बेलायती सेनाध्यक्षको भ्रमणप्रति गेसोको शंका

पोखरा, ४ मंसिर । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायती सेनाध्यक्ष सर पिटर वालको नेपाल भ्रमणप्रति शंका जनाएको छ ।

गेसो अध्यक्ष पदमबहादुर गुरुङले बेलायती सेनाध्यक्ष पिटरको नेपाल भ्रमण गेसो आन्दोलन निस्तेज पार्ने षड्यन्त्रको तानावाना बुन्नका लागि भएको आरोप लगाएका छन् । ब्रिटिस साम्राज्यको पक्षमा लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकको सामूहिक काजकिरिया र श्रद्धाञ्जली कार्यक्रम गर्न लागिएका बेला बेलायती सेनाध्यक्षको भ्रमण षड्यन्त्रपूर्ण रहेको अध्यक्ष गुरुङले बताए ।
स्याङ्जाको फेदिखोला–८ साल्मेडाँडामा ५ मंसिरमा सुरु हुने ६० हजार गोरखा सैनिकको सामूहिक काजकिरिया र श्रद्धाञ्जली कार्यक्रमबारे जानकारी दिन आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गुरुङले यस्तो आशंका गरेका हुन् । गेसोले बेलायत सरकारविरुद्धको आन्दोलन भन्दै साल्मेडाँडामा गोरखा स्मारक निर्माणको योजनासमेत अगाडि सारेको छ ।
बेलायतलाई समृद्ध बनाउनका लागि योगदान दिएका वीर नेपालीलाई बेलायतले अपमान मात्र गरेको गुनासो गर्दै उनले अबको आन्दोलन बेलायत सरकार र नेपाल सरकारविरुद्ध समेत हुने बताए । दुई देशको सरकारी निकायबीच कुनै सम्झौता नगरी नेपाल सरकारले ‘गोरखाभर्ती’ का नाममा बेलायतलाई मानव बेचबिखन गरिरहेको उनको आरोप थियो ।
गोरखा सैनिकको सम्झनामा तीन दिनसम्म कार्यक्रम गरी १२ मंसिरमा गोरखा स्मारक पार्कको शिलान्यास कार्यक्रम राखिएको जानकारी उनले दिए । गेसोले साल्मेडाँडामा ३ सय रोपनी क्षेत्रफलमा करिब ३ अर्ब रुपियाँको लागतमा गोरखा स्मारक पार्क निर्माणको तयारी गरिरहेको छ । पार्क निर्माणमा गोरखा सैनिकका परिवारबाटै सहयोग जुटाइने उनको भनाइ थियो ।

प्रतिक्रिया