले १६ नोभेम्बरमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको मासिक घाटा अहिले २० करोड ४२ लाख रुपियाँमा झरेको छ । एक नोभेम्बरमा आइओसीले पठाएको मूल्य सूचीअनुसार निगमको समग्र मासिक नोक्सानी ३१ करोड ४९ लाख रुपियाँ थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आइरहेकाले मासिक नोक्सानीमा कमी आएको निगमको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक सय नौ अमेरिकी डलरको हारहारीमा रहेको
जनाइएको छ । यो मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ १९ पैसा, मट्टीतेलमा १० रुपियाँ ७७ पैसा, आन्तरिक हवाई इन्धनमा २३ रुपियाँ ९१ पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर २६ रुपियाँ १५ पैसा नाफा रहेको आयल निगमले जनाएको छ । यस्तै उक्त, मूल्य सूचीअनुसार एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ८ रुपियाँ ९३ पैसा र डिजेलमा प्रतिलिटर एक रुपियाँ ९१ पैसा नोक्सानी रहेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा मात्र २३ करोड २७ लाख रुपियाँ कुल नाफा छ भने मट्टीतेलमा चार करोड ३० लाख, आन्तरिक उडानको हवाई इन्धनमा सात करोड १७ लाख, अन्तर्राष्ट्रिय उडानका हवाई इन्धनमा १८ करोड ३० लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ । तर, एलपी ग्यासमा भने ६१ करोड सात लाख र डिजेलमा समेत १२ करोड ४१ लाख रुपियाँ कुल घाटा पुगेको छ ।

प्रतिक्रिया