सडक निर्माणमा लापरबाही

पाँचथर, ३  मंसिर । फिदिम–यासोक सडकखण्ड निर्माणमा लापरबाही भएको छ । सो सडकअन्तर्गत रानीगाउँ खण्डमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेपछि निर्माण नसकिँदै सडक भत्कन थालेको छ ।
ग्रामीण पुन:निर्माण तथा पुन:स्थापना आयोजनाअन्तर्गत निर्माणाधीन फिदिमदेखि रानीगाउँसम्मको सडकमा गुणस्तरहीन सामग्री प्रयोग र लापरबाही भएपछि सडक भत्कन सुरु गरेको हो । उपभोक्ता समिति र ठेकेदारबाट निर्माण भइरहेको रानीगाउँ खण्डमा अहिले रकमकै दुरुपयोग भएको छ । लापरबाहीका कारण सडकका नाली, कल्बर्ट र वाल भत्कन थालेका छन् ।
सडक निर्माणका क्रममा माटो मिसिएको बालुवा प्रयोग भइरहेको छ भने बालुवा र सिमेन्टमा पनि शंकास्पद काम भएको छ । ढुगा तेर्सो पारेर बनाउनु पर्ने नालीमा ठाडो ढुंगा लगाएर सिमेन्टले टाल्ने गरेका कारण बनाउनेबित्तिकै नाली भत्कने गरेको स्थानीयले बताएका छन् ।
मानिस लगाएर सडक निर्माण गर्नुपर्नेमा आयोजनाका कर्मचारीको मिलेमतोमा मेसिन (एक्साभेटर) प्रयोग गरिएको छ । मेसिन प्रयोग भए पनि त्यसबारे सम्बन्धित निकायले कुनै कदम नचालेको बताइएको छ । स्थानीयको भनाइमा आयोजनाका प्राविधिकको मिलेमतोमा उपभोक्ता समितिले नै लापरबाही गरी गुणस्तरहीन काम गरिरहेको छ । सडकको नाली निर्माणमा मापदण्ड नपुगेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजकुमार भण्डारीले बताए । भण्डारीका अनुसार नालीको ढुंगा राख्ने तरिका गलत अपनाइएकाले कम गुणस्तरको काम भएको हो । गुणस्तरअनुसार काम नभएको विषयमा सडक उपभोक्ता समितिका अध्यक्ष राजु खतिवडाले पानीको समस्या भएकाले चाँडै भत्किएको भन्दै उपभोक्तालाई चित्त बुझाएर गरेको काममा अरूले खोजिरहन जरुरी नभएको प्रतिक्रिया दिए । स्रोतका अनुसार प्राविधिकसहित समितिको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको छ ।
यता आयोजनाका प्रमुख इञ्जिनियर भानु बरालले गुणस्तरहीन काम भएका सबै संरचना भत्काएर पुन: निर्माण गर्न निर्देशन गरेको बताए । सडक निर्माणका क्रममा नियमविपरीत लगाइएको मेसिनको भुक्तानी नगरिएको आयोजना कार्यालयले जनाएको छ ।
यता जिविस योजना अधिकृत गोपाल लिम्बूले उपभोक्ता र ठेकेदारले गरेको काम प्रभावकारी नभएको बताए । सो सडकका लागि लाग्ने आठ करोड ३० लाख रकममध्ये ६ करोड ७२ लाखमा गुणस्तरहीन काम भएको खण्डमा कालिका–याक्थुम्हाङ जेभी र उपभोक्ता समितिले काम गरिरहेका छन् । आयोजना कार्यालयले करिब ७० प्रतिशत भुक्तानी दिइसकेको जनाएको छ ।

प्रतिक्रिया