‘प्रधानमन्त्री बन्नलायक स्वतन्त्र व्यक्ति छैन’

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बन्नलायक स्वतन्त्र व्यक्ति नभएको बताएका छन् । सबै व्यक्ति कुनै न कुनै राजनीतिक दलनिकट भएको उल्लेख गर्दै प्रधानमन्त्री डा. भट्टराईले स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् ।
‘कोही स्वतन्त्र व्यक्ति पाइए त त्यसलाई स्वीकार गर्न सकिन्थ्यो होला तर अहिले स्वतन्त्र व्यक्ति पाउन मुस्किल भएकाले यो विषय त्यति सान्दर्भिक होलाजस्तो लाग्दैन,’ एमाओवादीनिकट केही पत्रकारसँग शनिबार प्रधानमन्त्रीले भने ।
सरकारको नेतृत्व गरिरहेको दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने केही समयअघि विपक्षी कांग्रेस–एमालेलाई दिएको विकल्पमा स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्तावसमेत गरेका थिए ।
प्रधानमन्त्रीले वर्तमान सरकारले नै चुनाव गराउने अभिव्यक्तिसमेत दोहोर्‍याए । अन्तर्राष्ट्रिय प्रचलनअनुरूप भन्दै उनले संसद् भएका बेला बनेको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरूप प्रदान गरी आगामी वैशाखमा संविधानसभाको नयाँ चुनाव गर्नुपर्ने धारणा व्यक्त गरे । भने, ‘प्रतिपक्षी दलहरू सरकारको विषयमा मात्रै केन्द्रित हुँदा सहमति बन्ने छैन ।’ उनले कांग्रेस र एमालेलाई यही सरकारमा सहभागी गराएर राष्ट्रिय सहमतिको स्वरूप दिन आफू
लागिपरेको बताए । अर्को प्रसंगमा सकेसम्म सहमतिमै बजेट ल्याउने र त्यसो हुन नसके राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर बजेट प्रस्तुत हुने उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया